साहित्यAll

गाउँ पसेको खोला

गाउँ पसेको खोला
भोजराज न्यौपाने

गाउँमा खोला पसेपछि
के बाँकी हुदो रहेछ र बगाउन ?
गोठमा बाँधिएका गाईभैंसीं
खोरमा थुनिएका बाख्रापाठा र कुखुरा
पिंढीमा राखिएको
खाट,ढिकी, जाँतो सबै बगायो ।
घरछेउको परालको माच
धनसारमा राखेको दाउराको हार
बर्खामा खेत रोप्दा ओड्ने घुम
तरकारीबारीमा पानी हाल्ने हरियो पाइप
बारीमा पस्ने बेला लगाउन गमबुट
हेर्दाहेर्दै बग्दैगयो खहरेसंगै ।
स्कुलबाट घर फर्केर लुगा फेर्दैथिई नातिनी
तीन दिन अघि जन्मिएको
नातिलाई तेल घस्दै थिइन हजुरआमा
सुत्केरी भएर आराम गरिरहेकी थिइन बुहारी
कोहीपनि थेगिन सकेनन् घरमा
घरभित्रै खोला पसेपछि
कसरी जोगिन सकिने रहेछ र ?
एकैछिन अघिमात्र विसाएको डोकोमैं थियो घाँस
एकैछिन अघिमात्र दुहेर ल्याएको बाल्टिनमैं थियो दुध
अचानक आएको बाढीमा
घाँस मिसियो
दुध मिसियो
वस्तुभाउ मिसिए
हेर्दाहेर्दै
नाति, नातिनी,हजुरआमा , बुहारी सवै मिसिए
हजुरआमाले पालेका मौरीका घार मिसिए
बुहारीको पेवामा आएका भाँडाकुँडा मिसिए
ऐना, टिका र सिन्दुर मिसिए
मुलढोका माथि टाँगिएको हजुरबाको पल्टने तस्बिर मिसियो
सम्झनाका सवै तरेलीहरु
बगाउँदै बगाउँदै एकैपटक हुत्यायो भेलमा
गाउँमा खोला पसेपछि
के बाँकी हुने रहेछ र बगाउन ?
भर्खरै फुल्दै फर्किंदै जस्ता लाग्ने
नानीहरु बगायो
जीवनका असहजतामा हाँस्न सिकाउने आमाहरु बगायो
प्रेमी बगायो
प्रेमिका बगायो
घरखेत बगायो, आफन्त बगायो
सपना बगायो , परिवार बगायो
बगाउँदा बगाउँदै रित्याउन नसकेको आँशु बगायो
साँच्चै
के बाँकी हुने रहेछ र बगाउन
गाउँमा खोला पसेपछि ।

Show More

Related Articles

Back to top button