चुनाव हारेपनि चुनावको वाचा पुरा गर्ने अभियानमा लागेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईको भनाई
दमौली खबर संवाददाता
दमौली, वैशाख ८ गते
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले चुनाव हारे पनि आफूले चुनावमा बोलेका बाचा पूरा गर्ने अभियानमा आफू सक्रिय रहेको बताउनु भएको छ । तनहुँको देवघाट १ कोटामा सिर्जनशील युवा क्लबद्वारा आयोजित भलिबल प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण भट्टराईले सो कुरा बताउनु भएको हो ।आफूले पानी ल्याउँछु भनेको र आफ्नै पहलकदमीमा खानेपानीको योजनामा वृहत कोटा १८लाख विनियोजन भएको जानकारी उहाँले दिनुभयो ।
आफू हरेक दिदी बहिनीको भान्सामा पानी पुग्नुपर्छ भनेर लागेको भन्दै उनले आफ्नो सक्रियतामा तनहुँका ५९ खानेपानी योजना बनेको उल्लेख गर्नुभयो । ‘चुनाव हारे पनि तनहुँमा २० ओटा खानेपानीका नयाँ योजना पार्न पहल गरेको छु,’ देवघाटमासमेत त्यस्ता योजनाहरु परेको उल्लेख गर्दै भट्टराईले भन्नुभयो, ,‘५८ करोडको शालिग्राम करिडोरको ठेक्का पनि हाम्रै पहलमा लागेको छ ।’देवघाटमा अरु विकासका योजना ल्याउनसमेत प्रयास गरिरहेको भट्टराईले भन्नुभयो,‘म यस ठाउँलाई दक्षिण भेगको विकासको केन्द्र बनाउन चाहन्छु । ’ आफूलाई काम गर्न पद र सरकार नचाहिने तर्क गर्दै उहाँले भन्नुभयो,‘म यही ठाउँको हो ।
मलाई काम गर्न हाम्रो सरकार पनि चाहिन्न । तर, गोरु बेचेकै साइनो छैन भन्ने जितेका व्यक्ति कता हिँड्नुभएको छ ? कार्यक्रममा भटुटराईले खेलका लागि ३२ हजार तथा कांग्रेस महासमिति सदस्य पुरुषोत्तम खनालले ५० हजार व्यक्तिगत सहयोग गर्नु भएको थियो ।

