Uncategorizedजीवनशैली

कुवा संरक्षणमा जुटे स्थानीयबासी

तनहुँको व्यासनगरपालिका–१ धुपखोलामा रहेको खानेपानीको कुँवा बाढीले पुरेपछि करिब डेढ महिना पछि शनिबार देखि संञ्चालनमा ल्याइएको छ ।

गत असार अन्तिम साता परेको अविरल बर्षापछि खोलामा आएको बाढीले खानेपानीको कुँवा ढुङ्गा र माटोले पुरिएको थियो ।

उक्त कुँवाको पानी चिसो र मिठो रहेकोले बिशेष गरी सुख्खा महिनामा सदरमुकाम दमौलीबाट समेत मानिसहरु पानी लिन आउने गर्ने गरेको स्थानीय भरत अधिकारीले बताए ।

पहिला पहिला यस कुँवाको पानी नै वडाबासीले प्रयोग गर्दै आएको र अहिले घरघरमा पानीको धारा जडान गरेपछि कहिले काँही मात्रै पानी लिन आउन थालेको उनले जानकारी दिए ।

बनमा जाने,भदु्रडाँडा जाने र बटुवाहरुले समेत उक्त पानी पिउने गर्ने भएकोले यसको संरक्षणमा स्थानीयबासीले जोड दिदै आएका छन् । कुनै कारणवश खानेपानीको पाइपमा समस्या आएर धारामा पानी आएन भने त्यही कुँवाको पानी प्रयोग गर्ने गरिएको अर्का स्थानीय नबिन अधिकारीले बताए ।

खोलामा आएको बाढीले कुँवा पुरेपछि वडाध्यक्ष खरसिं दरैलाई भनेर तत्कालै डोजरको सहायताले कुँवामा बाढी नपस्ने गराएपनि कुँवा पुरिएको केहि भाग सरसफाई बाँकी रहेकोले स्थानीयबासी जुटेर कुँवा संरक्षणमा लागेका हुन् ।

यस वडाका चारकुने र रत्यौली टोलका बासिन्दाहरुको सक्रिय सहभागितामा बाढीले बगाएर ल्याएको ढुङ्गा,माटो हटाउने र सरसफाई गर्ने कार्य गरिएको चारकुने टोल बिकास संस्थाकी कोषाध्यक्ष चन्द्रकला मिश्रले बताईन् ।

वडाभित्र रहेका पार्टी पौवा,कुँवा धारा लगायतका सम्पत्तिको संरक्षणको लागि सबै एकजुट भएर लाग्नुपर्ने हुँदा आफुले पनि यस कार्यमा सहभागिता जनाएर काम गरेको रत्यौली टोलका राजेश न्यौपानेले बताए ।

बर्षात रोकिएपछि पुरिएको कुँवा मर्मत सम्भार गर्ने योजना रहेपनि वडामा कोभिड– १९ का संक्रमितको संख्या बढ्न थालेपछि मर्मत कार्य रोकिएको चारकुने टोल विकास संस्थाका निवर्तमान अध्यक्ष ज्ञानेन्द्र जिसीले जानकारी दिए ।

स्थानीयबासीले कुँवा मर्मत चासो देखाएपनि वडा नजिकै एकै घरका पाँच जनामा कोरोना पुष्टि भएसंगै व्यासनगरपालिकाले लकडाउन गरेपछि उक्त कार्य रोकिएको हो । उनले भने, ‘लकडाउन खुलेसंगै मर्मत तथा सरसफाई कार्य गरियो ।’

Show More

Related Articles

Back to top button