समाचारस्वास्थ्य

गर्भवती महिलालाई घरदैलोमै भिडियो एक्सरे सेवा

दमौली खबर संवाददाता

तनहुँको शुक्लागण्डकी नगरपालिकाले गर्भवती महिलाहरुका लागि गाउँमै पुगेर निशुल्क भिडियो एक्सरे (अल्ट्रासाउण्ड) तथा पाठेघरको जाँच सेवा प्रदान गरिहेको छ । गर्भमा रहेको शिशु र आमाको स्वास्थ्य सुरक्षाको लागि सो सुविधा प्रदान गरिएको नगरपालिकाले जनाएको छ । ग्रामिण क्षेत्रमा मातृ तथा नवजात शिशु मृत्यु दर शून्यमा झार्नको लागि गाउँमा सेवा प्रदान गरिएको नगरप्रमुख कृष्णराज पण्डितले बताउनुभयो ।

नगरपालिकाका अनुसार टाढाको ग्रामीण क्षेत्रबाट सहर क्षेत्रको अस्पतालमा गर्भवती महिलालाई आउन कठिन हुने भएकाले घरदैलोमा नै पुगेर सेवा प्रदान भईरहेको छ । नगरपालिको आर्थिक बर्ष २०८०-०८१ को नीति तथा कार्यक्रम अन्तर्गत वडा–वडामा स्वास्थ्यकर्मी परिचालन गरेर गर्भवती महिलाहरुको भिडियो ऐक्सरे एवं पाठेघरको क्यान्सरको प्रारम्भिक जाँच गरिएको स्वास्थ्य शाखाका प्रमुख डिबी थापा मगरले बताउनुभयो ।

थापाका अनुसार हालसम्म भिडियो एक्सरे सेवा ४३ जनाले लिएका छन् भने एक जनामा समस्या देखिएकाले थप उपचारका लागि रिफर गरिएको छ । त्यस्तै, पाठेघरको प्रारम्भिक जाँच २७४ जनाले गराएकोमा ६ जनालाई थप चेकजाचको लागि रिफर गरिएको छ । सम्भावित पाठेघर क्यान्सरको बेलैमा अवस्था पत्ता लगाई यथाशक्य चाँडो उपचारका लागि भिआइए जाँच प्रभावकारी देखिएकोले गाउँमै सुविधा प्रदान गरिएको हो । कार्यक्रम अन्तर्गत आगामी चैत्र २६ गते वडा नं–१० मा रहेको ज्याङलादी शहरी स्वास्थ्य सेवा केन्द्रमा पाठेघरको मुखको क्यान्सर ( भिआइए ) जाँच गरिने भएको ।

तालिका नै बनाएर पालिकाका १२ वटै वडामा नियमित रुपमा सेवा सञ्चालन गर्ने योजना बनाईएको उहाँले जानकारी दिनुभयो । यसअघि नगरपालिकाका महिलालाई बेलचौतारा स्थित जिपी कोइराला श्वास प्रश्वास उपचार केन्द्रमा मात्रै ‘भिडियो एक्स–रे’ सेवा प्रदान हुँदै आएको थियो । थापाले भन्नुभयो । ‘सरकारीबाट जीपी र निजीबाट दुलेगौंडा स्थित तनहुँ सेवा हस्पिटलबाट सेवा पाईने र कतिपय पोखरा सम्म धाउनु पर्ने बाध्यता भएकोले ग्रामिण क्षेत्रमै सेवा प्रदान गर्न थालेका हौं ।’

गाउँघरमा यो सेवा नहुँदा यहाँका महिलाहरुलाई निकै समय र पैसा खर्च गरेर गर्भ जाँच गराउन बेलचौतारा, दुलेगौंडा, पोखराका अस्पतालमा जानुपर्ने बाध्यता थियो । घरदेलौमा सेवाका लागि नगरपालकाले स्वास्थ्य शाखा प्रमुख डिबी थापा मगर, जनस्वास्थ्य निरीक्षक नवराज गौतम, तालिम प्राप्त सिनियर अनमी शिवकुमारी महत, सिनियर अनमी निरीक्षक लक्ष्मी सिग्देललाई जिम्मेवारी दिएको  छ ।

Show More

Related Articles

Back to top button