दमौली खबर संवाददाता
तनहुँ, माघ १२ गते
तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटार स्थित तनहुँ जलविद्युत आयोजनाको सामाजिक विकास कार्यक्रम अन्तर्गत प्रभावित क्षेत्रमा विद्यालय भवन निर्माण सुरु गरिएको छ ।
व्यास नगरपालिका–५ बेनीपाटनमा पराशर माध्यामिक विद्यालयको दुई तले आठ कोठा भएको भवन आयोजनाले आफ्नो खर्चमा निर्माण सुरु गरिएको हो । व्यास नगरपालिकाले उपलब्ध गराएको जग्गामा विद्यालयले भवन बनाउन सुरु गरिएको छ । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठनाथ न्यौपानेले बिहीबार श्रीपञ्चमीको दिन भवनको शिलान्यास गर्नु भएको छ । सो अवसरमा न्यौपाने नयाँ भवनले पाटन क्षेत्रको पिछडिएका आदिवासी वर्ग तथा जनजातिका बालबालिकाहरुलाई गुणस्तरीय शिक्षाबाट लाभान्वित हुन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
भवन निर्माणका लागि आयोजना र निर्माण व्यवसायी ऐञ्जल पारस जेभीबीच १ करोड ३८ लाख २४ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । उक्त ठेक्का सम्झौता गत २५ पुसबाट कार्यान्वयनमा आएको छ । विद्यालय भवनको निर्माण १८ महिनाभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको विद्यालयका प्रधानाध्यापक रामदक्त पौडेलले जानकारी दिनुभयो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उषा क्षेत्रीको अध्यक्षतामा भएको थियो ।




