विचारUncategorized

विश्वकर्मा पूजासँगै केही गाडी चले

कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण ६ महिनासम्म थन्किएका मध्यम तथा र लामो दूरीमा चल्ने सार्वजनिक यातायात केही मात्रमा विहिबार बाट सञ्चालनमा आएका छन् । सरकारले आफ्नो माग सम्बोधन गरेकोमा यातायात व्यवसायीहरु पनि उत्साहित हुँदै संयोगवश विश्वकर्माको पूजा गरी गाडी चलाएका हुन् । तर कोरोना संक्रमण जोखिम अझै नहटिसकेको र संक्रमण भय जारी रहेको हुँदा आवश्यक स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउनु जरुरी देखिन्छ ।

गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले असोज १ देखि लामो दूरीका यातायात संचालन तथा आन्तरिक हवाई गर्न सकिने निर्णय गरेको थियो । यी सवारीसाधनले सिट क्षमताको आधा यात्रु राखेर साविक भाडादरमा ५० प्रतिशत बढी भाडा लिएर यात्रा गराउन सक्नेछन् । आन्तरिक हवाइजहाज र लामो दूरीका यातायातका साधनले स्वास्थ्यका मापदण्ड पूरा गरी सिट क्षमताको ५० प्रतिशत मात्र यात्रु राख्न पाउने छन् । लामो समयसम्म हवाइजहाज र लामो दूरीका यातायात सञ्चालन नहुँदा यात्रु र सञ्चालकलाई समेत कठिनाइ परेकाले सरकारले दबाब थेग्न नसकी संचालन अनुमति दिएको हो । गाडीमा सिटमा एक जना मात्र राख्ने पाइने, यात्रुले अनिवार्य मास्क प्रयोग गर्नुपर्ने तथा सेनिटाइजर र भौतिक दूरी कायम राखेर हवाई र लामो दूरीका यातायात सञ्चालन गर्न पाइने जिल्ला प्रशासन कार्यालय तनहँुले जनाएको छ ।

सवारी चालक र सहचालकले अनिवार्य रुपमा मास्क र पञ्जा लगाउनाका साथै सवारी साधनले दैनिक निर्मलीकरण गर्नुपर्नेछ । यता, बस सञ्चालनका लागि सबैे सावधानी अपनाएर सवारी साधन सञ्चालन गरिएको यातायात व्यवसायीले बताएका छन् । यसैबीच, पृथ्वी राजमार्ग बस संचालक कम्पनी प्रालिले असोज १ देखि नै गाडी संचालन गरेको छ । पोखरामा प्रधानकार्यालय रही देशका प्रमुख सहरहरुमा गाडी संचालन गर्दै आएको पृथ्वीका १ हजार ४ सय गाडी छन् । कम्पनीले पहिले पनि सरकारले संचालन अनुमति नदिए असोज १ देखि नै छोटो तथा लामो दूरीका गाडी जबर्जस्ती चलाउने चेतावनी दिँदै आएको थियो । सरकारले यातायात व्यवसायीको माग सम्बोधन गरेकोमा धन्यवाद दिँदै कम्पनी अध्यक्ष योगेन्द्रबहादुर केसीले पहिलो दिन विश्वकर्मा पूजा पनि भएकोलेस्वेच्छिक भनिएकाले केही गाडी सञ्चालनमा आएको र असोज २ देखि भने कम्पनीअन्तर्गतका गाडीहरु अनिवार्य रुपमा चलाउने निर्देशन दिइएको जानकारी दिए ।

उनले भने, ‘असोज १ गते विश्वकर्मा पूजा पनि हो, सो दिन स्वेच्छिक भनेका छौं, केही गाडीमा मात्र सञ्चालनमा आएका छन् । आगामी दिनमा भने नियमित रुपमा कुल संख्याको ३० प्रतिशत गाडीहरु देशका प्रमुख सहरहरुमा छुट्ने छन् ।’ त्यस्तै यता व्यास भूमि यातायात समिति तनहँु अध्यक्ष राजकुमार श्रेष्ठ राकुले सबै सवारी साधन स्यानिटाईजर गरि सावधानी ढङग बाट सञ्चालनमा आएको बताए । उनले चालक, सहचालक तथा यात्रुलाई सुझाव दिँदै कोरोनाविरुद्ध आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन भनेका छन् । उनले भने, ‘मानवीय जीवनसँग संवेदनशील भएकोले सबैलाई सचेत गराएका ।’

साथै, गाडी संचालनको बखत आवश्यक अनुगमन–नियमन सरकारबाट हुनुपर्नेमा उनले जोड दिए । त्यसरी कोही कसैले मापदण्ड पूरा नगरेको पाइए कारबाही हुँदा आफूहरुले आपत्ति नजनाउने बताए । व्यवसायीहरुले अहिले कमाउनको लागि नभै, यात्रुको सुविधा तथा गाडीको चलायमानका लागि बाध्य भएर गाडी निकाल्नुपरेको उनले स्पष्ट पारे ।

 

Show More

Related Articles

Back to top button