समाचार

‘बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त उपलब्धी खोसिन हुन्न’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवं पूर्वमन्त्री वर्षमान पुनले बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त उपलब्धी खोसिन नहुने बताएका छन् । नेपाला कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले आज दमौलीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री पुनले लोकतन्त्र र संविधानको रक्षा गर्नु अहिलेको मुख्य चुनौति भएको बताए । पाँच वर्षका लागि जनादेश प्राप्त पार्टी सडकमा आउला भनेर कसैले नसोचेको चर्चा गर्दै पूर्वमन्त्री पुनले राजनीति विचार र सिद्धान्तका आधारमा सञ्चालन गर्नुपर्ने टिप्पणी गरे । पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली काम गर्न नसकेको भए पार्टीभित्रै छलफल गर्नुपर्ने भएतापनि संसद विघटन गरेर गलत कदम चालेको आरोप लगाए ।

पार्टीले पाँच वर्षका लागि प्राप्त गरेको मतको अपमान भएको बताउँदै पूर्वमन्त्री पुनले फरक मतलाई समेत सम्मान गरेर अगाडी बढ्नुपर्ने अहिलेको आवश्यकता भएकामा जोड दिए । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य रामकुमारी झाक्रीले पार्टीका कार्यकर्ता सदैव सत्यको पक्षमा उभिनुपर्ने बताए । केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले कम्युनिष्ट पार्टी अझैपनि एकढिक्का भएर अगाडी बढ्नुपर्ने र त्यसको विकल्प भनेको संसद पुनस्र्थापना भएको उल्लेख गरे । केन्द्रीय सदस्य एवं पूर्वमन्त्री आशा कोइरालाले संसद पुनस्र्थापनाको विरोधमा सबै दलबीच संयुक्त आन्दोलनको खाँचो रहेको बताए ।

Show More

Related Articles

Back to top button