दमौली खबर संवाददाता
दमौली, असोज ९
तनहँुको व्यास नगरपालिका–१२ स्थित मत्यकन्या आधारभूत विद्यालयका विपन्न बालबालिकालाई वायोमी ईन्टरनेशनल एनजिओले शैक्षिक सामग्री वितरण गरिएको छ ।
संस्थाले विद्यालयका १ सय ४७ जना विपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको हो । विपन्न बालबालिकालाई पठनपाठनमा सहज होस् भन्दै संस्थागत उत्तरदायित्व कार्यक्रम अन्तर्गत झोला, कापी, कलम लगायत शैक्षिक सामग्री वितरण गरिएको वायोमी ईन्टरनेशनल एनजिओका प्रमुख राजेन्द्र अधिकारीले जानकारी दिनुभयो ।
विद्यार्थीलाई शैक्षिक सामग्री व्यास नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपानेले हस्तान्तरण गरे । हस्तान्तरण गदै उनले शैक्षिक सामग्री पाएपछि आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई अध्ययन गर्न सजिलो हुने बताउनुभयो । उहाँले सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए । एनिजोका अध्यक्ष अधिकारीले न्यून आय भएका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दा अध्ययन जारी राख्न सहयोग पुग्ने भएकाले अभियानकै रुपमा यस्ता कार्यक्रम जारी रहने बताउनुभयो । नेपाल आदिवासी जनजाती जिल्ला समन्वय परिषद् तनहँुकी निर्वतमान अध्यक्ष वसुन्धरा घर्तीको सक्रियतामा उक्त शैक्षिक सामग्री वितरण गरिएको हो ।
कापी कलम र शैक्षिक सामग्रीको अभावमा विपन्न विद्यालय आउन नसक्ने बालबालिकाहरुलाई सहज हुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुक्तबहादुर भुजेलले बताउनुभयो । शैक्षिक सामग्री पाएपछि विद्यार्थीहरु नियमित विद्यालय आउने उनले बताए । कार्यक्रममा एनजियोका भावना थापा, सुरेश कासुला र भावना भुजेले मन्तव्य राख्नु भएको थियो । त्यस्तै उक्त वडामा रहेको लामीडाँडामा खानेपानीको समस्या समाधान गर्न उक्त संस्थाले झण्डै एक करोडको लगानीमा खानेपानी आयोजना समेत सञ्चालन गर्ने भएको छ । सोमबार उक्त ठाँउमा नगरपालिकाको प्राविधिक टोली सहित खानेपानी आयोजनाको लागि अध्ययन गरिएको अध्यक्ष अधिकारीले बताउनुभयो ।