समाचारAll

देवघाटधाममा माघे सङ्क्रान्तिको मेलामा भक्तजनको घुईचो

दमौली खबर संवाददाता

तनहुँ, पुस ३० गते

नेपालकै उत्कृष्ट धार्मिक पर्यटकीय क्षेत्र तथा पवित्र तीर्थस्थल तनहुँको देवघाटधामको माघे सङ्क्रान्ति मेलामा सहभागी हुनको लागि शनिबार दिउँसो देखि नै भक्तजनको घुईचो लाग्न थालेको छ । माघे सङ्क्रान्ति मेला भर्न नेपालका विभिन्न जिल्लासहित भारतबाट समेत भक्तजन आउन थालेकोले घुईचो लागेको हो ।

देवघाटमा स्नानगरी पूजा गर्नाले मोक्ष मिल्ने र मनोकामना पूरा हुने विश्वास गरी भत्तजनहरु आउने गर्दछन् । शनिबार आएका भक्तजन रातभर भजनकीर्तनसहित धुनी लगाई जाग्राम बसेर विहान स्नान गर्ने प्रचलन रहेकोले शनिबार देखि नै भक्तजन आउन थालेको देवघाट क्षेत्र विकास समितिले जनाएको छ ।

शनिबार रातिसम्ममा धाममा करिब दुई लाख ५० हजार भक्तजन आउने र आईबार पनि सोही सङख्यामा गरी करीव ५ लाख भक्तजन देवघाट धाममा स्नान गर्न आउने अनुमान गरिएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्री अधिकारीले जानकारी दिनुभयो । चिसो मौसम भएकाले भक्तजनलाई धुनीको व्यवस्था समेत मिलाइएको छ । स्वास्थ्य उपचार, शौचालय, स्नान स्थल व्यवस्थापन, विद्युत्, आकस्किम उद्धार तथा आवश्यक सुरक्षा व्यवस्थाको प्रबन्ध गरिएको सिमितिले जनाएको छ । झक्तजनलाई सहजताका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाइएको इलाका प्रहरी कार्यालय देवघाटका प्रमुख भेषराज रेग्मीले जानकारी दिनुभयो । नदीमा नुहाउँदा दुर्घटना नहोस भनेर नदीको नुहाउन मिल्ने ठाउँ पहिचान गरी डोरी टाँगेर सिमाङ्कन गरिएको उहाँले जानकारी दिनुभयो । त्रिशूली र कालीगण्डकी नदीको संगम बेणीमा माघेसङ्क्रान्ति मेला लाग्छ देवघाटमा देशका विभिन्न जिल्ला तथा भारतबाट समेत भक्तजन आउने भएकाले सवारीको ठूलो चाप हुने हुँदा सवारी आवागमन र पार्किङका लागि स्थान तोकेर व्यवस्थापन गरिएको उहाँले जानकारी दिनुभयो ।

हरेक वर्ष स्वदेशी तथा विदेशी गरि पाँच लाखभन्दा बढी तीर्थालु भक्तजन भित्रिने सो मेलाको व्यवस्थापन देवघाट क्षेत्र विकास समितिले गर्दै आएको छ । देवघाटको बेनीमा शनिबार बिहान बाँसको लिंगो गाडेर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ गरि सकिएको छ । गलेश्वर आश्रमका पीठाधीश अनन्त श्री विभूषित आत्मानन्द गिरी जी महाराज, हरिहर आश्रमका पिठाधीश १००८ स्वामी ज्ञानानन्द जी महाराज, महेश सन्यास आश्रमका पीठाधीश १००८ स्वामी रमणानन्द जी महाराजसहित सन्तमहन्त, बटुकलगायत स्थानीय व्यक्तिको उपस्थितिमा बाँसको लिंगो ठड्याइ मेला सुरु गरिएको थियो । यसअघि गलेश्वर आश्रममा भेला भएर विधिवत्रुपमा लिंगोसहित शोभायात्रा बेनीमा पुगेको थियो ।

आपतकालीन उद्धारका लागि डुङ्गा सहितको सुरक्षाकर्मी तैनाथ गरिएको समितिले जनाएको छ । चितवन र तनहुँ जोड्ने झोलुङ्गे पुलको मर्मत सम्भार गरिएको छ । समितिका अनुसार पुलमा लामबद्ध भएर जान र आउनका लागि स्वयंसेवक र सुरक्षाकर्मी परिचालन गरिएको छ । ज्योतिष शास्त्रीय मान्यता अनुसार सौरमासको हिसाबले माघे सङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर सङ्क्रान्ति’ भनिएको हो । सो दिनदेखि सूर्य दक्षिणी गोलाद्र्धबाट उत्तरी गोलाद्र्धतर्फ प्रवेश गर्ने भएकाले दिन लामा र रात छोटा हुँदै जाने विश्वास गरिन्छ । धर्मशास्त्र अनुसार यस दिन पवित्र तीर्थस्थलमा स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले पनि खाएमा शरीर पोषिलो हुनुका साथै निरोगी भइने जनविश्वास रहि आएको छ ।

Show More

Related Articles

Back to top button