प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीले भ्रष्ट्राचारीलाई संरक्षण गरेको कांग्रेस नेता भट्टईको आरोप
दमौली खबर संवाददाता
तनहुँ, चैत २६
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओलीले भ्रष्टाचारीलाई संरक्षण गरेको आरोप लगाउनु भएको छ । तनहुँको व्यास–१३ कुकुरढुंगामा छापडाँडा बेनीकोट भञ्ज्याङ महिला कृषि समूहको भवन शिलान्यास गर्दै कांग्रेस केन्द्रीय सदस्य भट्टराईले सो आरोप लगाउनु भएको हो । उनिहरु आफ्नो पार्टीका भ्रष्ट्रनेताहरुको साथसाथै रास्वपाका नेताहरुलाई जोगाउन लागेको भट्टराईको भनाई थियो । ‘अपराधीले नै अनुसन्धान गर्छु भन्नु कत्तिको सहि छ ? भन्दै भट्टराईले प्रश्न गर्नुभयो ।
रास्वपा सभापति रवि लामिछानेसँगै उपसभापति डीपी अर्याल र सहमहामन्त्री कविन्द्र बुर्लाकोटीमाथि समेत सहकारी ठगीको आरोप लागेको भन्दै भट्टराईले उनीहरुमाथि अनुसन्धान हुनुपर्नेमा प्रधानमन्त्री र एमाले अध्यक्षले संरक्षण गरेको दाबी गर्नुभयो । मन्त्री पदमा रहँदा आरोप लागेका कांग्रेसका मन्त्रीहरु अदालत तथा अख्तियार गएका र राजीनामा समेत दिए पनि सहकारी ठगीको अभियोग लागेका रास्वपा सभापति लामिछाने भने अरुको अनुसन्धान गर्छु भनेको टिप्पणी भट्टराईको थियो ।
हाम्रा मन्त्रीहरु त अभियोग लाग्दा अदालत गए, अख्तियार गए राजीनामा पनि गरे,’ उहाँले भन्नुभयो,‘मन्त्री बन्नु पहिल्यै आरोप लागेका रास्वपा सभापति लामीछाने अरुको अनुसन्धान गर्छु भन्छन् ।’ कांग्रेस नेता भट्टराईले आफू पहिले पनि विकासका लागि सक्रिय रहेको र अब पनि त्यसमा कमी आउन नदिने भन्दै चुनावमा हारेकाले के गरे र जितेको के गरे मूल्यांकन गर्दा अर्को चुनावमा सजिलो हुने टिप्पणी गर्नुभयो । भवनका लागि भट्टराईको पहलमा बजेट निकासा भएको स्थानीय ईश्वर पन्थले जानकारी दिनुभयो ।



