Uncategorized

निउरो बेचेर पढाई खर्च

 

सविन लामिछाने,

फागुन ३०, दमौली

तनहँुको व्यास नगरपालिका वडा नं १२ का १२ वर्षीय सन्देश परियार शनिबारको दिनमा व्यास १३ स्थित छाब्दी बाराही मन्दिर परिसरमा बसेर ३० मुठा निउरो बेचे । प्रतिमुठा ३० रुपैयाँका दरले ९ सय रुपैयाँ कमाएका उनले उक्त रुपैयाँले कापी र कलम किनेर लैजाने बताए ।

मत्स्यकन्या आधारभुत विद्यालयमा कक्षा ५ मा पढ्दै गरेका सन्देशले प्रत्येक हप्ताको शनिबार निउरो बेच्ने गर्दछन् । , निउरो नपाउने समयमा अम्बा, साग लगायतका फलफूल तथा तरकारी बेच्ने गरेको बताए । उनी शुक्रबार घरछेउमा रहेको जङ्गलमा निउरो तथा साग सङ्कलन गर्ने र शनिबार बिहान छाब्दी मन्दिर परिसरमा बसी बेच्ने अनि बेलुका घरै फर्कने गरेको बताउँछन् ।आफूलाई चाहिने किताब कापी, कलम किनिसकेपछि विद्यालयमा चाहिने खाजाखर्च छुट्याउने र पैसा बाँकी रह्यो भने घरमा चाहिने नुन, तेल, मसला पनि किनेर लैजाने सन्देश बताउँछन् । उनको हरेक शनिबार यसरी नै बित्ने गरेको छ । उनले वर्षैभरी जङ्गलमा फल्ने, उम्रने निउरो, च्याउदेखि सिस्नुसम्म ल्याएर मन्दिरको परिसरमा बसी बेच्ने गर्छन् ।

सन्देशले भने, ‘घरमा कमाइ राम्रो छैन, आफ्नो खर्च आफंै कमाउनुपर्छ, यत्ति दुःख नगरे त स्कुल जान पाइदैंन ।’सन्देश जस्तै १३ वर्षीय बालिका रोजिना नेपाली पनि कक्षा ५ मा पढ्छिन् । उनले पनि प्रत्येक शनिबार मन्दिर अगाडीको गेटमा निउरो ल्याएर बेच्ने गरेकी छिन् । शनिबार पनि उने आफूले बोक्नसक्ने ३४ मुठा निउरो ल्याएर डेढ घन्टामै बेचिन् । उनले भनिन्, अब यो पैसाले घरमा आमालाई दिन्छु , अनि आफुलाई चाहिने कापी पनि किन्छु अनि भोलि स्कुल जान्छु ।”सन्देश र रोजिना जस्तै पढ्दै गरेका बालबालिका व्यापारिको रुपमा निक्कै आउने गर्छन् । घरमा बुबाआमाको आयस्रोत राम्रो नभएपछि पढाइखर्च जुटाउन अहिले ती बालबालिका मन्दिरमा तरकारी लगायत अन्य फलफुलको लागि शनिबार कुरिरहेका हुन्छन् । धेरै बालबालिका बिदाको दिनमा विभिन्न ठाँउमा घुम्न र रमाईलो गर्न जाने गर्छन् तर यी बालबालिका भने पढाइखर्चकै जोहो गर्न मेहेनत गरिरहेका छन् । रोजिनाकी आमा लक्ष्मी नेपालीले छोरीको कमाईले परिवारको जीविकोपार्जनका लागि र उनको पढाईको लागि केही सहज हुने गरेको बताईन् ।

उनले भनिन, ‘सरकारले निःशुल्क पढाइ अभियान भनेर के गर्नु, ? स्कुलले खै के के शुल्क भनेर पैसा लिइहाल्छ ।’ उनले प्रश्न गरिन् ‘निःशुल्क भर्ना गर्छु भन्नेले कापी कलम पनि सित्तैमा दिनुपर्दैन ? अनि पो सबै बच्चा स्कुल जान पाउँछन् ।’ पढाइखर्च जुटाउन नसक्दा अधिकांश बालबालिका सानैमा विद्यालय छाडेर अन्य काम गर्ने गरेका छन् । मत्स्यकन्या आधारभुत विद्यालयमा अध्ययन गर्ने अधिकांश विद्यार्थी भुजेल र दलित समुदायका छन्। देशलाई नै पूर्ण साक्षर बनाउने दौडमा लागेको सरकारले भर्ना अभियान चलाइरहँदा कापी कलमको खर्च पनि निःशुल्क गरिदिनुपर्ने अभिभावकको माग छ ।

Show More

Related Articles

Back to top button