समाचार

मफलर : जाडोमा सुरक्षा सँगै फेसन पनि

मध्य पुसको जाडो। दमौलीको मिनि मार्केटको एक पसलमा भेटिइन्, गुणादीकी सिर्जना वाग्ले। उनी आफ्नो लागि केही न्यानो कपडा खरिद गर्न त्यहाँ आएकी थिइन्। उनको रोजाइ र प्राथमिकतामा अन्य सामग्रीसँगै मफलर पनि थियो। ‘दिदी मलाई मफलर देखाउनुस् न, लगाउँदा राम्रो पनि देखियोस्, र न्यानो पनि होस्,’ उनले पसल सञ्चालकलाई भनिन्।

सिर्जना एउटी साथी लिएर त्यहाँ पुगेकी थिइन्। तर, भनेजस्तो मफलर नपाएपछि उनीहरु त्यहाँबाट बाहिरिए। चिसो बढ्दै जाँदा मफलरको माग बढेको कपडा व्यवसायी सबि सिग्देल घिमिरेले बताइन्। उनी भन्छिन्, ‘एकदिनमा तीन वटासम्म मफलर बिक्री हुन्छ, अघिल्ला वर्षहरुमा यो धेरै व्यापार हुन्थ्यो, अहिले ठिकै छ।’ दिन–प्रतिदिन चिसो बढ्दै छ। न्यानो कपडाको खरिद–बिक्री पनि निकै बढेको व्यापारीहरु बताउँछन्। न्याना कपडामध्ये अहिले युवायुवतीबीच निकै लोकप्रिय मानिन्छ मफलर। तातोका लागि होस् वा फेसनका लागि मफलर अधिकांश युवाले काँधमा भिरेकै हुन्छन्। यति मात्र होइन, दमौलीका केही व्यापारी त आफु पनि प्रयोग गर्छन्। ‘यो जाडो छेक्ने कपडा मात्रै होइन, स्टाइल पनि हो,’ उनीहरु भन्छन्। सफासडकका व्यापारी दिपक बञ्जारा भन्छन्, ‘अहिले मफलरको लोकप्रियता बढेको छ, व्यापारमा पनि औसत छ। उनका अनुसार ग्राहकहरु मफलर किन्न आउँछन्, उनीहरु राम्रो खोज्छन्, त्यसका साथसाथै सस्तो पनि। त्यसैले अहिले उनले सीमित संख्यामा गुणस्तरीय मफलर राख्ने गरेका छन्।

पछिल्लो समय मानिसहरुमा फेसनप्रतिको चासो र आकर्षण पनि बढ्दो छ। सौन्दर्य चेतनामा बढ्दो लहर र फेसनप्रतिको मोहले पनि मफलरलाई आकर्षक पहिरनको रुपमा दिन थालिएको छ।

सफासडकमा रहेको भीम फेन्सी पसलकी सञ्चालक चन्द्रमाया श्रेष्ठले पनि अहिले जाडोको कपडासँगै मफलरको बिक्री गरिरहेकी छिन्। ‘ग्राहकहरुको माग राम्रो छ, मफलरको बिक्री माग जाडोसँगै बढेको छ।’ उनले अघि भनिन्, ‘आफुलाई चिसोबाट जोगाउन अरु न्यानो लुगा लगाएपनि घाँटीबाट बढी चिसो लाग्ने भएकाले मफलर सबैको रोजाई बनेको हो ।’ तर, अरु लुगाको तुलनामा मफलरको मूल्य भएको उनी बताउँछिन्। बजारमा मफलरको मूल्य दुई सय ५० देखि दुई हजार रुपैयाँसम्म पर्ने व्यापारीहरु बताउँछन्। ग्राहकहरुमा सबैभन्दा बढी विद्यार्थीहरु रहेको याख्खा बताउँछिन्।

चिसोमा मानिसहरुलाई राम्रो देखिनुपर्ने र न्यानो पनि चाहिने। तर, राम्रो हुने बहानामा सबैले आफ्नो स्वास्थ्यको ख्याल गर्नु पर्ने उनको धारणा छ । पसलमा मफलर किन्न आएकी सिरिया थापाले केही वर्षयता बजारमा न्यानो र स्टाइलिस मफलरहरु पाइन थालेको बताइन्। उनी भन्छिन्, ‘तर, म आफूलाई न्यानो हुने मफलर मात्र प्रयोग गर्छु।’

Show More

Related Articles

Back to top button