समाचारकोरोनाभाइरसस्वास्थ्य

खोप लगाउनेमा देखियो सामान्य लक्षण

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको लागि बुधबार देखि सुरु गरिएको पहिलो चरणको खोप अभियान सोमबार सकिएको छ । खोप लगाएका मध्ये केहीलाई भने सामान्य लक्षण देखिएको छ । १७ गते दमोली अस्पतालबाट खोप लगाएका बन्दिपूरका स्वास्थ्यकर्मीमा ज्वरो आउने, जीउ चिलाउने, थकाई लाग्ने खालको लक्षण देखा परेको हो । खोप लगाएका बन्दिपूर गाँउपालिका ४ मा रहेको मोति हेल्थ क्लिनिकका १७ जना मध्ये केहीमा उक्त खालको लक्षण देखिएको गाँउपालिका अध्यक्ष समेत रहेका क्लिनीका संचालक पूर्णसिं थापाले जानकारी दिए ।

उनले भने, ‘खोप लगाएका मध्येमा दुई ÷चार जनामा ज्वरो आएको थियो । अन्यलाई टाउको दुख्ने, जिउ चिलाउने जस्ता खालका लक्षण देखिएको थियो । ’उनले उक्त खोप प्रभावकारी भएकाले यस्ता खालका लक्षण देखा परेको बताए । उनले भने,‘यस्ता खालका लक्षण अन्य खोपहरुको प्रयोग गर्दा पनि देखिन्छ । डराउनु पर्ने जस्तो लाग्दैन । ’ पहिलो चरणमा जिल्ला भरका एक हजार दुई सय १ जनाले खोप लगाएका छन् । अग्रपंक्तिमा खटिनेहरु(फ्रन्टलाइनर्स) ले कोभिड–१९ विरुद्धको उक्त खोप लगाएका हुन् ।

जिल्ला स्वास्थ्य कार्यालय तनहुँका अनुसार दमौलीमा खडा गरिएको तीन वटा खोप केन्द्रमा अन्तिम दिनमा मात्रै एक सय २४ जनाले लगाएका छन् । पहिलो चरणमा व्यास नगरपालिकाका आठ सय ८५, म्याग्दे गाउँपालिकाका एक सय २७ , ऋषिङ गाउँपालिकाका एक सय ६३, शुक्लागण्डकी नगरपालिकाका चार सय ९, भिमाद नगरपालिकाका ३ सय , घिरिङ गाउँपालिकाका एक सय १८, भानु नगरपालिकाका दुई सय ९९ आँवुखैरेनी गाउँपालिकाका एक सय ३१, बन्दिपुर गाउँपालिकाका २ सय २१ र देवघाट गाउँपालिकाका दुई सय २१ जनाले खोप लगाएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीका अनुसार सबै स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, सरसफाइकर्मी लगायतलाई यो खोप लगाईएको हो । उनले समान्य लक्षण देखिएको भनिएको खोप प्रभावकारी रहेको बतान्छन् । उनले भने,‘ समान्य लक्षण देखिएको भनिएको खोपले काम गरेको बुझिन्छ । त्यसैले यो खोप प्रभावकारी छ । ’ कोरोना खोप एक व्यक्तिले दुई पटक लगाउनुपर्दछ । एकपटक खोप लगाएपछि एक महिनाको अन्तरमा अर्को डोज दिइने स्वास्थ्य कार्यालयले जनाएको छ । सरकारले पहिलो चरणमा स्वास्थ्यकर्मीलाई खोप दिए पश्चात दोस्रो चरणमासर्वसाधारणलाई दिने योजनाबनाएको छ ।

Show More

Related Articles

Back to top button