बधाई तनहुँ जलविद्युत आयोजनालाई
सम्पादकीय
सरकारी कामहरु समयमा सम्पन्न नहुने पुरानो रोग हो । समयमा काम पुरा नहुँदा योजनाहरु ऋलपत्र परेको समाचार दिनहुँ सञ्चार माध्यममा आउँछन् । अलपत्र पर्ने आयोजना मध्ये कतिपय राष्ट्रिय गौरवको समेत पर्ने गरेको छ । तर कपिपय आयोजना भने दु्रत रुपमा काम भईरहेका छन् । पछिल्लो समय दु्रत तवरबाट काम हुने मध्यमा तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत आयोजना पर्दछ । यो आयोजनाले जटिल तथा महत्वपूर्ण मानिएको मुख्य सुरुङ छेडिएको छ । तनहुँको ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५ को सीमाना भएर बग्ने सेती नदीको पानीलाई प्रयोग गरी निर्माणाधीन १४० मेगावाट जडित क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु (छिचोलिएको) पछि बधाईको पात्र बनेको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ सचिव गोपालप्रसाद सिग्देल र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आइतबार संयुक्त रुपमा स्वीच दबाएर बिस्फोट गराएपछि मुख्य सुरुङ ‘ब्रेक थ्रु’ भएको खबर जिल्लावासीले उत्साहित भएका छन् । आयोजनाको प्याकेज–२ अन्तर्गत जलाशयको मुहान (इनटेक)बाट सुरु भई पेनस्टक पाइप रहने स्थानसम्मको १४९३ मि. लामो सुरुङ ‘ब्रेक थ्रु’ छ । मुख्य सुरुङको ब्यास ७.४ मि. रहने छ । अब मुख्य सुरुङको कंक्रिट लाइनिङ गरिने छ । मुख्य सुरुङबाट गएको पानीलाई २१३ मि. लामो पेनस्टक पाइपमार्फत भूमिगत विद्युतगृहमा खसाली विद्युत् उत्पादन गरिने बताईएको छ । तनहुँबासीको सपना, राष्ट्रिय अर्थन्त्रतामा सुधार ल्याउन तथा सुख्यायाममा हुने उर्जा संकटलाई अन्त्य गर्न यो योजना कोशे ढुंगा हुने भएको सबैले योजनाको काममा बाधा पु¥याउनु हुँदैन । आयोजनाले पनि प्रभावित बासिन्दा तथा जिल्लावासीको हित धेरै हुने गरी काम गर्नु आवश्यक छ ।