Uncategorizedजीवनशैली

बन्दिपूरमा झोलुङ्गे पुल निर्माणका लागि अध्ययन

दमौली, तनहुँको बन्दीपुर गाउँपालिकाका विभिन्न ठाउँमा झोलुङ्गे पुल निर्माण गरिने भएको छ । झोलुङ्गे पुल नभएका खोला तथा लामो समय हिँडेर वारपार गर्नुपर्ने ठाउँमा गाउँपालिकाले झोलुङ्गे पुल निर्माण गर्न लागेको हो । गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले झोलुङ्गे पुल निर्माणका लागि सम्भाव्यता अध्ययनका लागि दमौलीस्थित गैरसरकारी संस्था समन्वय समितिसँग सम्झौता गरिएको जानकारी दिए । “गाउँपालिकाका विभिन्न वडामा झोलुङ्गे पुल निर्माणका लागि डिपिआर तयार गर्न सम्झौता भएको छ, अध्ययनपछि कहाँ कहाँ पुल निर्माण गर्न उपयुक्त हुन्छ, त्यही ठाउँमा काम तत्कालै अगाडि बढाउँछौँ”, थापाले भने ।

उनका अनुसार बन्दीपुर १ र भानु नगरपालिका ४ जोड्ने चुँदीखोला, बन्दीपुर १ कटुवाको घुम्तीदेखि सोही ठाउँ जोड्ने नाहालाखोला, बन्दीपुर ३ र सोही वडाको शेराटार जोड्ने खुदीखोला, बन्दीपुर २ र वडा नं ६ जोड्ने साम्दीखोला तथा बन्दीपुर २ र वडा नं ४ जोड्ने पाहरपानी खोलामाथि झोलुङ्गे पुल निर्माण गर्न लागिएको छ । उनका अनुसार ती झोलुङ्गे पुल निर्माणपछि यहाँका पाँच हजारभन्दा बढी सर्वसाधारण लाभान्वित हुनेछन् । उनका अनुसार पुल निर्माणमा गाउँपालिकाले १० प्रतिशत लगानी गर्नेछ भने बाँकी रकम सङ्घीय सरकारले व्यहोर्नेछ ।

सम्भाव्यता अध्ययनपछि मात्रै पुलको लागत थाहा हुने थापाको भनाइ छ । गैरसरकारी संस्था समन्वय समिति (एनजिओ नेटवर्क) का अध्यक्ष प्रतापसिंह गुरुङले सम्भाव्यता अध्ययनका लागि गाउँपालिकासँग सम्झौता भइसकेकाले तत्कालै काम शुरु गरिने जानकारी दिए । एनजिओ नेटवर्कले जिल्लाका अधिकांश ठाउँमा झोलुङ्गे पुल निर्माणको काम गर्दै आइरहेको छ । नेटवर्कले गत आर्थिक वर्षमा जिल्लाका विभिन्न ठाउँमा नौ पुल निर्माण शुरु गरेको थियो । जुन हाल निर्माणाधीन अवस्थामा छ । बन्दाबन्दीका कारण ती झोलुङ्गे पुल निर्माण गर्न नसकिएको गुरुङले बताए ।

Show More

Related Articles

Back to top button