दमौली खबर संवाददाता
तनहुँ, चैत २४ गते
तनहुँ–१ को वैशाख १० गते तनहुँमा हुन गइरहेको प्रतिनिधी सदस्यको उपनिर्वाचनका लागी राजनीतिक दल तथा विभिन्न सरोकारवालाहरूले आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएका छन् । स्वच्छ, निष्पक्ष तथा भयरहित निर्वाचनका लागी सरोकारवालाको भूमिका र प्रतिबद्धता विषयक अन्तरक्रिया कार्यक्रममा सो प्रतिबद्धता जाहेर गरेका हुन् । अन्तरक्रिया कार्यक्रममा निर्वाचन आयोगले जारी गरेको आचार संहिताको पालना गर्नु सम्बन्धित सबैको कानूनी तथा नैतिक दायित्व भएको भन्दै प्रतिबद्धता व्यक्त गरेका हुन् ।
नेपाली कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले आचारसंहिता विरुद्ध कुनै पनि कार्य नगर्ने र निर्वाचन आचारसंहिता पालना गर्न प्रतिबद्ध रहेको बताउनुभयो । नेकपा एमाले तनहुँका उपाध्यक्ष हरिराज कँडेलले आचार संहिता पालना गर्नु सबैको दायित्व भएको आफ्नो पार्टी प्रतिबद्धत भएको बताउनुभयो । स्वतन्त्र पार्टी नेपाल तनहुँका सभापति विकास सिग्देलले विगतमा जस्तो राज्यका नियमनकारी निकाय प्रहरी प्रशासनबाट मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा साना दल, ठुला दल भनेर व्यवहार फरक गरिएको गुनासो गर्नुभयो । उहाँले नियम, कानुन एवम् निर्वाचन आयोगले जारी गरेको आचार संहिता पालना गर्न प्रतिबद्ध रहेको बताउनुभयो । सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले आचार संहिता उल्लङ्घ भएमा सञ्चारकर्मीले समाचार लेख्नु पर्ने त्यस्तो कार्यले उल्लङ्घन गर्ने हतोत्साही हुने बताउनुभयो । मूख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिश कोमलप्रसाद आचार्यले निर्वाचन आयोगले दलहरुसँग छलफल गरी आचार संहिता बनाएकोले पालनका गर्न कठिनाई नहुने बताउनुभयो । ‘‘दलहरु पालना गर्न कठिनाई नहुने गरी छलफलबाटै आचार संहिता बनाईएको यसको सबैले पालना गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा जिल्लाका सुरक्षा निकाय, विभिन्न राजनीतिक दलका प्रतिनिधि, मानव अधिकारकर्मी, सञ्चारकर्मी, लगायतका विभिन्न सरोकारवाला व्यक्तिहरूको सहभागिता रहेको थियो । निर्वाचन आचार संहिताको बारेमा जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिनु भएको थियो । ढकालले राजनीतिक दल, दलका भातृसङ्गठन तथा सम्बन्धित व्यक्ति एव्म सञ्चारकर्मीले पालना गर्नुपर्ने आचारणको बारेमा जानकारी दिनुभएको थियो ।


