दमौली खबर संवाददाता
चैत १५ तनहुँ,
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराले तनहुँको एक पालिकामा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ । भानु नगरपालिकामा पालिका स्तरीय एक दिने अन्तरक्रिया कार्याक्रम बिहीबार गरिएको हो । भानु नगरपालिका वडा न १ साल्बिस्नेमा अन्तरक्रिया कार्यक्रम गरिएको भानु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले जानकारी दिनुभयो ।
अन्तरक्रिया कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराका प्रमुख आशमान तामाङले भ्रष्ट्राचार नियन्त्रण र सुशासनमा आम नागरिकको भूमिका महत्वपूर्ण हुने जनकारी दिँदै खाएको विष मात्रै लाग्ने र नखाएको विष नलाग्ने हुँदा गलत मनशाय राखेर काम नगर्न आग्रह गर्नु भयो ।
कार्यक्रमका सहभागीहरुले बेनामी उजुरीले गल्ती नै नगरे पनि दुःख पाएको, व्यक्तिगत रिसिबीका कारण पनि अख्तियारमा उजुरी पर्ने गरेकाले हैरानी बेहोर्नु परेको, सरकारको असारे वजेटले समस्या पारेकोले आर्थिक अनियमितता हुने आशंका बढेको र अख्तियारमा उजुरी पर्ने गरेको , अख्तियारको तकेताले पालिकामा अन्य सेवाग्राहीको काममा समस्या भएको, बेरुजु रकमको बारेमा उजुरी पर्ने गरेको उल्लेख गर्नुभएको थियो भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराका प्रमुख तामाङले दुःख दिने मनशायले दिने उजुरी र बेनामी उजुरीको सन्दर्भमा आयोगको कार्यविधि शंशोधन गर्ने तयारी भैरहेको बताउनु भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखरामा गत आर्थिक वर्ष २०७९-०८० मा कास्की जिल्ला पछि तनहुँ जिल्लाका उजुरी परेको कार्यालयले जनाएको छ । कास्कीमा ५७९ उजुरी परेको छ भने तनहुँमा १७९ उजुरी परेको छ । तनहुँ जिल्लामा ब्यास नपामा सबैभन्दा धेरै २८ वटा उजुरी परेको छ भने दोस्रो पालिका भानुमा १९ वटा उजुरी परेकोमा ११ वटाको फर्सौट भएको र ८ वटा उजुरी माथि छानबिन भैरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराले जनाएको छ । यस्तै तनहुँको भिमाद नगरपालिकामा समेत पालिका स्तरीय कार्यक्रम गरिएको थियो ।