समाचारAll

गठबन्धन पाँच वर्षको लागि कामय गरिनु पर्ने नेपाली कांग्रेसका नेता शंकर भण्डारीको भनाई

दमौली खबर संवाददाता
तनहुँ, मङ्सिर २४ गते । नेपाली कांग्रेसका नेता तथा तनहुँ–२ बाट नवनिर्वाचित प्रतिनिधी सभा सदस्य शङ्कर भण्डारीले गठबन्धन पाँच वर्षको लागि कायम गरिनु पर्ने बताउनु भएको छ । सो कुरा नेता भण्डारीले नेपाली कांग्रेस तनहुँले शनिबार गरेको निर्वाचन समिक्षा कार्यक्रमलाई सम्बोधन गर्दै बताउनुभएको हो ।
 गठबन्धनले सोचे अनुसार मत प्राप्त नगरे पनि सरकारको भागबण्डा मिलाएर गठबन्धन टुट्न दिन नहुने बताउनुभयो । भागवण्डा जीतको सिटको आधारमा गरेर मिलाउन सकिने उहाँको तर्क थियो । पूर्व मन्त्री समेत रहनु भएका भण्डारीले गठबन्धनको चुनावी कमाण्डर हुनु भएकोले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रधानमन्त्री बनाउन उपयुक्त हुने बताउनुभयो । शेरबहादुर दउवाले पुनः प्रधानमन्त्रीको आकांक्षा व्यक्त गर्दा गठबन्धन टुट्न सक्ने हुँदा नेता पौडेललाई बनाउन उपयुक्त हुने बताउनुभयो  । ‘मैले पार्टी सभापति त्याग गर्दा फरक पर्दैन भने फेरी प्रधानमन्त्री म नै बन्छु भन्दा गठबन्धन टुट्न सक्ने जोखिम भएको बताएको छु’ भण्डारीले भन्नुभयो ।
नेता भण्डारीले पार्टीको आन्तरिक व्यवस्थापन सुदृढ गर्न कार्यकर्तालाई आग्रह गर्नु भयो । सङ्गठन सुदृढीकरण सकेको भए सिट थप हुने उहाँको भनाई थियो । केन्द्र देखि ७७ जिल्लामै पार्टीमा सुधारको आवश्यक भएको उहाँले बताउनुभयो । काम गर्ने साथीहरुको मूल्याङ्कन भएन भने पार्टी कमजोर हुने नेता भण्डारीले बताउनुभयो । कार्यक्रममा प्रतिनिधी सभा सदस्यमा निर्वाचित भण्डारी, गण्डकी प्रदेश सदस्यमा निर्वाचित जीतप्रकाश आले, अशोककुमार श्रेष्ठलाई सम्मान गरिएको थियो । कार्यक्रममा नेपाली कांग्रेस तनहुँका सभापति जीतप्रकाश आले, निर्वतमान सभापति वैकुष्ठ न्यौपाने, गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री डोबाटे विश्वकर्मा, जिल्ला सचिव लक्ष्मीभक्त खनाल, क्षेत्र नम्बर १ का सभापति चुडामणी खनाल लगायतले विकास र सङ्गठनको काम एकैसाथ लानु पर्ने, गुटउपगुटमा लाग्न नहुने र सबैलाई समेटेर लाग्नु पर्ने सुझाव दिनु भएको थियो । साथै वक्ताहरुले जनताको भावनाको अपेक्षा बुझेर प्रतिनिधी, प्रदेश र स्थानीय तहका जनप्रतिनिधीले काम गरेर पार्टी बलियो बनाउन मद्धत पुग्ने कुरामा जोड दिएका थिए ।
 युवाहरुमा सिद्धान्त सम्बन्धि प्रशिक्षण अभाव हुँदा पैसा पाए मात्रै चुनावको प्रचारमा हिड्ने अवस्था आएकोले त्यस्ता कुरामा पनि ध्यान दिनु पर्ने वक्ताहरुको जोड थियो । समिक्षा कार्यक्रम भातृ सङ्गठन, शुभेच्छुक सस्थाका प्रतिनिधीहरुको पनि सहभागीता रहेको थियो ।
Show More

Related Articles

Back to top button