समाचारव्यासखेलकुद

चौथो अल्ट्रा म्याराथनको तयारीले तीव्र

चौथो व्यास नगर अल्ट्रा म्याराथनको तयारीले तीव्र पारिएको छ । यही माघ १६ गते सहिद दिवसको अवसरमा हुने म्याराथनका लागि आयोजक व्यास नगरपालिकाले सम्बद्ध निकायहरूसँग छुट्टा–छुट्टै छलफल र बैठक गरिरहेको छ ।

यसै सन्दर्भमा नगरपालिकाले शुक्रवार व्यास–८ स्थित पुलिमराङमा म्याराथन तयारी बैठक सम्पन्न गरेको छ । जनप्रतिनिधि, कर्मचारी , स्थानीय बुबा समूह आमा समूह र युवा समूहसँग खाना व्यवस्थापन, मञ्च व्यवस्थापन लगायतका विषयमा बैठकमा छलफल भएको नगरपालिकाले जनाएको छ ।

बैठकमा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानले सहिद गाँउलाई पर्यटकीय स्थलको रुपमा परिचित गराउन नगरपालिकाले अभियान थालेको बताए । ‘यो प्रजातन्त्र प्राप्तीका लागी ज्यान गुमाएका सहिदहरुको गाँउ हो, यसको बिकासका लागी नगरपालिका तपाईहरुको साथमा छ’ न्यौपानेले भने ।

बैठकमा उपप्रमुख एवम् व्यास नगरपालिका खेलकुद व्यवस्थापन समितिका संयोजक मिरा जोशीले म्याराथनमा देशका विभिन्न ठाँउबाट धावकहरुको सहभागीता हुने भएकाले यसको व्यवस्थापकीय पक्षहरुमा विशेष ध्यान दिन आग्रह गरिन् । यो कार्यक्रम समग्र नगरपालिकाकै गौरवको रुपमा रहेकाले यसलाई सफल बनाउन सबैको भूमिका उत्तिकै महत्वपुर्ण हुने जोशीको भनाई थियो ।

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले म्याराथन तयारीका लागी विभिन्न उपसमितिहरु निर्माण भएकाले ती उपसमितिहरुसँग पनि समन्वय र सहकार्य गर्न गाँउबासीलाई आग्रह गरे । बैठकमा व्यास–८का वडा अध्यक्ष ओजराज पौडेलले विगतका कमीकमजोरीबाट पाठ सिकी आवश्यक सुधार गनुपर्नेमा जोड दिए । साथै तयारीमा केही कठिनाई आइपरेमा नगरपालिकासँग समन्वय गर्न पनि पौडेलले आग्रह गरे ।

बैठकमा वरिष्ठ आलेप अधिकृत एवम् कार्यक्रमका खाना व्यवस्थापन उपसमितिका संयोजक कुमार कञ्चन जि.सीले कार्यक्रममा सहभागी हुनेको संख्या अनुमान गरी सोही अनुसार प्रभावकारी व्यवस्थापन गरिनुपर्ने बताए । साथै खाना व्यवस्थापनमा विगतमा वर्षमा भएका कमजोरीहरु दोहोरिन नहुने उनको भनाई थियो ।

बैठकमा सहभागीहरूले म्याराथनलाई सफल बनाउन आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । स्थानीय सहिद धर्म आमा समूहकी अध्यक्ष कृष्णमाया गुरुङ्गले म्याराथन कार्यक्रमले गाँउमा छुट्टै उत्साह थपेको बताइन् । ‘यसबाट हाम्रो गाँउको प्रचारप्रसार राम्रो भएको छ र हाम्रा सहिदहरुको मूर्ति पनि ढाकिएर राखेको अवस्थाबाट अनवरण भयो हामी धेरै खुशी भएका छौँ’ उनले भनिन् ।

सोही अवसरमा नगरप्रमुख न्यौपाने, उप्रमुख जोशी प्रमुख प्रशासकीय अधिकृत सिग्देल कार्यपालिका बोर्ड सदस्यहरु कल्पना पोख्रेल, चन्द्रमाया परियार, वरिष्ठ अधिकृत एवम् म्याराथन रुट व्यवस्थापन उपसमिति संयोजक राजेन्द्र कार्की, प्रशासकीय अधिकृत रामचन्द्र हड्खले लगायतको टोलीले म्याराथन रुट अवलोकन समेत गरेका थिए । ४४ किलोमिटर अल्ट्रा म्याराथनका देशका विभिन्न ठाँउबाट धावकहरुले नाम दर्ता गराउने क्रम जारी रहेको छ । १०० जना धावकहरुले म्याराथनमा सहभागीता जनाउने नगरपालिकाले अनुमान गरेको छ ।

Show More

Related Articles

Back to top button