दमौली खबर संवाददाता
दमौली, असोज ७
आर्थिक मन्दीले पर्यटन व्यवसाय धरासायी बनेपनि तनहुँका एक युवा व्यवसायीले रिर्सोटमा लगानी गर्नु भएको छ । सदरमुकाम दमौली निवासी युवा व्यवसायी तुलसीराम पाण्डेले मानुङकोट रिर्सोट प्रा.लि. सञ्चालन गर्नु भएको हो । कम्प्युटर व्यवसायबाट व्यवसाय शुरु गर्नुभएका पाण्डेले व्यास नगरपालिका–१ तालघ।रेमा थकाली भान्छा घर पछि यो रिर्सोट संचालन गर्नु भएको हो । पाण्डेले व्यास नगरपालिका–५ सिर्दीमा रु.१० करोडको लगानीमा रिर्सोट सञ्चालन गर्नु भएको हो । रिर्सोटको शुक्रबार पूर्व गृहमन्त्री एवं गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् ।
रिसोर्टको उद्घाटन गर्दै निवर्तमान मुख्यमन्त्री अधिकारीले रिर्सोटले एउटा महत्पूर्ण आयाम थपेको बताउनुभयो । यस्ता रिर्सोटले मानुङकोटको पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने विश्वास उहाँले गर्नुभयो । देशमा आर्थिक मन्दी छाईरहेको बेला व्यवसायी पाण्डेले संचालनमा ल्याएको रिर्सोटले युवाहरुलाई रोजगारीको अवसरका साथै पर्यटन प्रर्वद्धनमा टेवा पुग्ने अधिकारीको भनाई थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय तनहूँका प्रमुख एसपि अवदेश बिष्ट, म्याग्दे गाउँपालिकाका प्रमुख श्रीप्रसाद श्रेष्ठ, व्यास ५ का अध्यक्ष बिष्णुकुमार श्रेष्ठ हिमाल, उद्योग वाणिज्य संघ तनहूँका उपाध्यक्ष ईम कुमार मल्ल, पत्रकार महासंघ तनहूँका अध्यक्ष उज्ज्वल पौडेल लगायतका वक्ताहरुले आफ्नो मन्तव्य राख्नु भएको थियो । १७ रोपनी जग्गामा संचालनमा ल्याइएको उक्त रिर्सोटमा प्रत्येक कोठामा एसिको सुविधा, र प्रत्येक कोठाबाट बाहिरको मनोरम दृश्यहरु देख्न सकिनेछ । आर्कषक बरण्डा,पार्टीको लागि हलको व्यवस्था गरिएको उद्घाटन कार्यक्रममा जानकारी दिईएको थियो ।