समाचार

निष्ठावान्लाई अपमान ! डोबाटेले बधाई पाए मन्त्री पाएनन्

दमौली खबर संवाददाता
साउन १०, दमौली । नयाँ सरकार गठन भएको करिब डेढ महिनापछि गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । गठबन्धनबाट बनेको सरकारको मन्त्रालय भागबन्डा नमिल्दा मन्त्रिमण्डल विस्तारमा ढिलाइ भएको थियो । नयाँ सरकारमा तनहँुका दुई जना सांसद मन्त्री बन्ने ठूलो चर्चा चलेको थियो । माओवादी केन्द्रबाट आशा कोईराला र नेपाली काँगे्रसबाट डोबाटे वि.क ।
भनेजस्तो मन्त्रालय नपाएकाले सरकारमा जाने सम्भावना न्यून रहेका नेता हरिबहादुर चुमान नगए पछि संघीय र मन्त्री भैसकेकी आशा प्रदेशको मन्त्री हुने चर्चा चुलेको थियो । तर नेकपा (माओवादी)ले विहिबार बेलुकै मन्त्री पदको लागि पठाएको सुचीमा आशाको नाम परेन ।

यता नेपाली काँगे्रसले पठाएको सुचिमा भने डोबाटेको नाम परेको थियोे । सचिवालयबाटै सपथका लागि जानकारी आइसकेपछि सांसद डोबाटेले विभिन्न सामाजिक सञ्जालमासमेत बधाइ पाउन सुरु गरिसकेका थिए । बिहीबार साँझ मात्रै पोखराबाट तनहुँ घर फर्किएका उनलाई शुक्रबार बिहान ७ बजेतिर शपथका लागि आउन भनियो । त्यसपछि तयारीसाथ उनि शुक्रबार पोखरा जाँदै थिएरु। तर बाटोमा नै अर्कैले शपथ खायो भन्ने खबर उनलाई आयो । उनलाई पाखा लगाउँदै कास्कीका विन्दुकुमार थापा कानुन, सञ्चार तथा प्रदेश मामिला सम्हाल्ने गरी मन्त्री बने । चार दशकभन्दा लामो समय कांग्रेसको राजनीतिमा रहेका डोबाटेको नाम काटियो ।

‘रामचन्द्र पौडेल समूहका विकको नाम टुंगो लागेर सपथका लागि खबर भइसकेको थियो, तर अचानक उनको नाम काटियो,’ एक सांसद भन्छन् । मन्त्री बन्ने नामावलीबाट आफ्नो नाम काटिएपछि सांसद डोबाटेले पार्टीले अपराध गरेको प्रतिक्रिया दिए । ‘४२ वर्षदेखि निष्ठाको राजनीति गरिरहेको छु । अहिले अपमान गरियो,’ उनले भने, ‘पार्टीभित्रको समावेशिता सिद्धान्त छ । तर, त्यही सिद्धान्तको अपमान गरियो ।’ समूह मिलाउन र मन्त्रिमण्डल समावेशी बनाउन पनि विकलाई मन्त्री बनाउन खोजिएको थियो । सांसद डोबाटेले अघि भने, ‘पैसावाला बिन्दु थापालाई मन्त्री बनाउन सभापतिकै निर्देशनबाट चारदशक लामो निष्ठापूर्ण राजनीतिको हत्या गरियो ।’

कांग्रेसबाट विन्दुकुमार सँगै मेखलाल श्रेष्ठ र मणिभद्र शर्मा कँडेल मन्त्री बनेका हुन् भने माओवादीबाट रामजी बराल, दीपक चर्तीमगर र चन्द्रबहादुर बुढा नियुक्त भए । यस्तै, मेखलालले शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रीमा नियुक्त हुँदा मणिभद्र पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीको जिम्मेवारीमा छन् ।उता, माओवादीका उपनेतासमेत रहेका रामजी बराल अर्थ मन्त्रीको भूमिकामा छन् । दीपक वन, वातावरण तथा भू–संरक्षण मन्त्री हुँदा चन्द्रबहादुरले भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रीको जिम्मेवारी पाए । यसअघि सामाजिक विकास मन्त्री बनेका कांग्रेसका कुमार खड्काले भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

नवनियुक्त मन्त्रीहरुले शुक्रबार प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष पद तथा गोपनीयताको सपथ लिए । जेठ २९ मा गठन भएको पोखरेल नेतृत्वको सरकारमा सोही दिन थप ४ मन्त्रीले पनि सपथ लिएका थिए । नवविस्तारित मन्त्रिमण्डलमा कांग्रेसबाट मुख्यमन्त्रीसहित ५, माओवादीबाट ४, जसपा र स्वतन्त्रबाट १÷१ मन्त्रालय पाएका छन् । राजनीतिक दलहरु मन्त्रालय बाँडफाँडमा ‘समावेशी भागबन्डा’ गरे पनि मन्त्रिपरिषद् विस्तारमा भने ध्यान दिएका छैनन् । यस पटकको मन्त्रिमण्डल भेगीय हिसाबलेसमेत असन्तुलित छ ।


अघिल्लो पटक मन्त्री नपाएका ४ जिल्लाले यसपटक मन्त्री पाएका छन् । जसमा नवलपुरले मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई पाएको छ । अघिल्लो सरकारमा मन्त्रीविहीन रहेको कास्कीले यस पटक ३ जना मन्त्री पाएको छ । जसमा नेपाली कांग्रेसका विन्दुकुमार थापा, कुमार खड्का र माओवादीबाट रामजी बरालले मन्त्री बन्ने सौभाग्य पाए । अघिल्लो सरकारमा मन्त्रीविहीन रहेको अर्को जिल्ला स्याङ्जाले २ जना मन्त्री पाएको छ । नेपाली कांग्रेसका मेखलाल श्रेष्ठ र नेकपा माओवादीका दीपक चर्तीमगर २ जना स्याङजाबाट मन्त्री भएका छन् ।

त्यस्तै, बागलुङले मणिभद्र शर्मा (कांग्रेस) र चन्द्र बुढा (माओवादी) पाएको छ । निवर्तमान मुख्यमन्त्रीको जिल्ला लमजुङले महिलामन्त्री पाएको छ । नेकपा माओवादीबाट मधुमाया अधिकारी गुरुङ मन्त्री बनेकी छन् । त्यस्तै, अघिल्लो सरकारमा २ मन्त्री पाएको गोरखाले यसपटक एकजना जसपाका हरिशरण आचार्य पाएको छ । मनाङले एकजना मन्त्री स्वतन्त्र सांसद राजीव गुरुङ ‘दीपक मनाङे’ पाएको छ । उनी अघिल्लो सरकारमा समेत मन्त्रालय सम्हालेका थिए । अघिल्लो पटक दुई मन्त्री पाएको तनहँुले अहिले कुनै पनि मन्त्री पाएको छैनन् ।

Show More

Related Articles

Back to top button