फिचरविचारसमाचारस्वास्थ्य

मैले देखेको कोरोनाको भयाबह अबस्था -अधिवक्ता प्रतिमा कार्की गुरुङ्ग

अधिवक्ता प्रतिमा कार्की गुरुङ्ग : विगत केही दिनदेखि फेसबुकको भित्ता कोभिड १९ बाट मृत्यु हुनुभएका विद्वान अधिवक्ता मित्रहरुको तस्वीरले भरिएको थियो । जिल्ला देखि सर्वोच्च अदालत सम्मको प्रायजसो कर्मचारी, अधिवक्तामा कोभिड १९ व्यापक रुपमा फैलिएको थियो । अदालतकै कार्यसम्पादन अस्त–व्यस्त भईरहेको थियो । पेशाले हामी श्रीमान् –श्रीमती दुवै जना अधिवक्ता भएकोले दशैँको मुखमा कैद र थुनामा रहेकाहरुलाई विशेष प्राथमिकता दिनुपर्ने हुन्छ । कोभिडको डर मनमा बढे पनि घरमा बस्न पेशागत नैतिकताले दिँदैन र दिएन पनि ।

बिशेष सुरक्षा सतर्कता अपनाउँदा अपनाउँदै पनि कहाँ कतिबेला संक्रमण भइने हो भन्ने डर थियो । काठ्माण्डौँमा दशैँको चहलपहल शुरु भईसकेको थियो । एक्कासी मेरो श्रीमान्ले मन्द ज्वरोसहित घाँटी ,शरिर हल्का दुखेको र खोकी लागेको भन्नुभयो । अदालतमा बहस धेरै गर्नुभयो होला भन्ने सोची दुखाईलाई खासै ध्यान दिइएन। तातोपानी पिउने सम्म गरियो मलाई कोभिड हो कि भन्ने शंका लाग्यो। श्रीमानलाई जचाउँन जाउँ पनि भने।मौसमी रुघाखोकी हो भन्नुभए पछि ७ वर्ष छोरालाई मेरो माइतीमा छाड्ने निर्णय गरेँ ।एक मनले त उतै बसौँ कि जस्तो लाग्यो। तर घरमा बिरामी हुँदा हुँदै छाडेर बस्न मन मानेन र बाबुलाई त्यही छोडी घर फर्किएँ ।

अदालत बिदा भई सकेको थियो ।घरमा पनि हामीले बिषेश सुरक्षा सतर्कता अपनायौँ बाफ लिन लगाउने देखि लिएर बेसार पानी, र्गुजो पानी दिई राखेको थिएँ । त्यसको ४,५ दिन पछि उहाँमा उच्च ज्वरो देखा पर्यो । खोकीले रातभर सुत्न नसक्ने हुनु भयो। कुनै पनि औषधिले काम नै गरेन। स्वाद ,वास्ना हरायो भन्नुभयो त्यसपछि मैले जिद्दी गरेर उहाँलाई कोभिड १९ जाँच गर्न पठाएँ । भोलि पल्ट दिउँसो रिपोर्ट आयो । जसमा कोभिड पोजिटिभ थियो । म त थरथर काँपेछु। उहाँलाई निमोनिया भयो भन्ने लाग्यो। म आफु पनि दमको रोगी, मलाई पनि लाग्यो भन्ने सोचेछु । माईतीमा छाडेको बाबुलाई र आमालाई सम्झेँ उहाँहरुलाई पनि भयो कि भन्ने आशंका भयो। हुन त बाबुलाई माईती छोडेको १ हप्ता भई सकेको थियो । म तुरुन्त स्वाव दिन निस्किएँ । त्यो दिन आत्तिएर नै बित्यो । आफन्तहरुलाई फोन गरेँ। सबैले उहाँलाई निमोनिया भई सक्यो होला तुरुन्तै अस्पताल लैजाउ भन्ने सल्लाह दिनुभयो । भोलीपल्ट मेरो रिपोट नेगेटिभ आयो । खुशी हौँ या दुःखी ! एकातिर श्रीमान अस्पताल जान मानी रहनुभएको थिएन। अर्कातिर म नेगेटिभ, सँगै बस्न पनि डर । त्यस्तो गलेको बिमारीलाई एक्लै छोड्न पनि डर ।म कोभिड नेगेटिभ छु भने पनि कुनै आफन्तले उनीहरुको घर भित्र छिर्न दिने त सम्भव नै थिएन ।

नजिकको आफन्तसँग सल्लाह गरी वँहालाई अस्पताल नै राख्ने विचार गरीयो। काठमाण्डौको प्रायः जसो अस्पतालमा फोन लगाएँ । कतिपयमा त सिट छैन सम्म भने। कुनैले १ लाख डिपोजिट बाट सुरु भई ५/७ लाख सम्म खर्च लाग्न सक्ने बताए । लगातर १ हप्ता देखि वहाँको खोकी र ज्वरो यसरी बढेको थियो कि त्यसले मेरो पनि मनोबल घटाइ सकेको थियो। मैले मेरो एकजना डाक्टर साथीलाई कल गरेँ।उहँले पि.सि.आर. रिपोट भाईवर गरदिनुस् भन्नुभयो । मैले त्यसै गरेँ।“तपाईँ नआतिनुस्। कोराना रिकभरी हुने स्टेजमा छ“। उताबाट उहाँले भाइबरमा सन्देश छाड्नु भयो। “उहाँलाई ४,५ दिनमा सबै ठिक हुन्छ। उच्च ज्वरो आएको खण्डमा औषधि दिनुस्, सास फेर्ने गाह्रो भएमा शरिरमा अक्सिजनको ९० भन्दा तल देखिएको खण्डमामात्रै तुरुन्तै अस्पताल जानुस्।” यति सुनेपछि बल्ल मन अलि शान्त भयो। घर आएर उहाँको शरिरमा भएको अक्सिजनको मात्रा अक्सिजन नाप्ने औजार अक्सीमिटर नाप्न लगाएँ। अक्सिजनको मात्रा ९२ थियो । १,२ दिन घरमा नै बस्ने निर्णय ग¥यौँ ।

छरछिमेक र आफन्तको व्यवहार

म उहाँको हेरचाह र खानपानमा ध्यान दिइरहेको थिएँ । आफै दम रोगी कुन बेला लाग्छ भने डरले मुटु काँपिरहेको थियो । एक दुई जना साथीले प्रत्येक दिन फोन गरेर हौसला दिन्थे, जसले थोरै राहत मिल्थ्यो। केही आफन्तले “तँ पनि सकिस् गईस्।“ ज्वाईलाई नि कडा निमोनिया भई सक्यो हेर त्यो सानो छोरा!” सम्म भन्न भ्याए। मेरो रिपोर्ट नेगेटिभ भएकाले सुरक्षा सतर्कता अपनाएर तरकारी,दुध,औषधी किन्न निस्कन्थेँ । म बाटोमा स्कुटर लिएर निस्किँदा पनी टोलका मान्छेहरु घरभित्र छिर्नथाले ।मेरा घरको बाटो हिँड्दा,“यो घरमा त कोराना छ छिटै दौडी” भन्दै कुद्न थाले। बिस्तारै सधैँ ढोका बाहिर सम्म पानी ल्याउने पानीवाला दाईले पनि फोन उठाउन छोडे ।कोही आफन्त या छिमेकीले बाहिरबाट गर्न सकिने सहयोग सम्म पनि गरेनन्। मानौ उनीहरुको टोलमा हामी डरलाग्दो राक्षस बसिरहेका छौँ ।

मेरो एक जना साथीको परिवारलाई नै कोभिड संक्रमण भएपछि छिमेकीहरुले उसको आफ्नै घरको पर्खालमा ४ वर्षको बच्चाको कपडा सुकाउदा पनि कोठा भित्र सुकाउ भनी झगडा गरको भन्ने अनुभव फोनबाट सुनाई। आज पनि उसको घर छेउको बाटो हिँडे पछि घर गएर नुहाउनु पर्छ भन्दै सुनाउँछन् रे ।कस्तो अचम्मको कुरा दिन भर डुल्दा न लाग्ने कोरोना उसको घर छेउ पुगेपछि मात्रै कसरी लाग्छ? कोराना त गयो तर एंजाइटी (दुष्चिन्ता) को मनरोग थपरे गयो ।उ सधैँजसो मलाई सम्झाउथी, “जे होस् कोरानाको बेला आत्तिने काम गर्नु हुँदैन। केही परे बाहिरी सहयोग गर्न म तयार छु। कसैको दुर्ब्यवहार मनमा नलिनु ।“

दशैँको टिकाको दिन आयो ।एकाध साथी बाहेक आश गरेका कसैको फोन आएन । फोनबाट त पक्कै कोरोना सर्दैन थियो। सहयोग माग्छन् भन्ने सोचे या के सोचे भगवान जानुन्। टिकाको दिन साह्रै नमज्जा लाग्यो । हामी दम्पतीले आफ्नो निधारमा आफैँ टिका टास्यौँ । छोरालाई धेरै याद गर्यौं ।ममी बाबा लिन आउनु हुन्छ अनी गाँउ गएपछि दशैँ आउँछ,भन्देै बसेको छोरा, घर आउने भनेर कति रोयो!

आफैँमा कोभिड पोजिटिभ देखिँदाको अनुभव

श्रिमान्को स्वास्थ्यमा निकै सुधार आइसकेको थियो। दशैँ पछिको परिक्षणमा उहाँको रिपोर्ट नेगेटिभ आयो र मेरो पोजिटिभ आयो। मलाई पोजिटिभ आउँला लागेकै थिएन। आफैँलाई कोभिड भयो भन्ने थाहा पाउँदा मन आत्तिएको पनि ,कसैलाई भन्न जरुरी पनी लागेन । दश जनाको दश थरीका मनोबल घटाउने कुरा सुन्नै मन थिएन ।कसैले सहयोग,सान्त्वना दिँदैन भन्ने थाहा पाईसकेको थिएँ ।४,५ दिन देखि हल्का ज्वरो आउने ,हल्का घाटीँ दुख्ने,थकान महसुस हुने भइरहेको थियो ।उहाँलाई हेरचाह गर्दाको दौडधुप र मानसिक तनावले गाह्रो भयो होला सोचेको थिएँ।सकेको सुरक्षा सतर्कता अपनाउँदा अपनाउँदै पनि मलाई कोराना सर्यो ।

२,४ दिनसम्म राती सुत्न डराउने भएँ । ज्वरो एक्कासी बढ्ने हो की ? मलाई दम पो बढ्यो कि? गाह्रो हुँदै गएर छोरालाई हेर्न नपाई पो मर्छु कि ?के–के उल्टा–सुल्टा डरले समात्यो। रिपोर्ट अनुसार म रिकभरको अन्तिम स्टेजमा थिएँ।तिहार मनाउन पाईएला कि सोचेर हप्ता,दश दिनपछि म फेरि टेस्ट गर्न गएँ। छोरा भेट्न आत्तिरहेको थिएँ । रिपोर्ट फेरी पोजिटिभ आयो। हल्का मात्रै सुधार भएछ । समय किन लागीरहेको छ भन्ने लाग्यो। सोचेँ तिहारमा गाँउ जाने योजना पनि थातीँ भयो। तर श्रीमान्ले लक्ष्मी पुजाको अघिल्लो दिन (पछिल्लो टेस्ट गरेको दुई दिन पछि नै) फेरी टेस्ट गरुँ भन्नु भयो । नोबल अस्पतालको डाक्टरले १,२ दिनमा नै नेगेटिभ आउने सम्भावना छ भन्नुभए पछि हामीले उही दिन परिक्षणको लागि स्वाब छाडेर आयौँ। त्यहि बेलुका ८ बजे मोबाईलमा कोभिड नेगेटिभ भन्ने सन्देश आयो। खुशीको सिमा नै रहेन। दुई दिन अगाडि पोजिटिभ दुई दिन मै नेगेटिभ भयो। कोरनाले विश्वमा लाखौँ मान्छेले अकाल मै मृत्यु वरण गरिरहँदा आफुले नवजिवन पाए झैँ भयोे । भोली पल्ट नै बाबुु लिएर गाँउ जाने तयारी गर्यौँ ।करिब करिब डेढ महिना पछि बाबु भेट्दाको खुशी वर्णन नै गर्न सक्दिनँ । विना झिँझो निशुल्क सल्लाह सुझाव प्रदान गरिदिने स्वास्थ्यकर्मी हरु वास्तविक भगवान हुनुहुन्छ।सलाम ति हिम्मत भरिदिने स्वास्थ्यकर्मी हरुलाई जसको हौसलाले संक्रमित व्यक्तिको मनोबल उच्च बनाउँछ। आफ्नो घर परिवार नभनि आफ्नै स्वास्थ्य बाजि लगाएर दिन रात उपचारमा खटिनु हुने उहाँहरु सम्पुर्ण धन्यवादको भागिदार हुनुहुन्छ। उहाँहरु सम्पुर्णमा हार्दिक धन्यवाद।

आमजनताका लागि अस्पताल र सरकार

नेपालमा रहेका सरकारी वा निजी अस्पताल कोभिड१९ व्यवस्थापनमा निकै कमजोर रहेको देखिन्छ । सरकारी अस्पताल निशुल्क उपचारका लागि पनि अदालतको ढोका ढक्काउनु परेको अवस्था छ ।हुने खाने बर्ग महंगा निजी अस्पताल धाउन सक्छन् तर गरिब जनताका लागि त्यो सुविधा पाउनु असम्भव जस्तै हो । अस्पतालले ५० औँ लाखसम्म असुलेको र लास सम्म पनि हेर्न नपाइएको खबर पत्रपत्रिकामा पढिरहेका छौँ ।मेरो श्रीमानको उपचारकालागि हामीले केही नाम चलेका निजि अस्पतालमा सम्पर्क गरेका थियौँ। उताबाट आएको उत्तर जस्ताको तस्तै“ डाक्टर र नर्सको पि.पि.सेट देखि पञ्जासम्म तपाइँले किनी दिनु पर्ने नियम छ । कोरोना हो कि होइन भन्ने जाँचको लागि सुरु मा नै ५०,०००।–अस्पताललाइ बुझाउन पर्छ। सिट पाए भर्ना गरिदिन्छौँ नभए हामी असमर्थ हुन्छौँ। केहि गरि कोभिड रिपोर्ट पोजिटिभ आएको खण्डमा आइसोलेसन वार्डमा बस्नु पर्यो या भेन्टिलेटरमा राख्नु पर्यो भने खर्चको लेखाजोखा हुँदैन।जति समय पनि लाग्न सक्छ।“उनको आशय बुझिहालेँ। लाखौँको धरौटी रकमका बारेमा सुनेको पनि हो। पढेको पनि हो। त्यति कुराकानी पछि निजी अस्पतालमा कार्यरत मेरा एकजना डाक्टर साथीलाई फोन लगाएँ। उहाँले भन्नुभयो कि “एकदमै गाह्रो नभई अस्पताल नजानुस्। यसोउसो गरेर ३,४लाख जसरी पनि बिरामीको हातमा भिराउने योजना प्रत्येक निजी अस्पतालका हुन्छन् ।“केही थप के जान्न जरुरी लागेन ।

हामीले नै टेस्ट कै निम्ति लगभग २०,०००।– सकायौँ।के निम्न आय हुनेहरुको लागि र्सवसुलभ टेस्ट सम्भव छ? टेकु लगायत अन्य टेस्ट सेन्टरमा भिडभाडको व्यस्थापन कमजोर रहदाँ त्यहाँ बाटै कोराना फैलिने सम्भावना उच्च रहेको देखिएको छ । पि.सि.आर टेस्ट सेन्टरहरुमा विदेश जानेहरुको लागि नक्कली रिपोर्ट बनाएकाले छानबिन भईरहेको मिडियामा आईरहदाँ त्यस्ता टेस्ट सेन्टरको रिपोर्ट माथि आम जनताले कसरी भरोसा गर्ने ?हामीलाई १५,१६ दिनमा सरकारको टेकु अस्पताल,सुचना विभाग,सम्बधित वडाकार्यालयहरुबाट,“के छ ,तपाईलाई ठिक भयो ? १४ दिन आईशोलेनमा बस्नुभयो ? अरु केहीलाई रोग सर्यो की सरेन ? भन्दै फोनकल आएको थियो । यस्तो जनताको माया लाग्ने रहेछ त कम से कम कोभिड संक्रमण भएको २,४दिन मै फोन गरेर ,“तपाईलाई स्वास्थमा के कस्ता समस्या भएका छ? कतिको गाह्रो भएको छ ? यो नम्वर हाम्रो वडाको कोभिड डाक्टरको नम्बर हो कल गर्नु होला ” मात्रै सरकारी तबर बाट भनी दिए कस्तो हुन्थ्यो होला?यो भन्दा बढि आमजनताले कल्पना नैँ नगरौँ । अस्पतालको सिट र भेन्टिलेटर सम्म त राजनैतिक पावर लगाएर पाउनु परेपछी आम मान्छेले बाँच्न पाउने अधिकार कहाँ छ?

सचेत र सहयोगी रहौँ,

मृत्यु सित डर सबैलाई लाग्छ । कोभिडसँग डराउनुहोस् । आफु र आफ्नो परिवारलाई सुरक्षित राख्न हर सम्भव प्रयास गर्नू होस् ।किनकि यो रोगले कति खेर तपाईको घरको ढोका ढक्काउँछ थाहा नै हुन्न् । ८० प्रतिशत बिमारी सामान्य लक्ष्यण देखीएर आरामले निको भएका छन् । बाकीँ १० प्रतिशत केही गम्भिर लक्ष्यण सहित औषधी उपचारबाट निको भएका छन् । बाकीँ केही प्रतिशत मात्रै भेन्टिलेटरको स्थितीमा पुग्ने गर्छन् । त्यसैले समाजमा डरको खेती फैलाउनुको सट्टा ८० प्रतिशत निको हुने तथ्य याद गर्नुहोस्।यो रोगले भन्दा पनि आफु वरपरका मान्छेको दुर्व्यवहारले कमजोर बनाइदिन्छ। आत्मबल लिएर उचित हेरचाह गर्ने हो भने कोभिडलाइ जितिन्छ। कोभिडको बिमारीलाई हौसला दिनुहोस्।फोन,म्यासेसमा आत्मबल बढाउने कुरा गर्नुहोस् । छर– छिमेकमा सारा परिवार नै कोभिड संक्रमणमा भएर आईसोलेशनमा छन् भने आवश्यकता अनुसार,खाध्यान्न–पानी ,औषधी घरको गेट सम्म पुर्याइदिन सहयोग गर्नुहोस्। बिमारीलाई प्रशस्त घाम र हावा चाहिन्छ । बिमारीले झ्याल नै खोल्दा, बरण्डामा देख्दा मुन्टो बटार्ने, छिःछि दुरदुर गर्ने काम पटक्कै नगर्नहोस् । याद राख्नुहोस् ,तपाईलाइ छिमेकीहरु या आफन्तहरुले “हामी कोभिड पोजिटिभ छौँ” भन्नुको अर्थ तपाईहरुलाई संक्रमणबाट सुरक्षित राख्न खोज्नु हो । बिमारीहरुको हिम्मत बढाउनुको साटो छिःछि दुरदुर गरि मानसिक आघात पुग्ने गरी दुर्ब्यवहार गर्नुभयो भने अब आउने दिनमा बिमारीले “ हामी कोभिडका बिमारी हौँ ” भनेर भन्न छाड्नेछन् , कोरनाको लक्ष्यण देखिए पनी बिमारीहरु पि.सि.आर टेस्ट गर्न जाँदैनन् ।

आपतको समय छ, संक्रमणको फैलावट कम गर्न हामी सबैले सचेतना र सुरक्षात्मक उपायलाई अवंलम्वन गर्नु जरुरी छ । कोरानाले मानवको शरीरलाई केही हद सम्म हराए पनि मानवतालाई हराउन नसकोस् ।साना तिनो लापरबाहीले र सुरक्षा सतर्कता नअपनाउदाँ हामी सबैले दुःख पाईरहेको छौँ । कस्को प्रतिरक्षा प्रणाली कति बलियो छ भन्ने कुरा रोग लागे पछि मात्रै थाहा हुने हुदाँ म बलियो छु। मलाइ केहि हुँदैन भन्ने भ्रममा नपरौँ। हामी सबै जोखिमको घेरामा छौँ ।आशा गरौँ छिटै कोभिडको खोप सर्वसुलभ रुपमा उपलब्ध हुनेछ। र विश्वले यो विषम परिस्थितीबाट पार पाउने छ । अनावश्यक जोखिम र मानसिक तनाब लिनु भन्दा सुरक्षित रहौँ,सतर्क रहौँ। कोरनाले मानविय करुणा बढार्न नपाओस्।

लेखकः(अधिवक्ता प्रतिमा कार्की गुरुङ्ग)

साभार:ecnnnews

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button