दमौली खबर संवाददाता
दमौली, चैत्र ०१
तनहुँमा वैशाख १० गते उपनिर्वाचन
निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनपछि रिक्त भएको तनहुँ–१ मा प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि उपराष्ट्रपतिको निर्वाचनसम्म पर्खिने भएको छ । उपराष्ट्रपतिको निर्वाचन परिणामले निर्वाचन क्षेत्र रिक्त हुने अवस्था आए चितवन–२ र तनहुँ–१ सँगै सो क्षेत्रमा पनि एकै दिन निर्वाचन गर्नेगरी आयोगले आन्तरिक तयारी गरेको हो ।
उपराष्ट्रपतिको निर्वाचनमा चार जना उम्मेदवार रहेकोमा एक÷एक जना राष्ट्रिय सभा र प्रतिनिधि सभा सदस्य हुनुहुन्छ। दुई जना उम्मेदवार संसद्को निर्वाचित पदमा हुनुहुन्न । आयोगले उपराष्ट्रपतिको निर्वाचनबाट प्रतिनिधि सभा क्षेत्र रिक्त हुने अवस्था आए आगामी २०८० साल वैशाख १० गते नै चितवन, तनहुँ र सो क्षेत्रमा उपनिर्वाचन गर्ने तयारी गरेको छ । यो तयारीसँगै राजनीतिक दलका नेताहरुमा पनि टिकट हात पार्नेको लागि कोशिस गरिरहेका छन् ।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ बमोजिम पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत निर्वाचित कुनै सदस्यको पद प्रतिनिधि सभाको अवधि छ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले रिक्त भएमा आयोगले तोकेको मितिमा त्यस्तो रिक्त सदस्यको पद उपनिर्वाचनद्वारा पूर्ति गरिने उल्लेख छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ चालू आर्थिक वर्ष २०७९÷८० भित्र जुनसुकै क्षेत्रमा उपनिर्वाचन हुने भए माघ २९ गतेसम्म कायम मतदाताले मात्रै मतदान गर्न पाउने निर्णय भएको जानकारी दिनुभयो। सो निर्णयबमोजिम चितवन र तनहुँमा माघ २९ गतेसम्म कायम मतदाताले मतदान गर्न पाउने उहाँले बताउनुभयो ।
तनहुँ–१ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य पौडेल राष्ट्रपति पदमा निर्वाचित हुनुभएपछि संविधानबमोजिम सो पद स्वतः रिक्त भएको छ । आयोगले चितवन–२ मा रिक्त रहेको प्रतिनिधि सभा सदस्यको निर्वाचन आगामी वैशाख १० गते हुने निर्धारण गरिसकेको छ । चितवनको उपनिर्वाचनका लागि दल दर्तासमेत भइसकेको छ । आयोगले उपनिर्वाचन एकै साथ गर्ने तयारी गरेकाले तनहुँमा पनि वैशाख १० गते उपनिर्वाचन हुने देखिएको छ ।



