दमौली खबर संवाददाता
तनहुँ, चैत्र २६
तनहुँको सदरमुकाम दमौलीमा विद्युतीय सुरक्षा सचेतना जगाउँदै प्रभात फेरी गरिएको छ ।
“विद्युत दुर्घटनाबाट बच्न सचेत रहौं, सम्वृद्धिको लागी विद्युतको सदुपयोग गरौं ।” भन्ने नाराका साथ नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रले विद्युतीय सुरक्षा दिवस–२०८० को अवसरमा प्रभातफेरी गरिएको हो । प्रभातफेरीमा कर्मचारी, प्रहरी, सञ्चारकर्मी, व्यापारी लगायतको सहभागिता रहेको थियो । नगरौ चोरी र धन्दा परिएला कानुनको फन्दा, प्रलोभवनमा नपरौं विद्युतको सुरक्षित उपयोग गरौं, सुरक्षाको समग्री साथमा आफ्नो सुरक्षा आफ्नो हातमा, विद्युतीय दुर्घटनाबाट बच्न सचेत रहौं, भिजेको हातले विद्युतीय उपकरण नचलाऔंं, समृद्धिको लागि विद्युतीय सामग्री प्रयोग गरौं, भन्ने लगायतका प्लेकार्ड बोकेर सचेतना ¥याली गरिएको थियो ।
ट्राफिक चोकबाट सुरु गरिएको प्रभातफेरीले दमौली बजारको परिक्रमा गरिएको थियो । विद्युत् दुर्घटनाका घटनाहरूमा कमी ल्याउन जनचेतनाको खाँचो रहेको नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रका प्रमुख ईन्जिनियर विजयराज रेग्मी बताउनुभयो । रेग्मीले भन्नुभयो, ‘विद्युतीय सुरक्षाको विधि नअपनाएको कारणले गर्दा दुःखत घटना भईरहेकोले सचेतना जगाउन प्रभातफेरी कार्यक्रम गरेका हौं ।’ घरमा गुणस्तरीय विद्युतीय तार तथा सामग्री प्रयोग वयरिङ गर्नु आवश्यक रहेको रेग्मीले सुझाव दिनुभयो । विद्युत कर्मचारीलाई सुरक्षा सम्बन्धि तालिम प्रदान गर्ने गरिएको उहाँले जानकारी दिनुभयो ।
जोखिमपूर्ण अवस्थामा रहेका जीर्ण, पोल तार र लाईन सामाग्री फेर्ने कामलाई वितरण केन्द्रले प्राथमिकता दिएको रेग्मीले बताउनुभयो । सेवाको सहज पहुँच, गुणस्तरिय सामानको प्रयोग र किफायती उपभोग एवं चुहावट नियन्त्रण कार्यको उपभोक्तामा वढी भन्दा वढी सचेतना र जागरुकता संचार गरी विद्युत दुर्घटनामा कमी ल्याउनु यो दिवसको मुख्य उद्देश्य रहेको प्राधिकरणले जनाएको छ । मानिस नभएको बेलामा विद्युतीय प्लग अफ गरेर राख्नु पर्छ । लामो समयसम्म विद्युतीय उपकरण सुचारु गरी राख्नु हुँदैन ।
चिसो हातले प्लगलगायत विद्युतीय सामग्री तथा उपकरण छुनु हुँदैन । हावाहुरी चलेको बेला विद्युत्को तारमुनि बस्नु हुँदैन । मेघ गर्जेको बेला चट्याङ पर्न सक्ने भएकाले त्यस्तो बेलामा इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स उपकरण चलाउनु हुँदैन, उक्त समयमा मर्मतसम्भारको कार्य पनि गर्नु हुँदैन । विद्युत्को नाङ्गो तार नजिकै रही त्यसलाई छुन लागेका रुखमा आफैँले छिरलिएका हाँगाबिँगा काट्नु अर्थात् बुस कटिङ गर्नु हुँदैन, प्राधिकरणका कर्मचारीलाई खबर गर्नु पर्छ ।