साहित्यAll

मुक्तक, मुक्तक र मुक्तक

मुक्तक, मुक्तक र मुक्तक
– अमर त्यागी

१. नारी (शार्दूलविक्रीडित छन्दमा)
ज्योत्स्ना निर्झरणी तिमी हृदयकी सौन्दर्यकी सार हौ
वासन्ती रूपकी तिमी सुनयनी माधुर्यकी धार हौ
तिम्रै सुन्दर बिम्बमा अमरता झल्कन्छ यो सृष्टिको
नारी सिर्जन हौ अनन्त युगकी वात्सल्य हौ,प्यार हौ

२.आमा (शार्दूलविक्रीडित छन्दमा)
हुन्छिन् नित्य सहर्ष शान्त रूपमा कर्तव्यमा हाजिर
जस्तै दु:ख परोस् सहेर जिउँछिन् ती खोल्दिनन् बाहिर
बाँड्छिन् निश्छल मातृप्यार सबमा निस्वार्थले आखिर
आमाको दिल हुन्छ कोमल सधैं सन्तानका खातिर

३. श्रीमतीसँग (मन्दाक्रान्ता छन्दमा)
तिम्रै साँचो प्रणयसुखको पूर्णतामा म छाऊँ
तिम्रै चोखो मधुमिलनको रम्य भाका म गाऊँ
यो धर्तीमा नवनव जुनी जन्मिँदा बारबार
यौटै इच्छा छ अटल सधैं साथ तिम्रै म पाऊँ

Show More

Related Articles

Back to top button