कविता
म गाउँ गएको थिए
दमौली खबर संवाददाता
व्यास – ७, तनहुँ
वरपिपल चौतारी थियो ।
सिरसिर बतास शितलता थियो ।
तर शितल ताप्दिनेहरु थिएनन् ।
चौतारीमा ठुलो छपनी थियो ।
बाघचाल खेल्ने डोबहरु थिए ।
तर बाघचाल खेल्नेहरु थिएनन् ।
पोखरी थियो । आहालहरु सुकेका थिए ।
गोठ अनि धन्सारहरु थिए ।
तर गजुवागाई,जोवान गोरु,टेणिभैंसी र भोटे कुकुरहरु थिएनन् ।
गजिमणको तेर्सिएको हागामा लिङ्गेपिङ् हाल्ने डोब थियो ।
धमिराले मक्किएका रोटेपिङका खावाहरु थिए ।
तर पिङ हाल्नेहरु कोहि थिएनन् ।
हो म गाउँ गएको थिए ।
काउरो र पाखुरीका रुखहरु थिए ।
जङ्गलको चिलाउनेको रुख जस्तो काटछाट थिएन ।
सजिवन र सिउडीका वोटहरु थिए ।
तर बारहरु थिएनन् ।
खेतहरु थिए, बारीहरु थिए ।
तर उब्जाउ थिएनन् ।
गाउँ थियो । तर गाउँको सास थिएन ।
हो म गाउँ गएको थिए ।
-वंश सुदीप
