Allसाहित्य

निष्ठा, राजनीति र लज्जा•

वासुदेव पाण्डेय

सोझा छन् जनता सदैव रिझिने गर्दा मिठो भाषण
सम्झन्छन् मत-दान धर्म तिनले फेरिन्छ यो शासन।
पाई बोत्तल झोल खोल तनको मिल्दैन यो भन्छ को
ल्याई एक बिटो दिएपछि छिटो सिद्धान्त सम्झन्छ को।।
•१•
जानी साम र दाम,दण्ड दलका खुट्याउँछन् भेद जो
खोक्रो भाषण गर्न माहिर भए नेता हुने देशको ।
पैसा वा छलछामबाट जितिने हाम्रो चुनावी रण
केका-निम्ति विकास गर्नु जन-ता चिन्दैन नेतागण।।
•२•
सत्तासीन छु शक्ति,भक्ति,गरिमा,ऐश्वर्यको के कमी
मिल्नासाथ विदेश पुग्छु सजिलै फर्कन्छु घुम्दै रमी।
आफ्नै हात छ डाडुपन्यु कसले रोक्थ्यो मलाई बरा
बिर्सेँ गाउँ जिती चुनाव कसले सम्झोस् कुनाकन्दरा।।
•३•
पाएको पद शक्तिबाट ढुकुटी लुट्दै म मस्ती गरूँ
मौकामा नचुकूँ सके जति लुटी भण्डार आफ्नो भरूँ।।
अर्को चोटि चुनावको भर छ के मिल्ला नमिल्ला पद
चिन्ता छैन कुकार्यले जति घटोस् आफ्नै प्रतिष्ठा कद।।
•४•
छन् आफ्नै दल वर्ग वा गुटहरू झोले प्रवक्ता निजी
पार्टीको रङ छ्यापिएर जनता घुम्छन् रमाई भिजी।
सत्ता, शक्ति रहेछ देश, जनता केही नदेख्ने नशा
मानूँ स्वस्तिक छाप लज्जित भयो देखी सबै दुर्दशा।।
•५•

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button