हेडलाईनसमाचार

व्यास नगरपालिकाका जनप्रतिनिधी र शिक्षकका छोराछोरी सामुदायिक विद्यालयमा

दमौली खबर संवाददाता

तनहुँ, वैशाख ११ गते

तनहुँको व्यास नगरपालिकाले चालु शैक्षिकसत्र २०८१ देखि जनप्रतिनिधी, शिक्षक र कर्मचारी र छोराछोरीलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा भर्ना गर्न आह्वान गरेको छ । पछिल्लो समय जिल्लाभर सामुदायिक विद्यालय विद्यार्थी अभावमा रित्तिँदै गएको अवस्थामा नगरपालिकाले गाउँपालिकाले सूचना प्रकाशन गर्दै जनप्रतिनिधी, शिक्षक र कर्मचारीलाई आ–आफ्ना छोराछोरीलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा भर्ना गरेर पढाउन आह्वान गरेको हो ।

नगर कार्यपालिकाको सोमबार बसेको बैठकले चालु शैक्षिक सत्रदेखि जनप्रतिनिधिले आफ्ना सन्तानलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा अध्ययन गराउनुपर्ने निर्णय गरेको नगर प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । राज्यले सामुदायिक विद्यालयमा लगानी गरेअनुरूपको प्रतिफल प्राप्त नभएकाले सुधारका लागि दबाब दिने उद्देश्यअनुरूप सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरिएको नगर प्रमुख न्यौपानेले बताउनुभयो ।

शैक्षिक गुणस्तर वृद्धि गर्न र सामुदायिक विद्यालयप्रतिको जनविश्वास जगाउनका यस निर्णयले मद्दत पुग्ने विश्वास नगरपालिकाले लिएको छ । नगर प्रमुख न्यौपानेले भन्नुभयो, ‘जनप्रतिनिधि, सामुदायिक विद्यालयका शिक्षक र कर्मचारीका छोराछोरीले सरकारी विद्यालयमा पढ्न थालेपछि खस्कँदै गएको शैक्षिक अवस्थामा सुधार भई सहज र सुलभ रूपमा पढ्ने वातावरण कायम हुने विश्वास लिएका छौं ।’ सामुदायिक विद्यालय सुधारसँगै नगरपालिकाको शिक्षाको गुणस्तरमा सुधार ल्याउन यस्तो निर्णय गरिएको उपप्रमुख इन्दिरा दरैले बताउनुभयो । विशेषगरी सार्वजनिक शिक्षामा जनप्रतिनिधि, शिक्षक र कर्मचारीलगायत सबैको चासो बढोस् भन्ने उद्देश्यले यस्तो निर्णय गरिएको उहाँ बताउनुहुन्छ । नगरपालिकामा ७५ जना जनप्रतिनिधि रहेका छन् ।

सामुदायिक विद्यालयप्रतिको घट्दो आकर्षणलाई उकास्न आफ्नो पायक पर्ने सामुदायिक विद्यालयमा भर्ना गरेर अध्ययन गराउन अनुरोध गरिएको प्रवक्ता तथा वडा नम्बर ६ का वडाध्यक्ष जीवन गुरुङले बताउनुभयो । गुरुङले भन्नुभयो “बोडिङ स्कुलभन्दा सरकारी विद्यालयको नतिजा राम्रो बनाउन यस्तो निर्णयले सहयोग गर्ने अपेक्षा लिएका छौँ ।” नगरभित्रका केही विद्यालयमा अत्यन्त न्यून विद्यार्थी भएकाले त्यस्ता विद्यालयमा कक्षा व्यवस्थापन एवम् समायोजन गर्ने गरी दरबन्दी मिलान पक्रिया अघि बढाउने निर्णय गरिएको प्रवक्ता गुरुङले बताउनुभयो । गुरुङका अनुसार सबै सामुदायिक तथा सस्थागत विद्यालयहरुमा आगामी जेठ मसान्त भित्र नगरपालिकाको ऐन र नियम अनुसार व्यवस्थापन समिति गठन गर्ने निर्णय गरिएको छ ।

Show More

Related Articles

Back to top button