समाचारAll

पालिकाले भ्रमणको व्यवस्था गरेपछि जेष्ठ नागरिक खुसी

दमौली खबर संवाददाता

दमौली, फागुन ६

बुढेसकालमा जेष्ठ नागरिकहरुलाई धार्मिक तिर्थस्थलमा पुग्ने रहर हुन्छ । कतिपय जेष्ठ नागरिकहरु धन नभएर तिर्थ गर्न पाएका हुँदैनन् भने कतिपय घुमाउन लैजाने नहुँदा रहरलाई खुम्चाएर बस्न बाध्य हुन्छन् । तर तनहुँको आँबुखैरेनी गाउँपालिकाका जेष्ठ नागरिकहरु पालिकाकै खर्च तिर्थस्थल तथा मनोरम स्थलहरुको भ्रमण गर्न पाएका छन् । पालिकाले आरामदायिक बस र स्वास्थ्यकर्मी सहित तिर्थटानको व्यवस्था गरिदिए पछि जेष्ठ नागरिक खुसी भएका छन् ।

आँबुखैरेनी गाउँपालिका–१ की आइतीमाया गुरुङले पशुपति नाथ लगायतको धार्मिक स्थल घुम्न पाउँदा निकै खुसी लागेको बताउनुभयो । स्वास्थ्यकर्मी सहित खान र बस्नको लागि पनि राम्रो सुविधा पाएकोले भ्रमण सजिलो भएको गुरुङले बताउनुभयो । ‘‘भ्रमण गर्न पाउँदा सुख र दुःखमा स्थानीय सरकार छ भन्ने महशुस भएको छ’’ गुरुङले भन्नुभयो । वडा नम्बर २ निवासी मनमाया गुरुङले परिवारमा घुमाउने मान्छे नहुँदा तिर्थ जान नपाएको र पालिकाले व्यवस्था गरिदिँदा खुसी लागेको बताउनुभयो । भ्रमणमा सामेल हुनु भएका इन्द्र खनालले जेष्ठ नागरिक प्रति जनप्रतिनिधीको ध्यान गएको छ भन्ने महशुस गरेको बताउनुभयो । पालिकाले बिहीबार देखि काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका मूख्य धार्मिक स्थलहरु दुई दिने भ्रमण गराईरहेको छ ।

एक रात बास बस्ने गरी खाना, बस्न, आवतजावत सबै खर्च पालिकाले गर्ने गरी भ्रमणको लागि पाँच लाख रुपियाँ विनियोजन गरिएको प्रवक्ता तथा वडा नम्बर १ को वडाध्यक्ष प्रेमबहादुर गुरुङले जानकारी दिनुभयो । पशुपतिनाथ, बुढालिनकण्ड, दक्षिणकाली, नारायणहिटी राजदरबार लगायतको स्थानको भ्रमण तथा दर्शन गर्न पाउँदा जेष्ठ नागरिक खुसी भएको प्रवक्ता गुरुङले बताउनुभयो । जेष्ठ नागरिक विरामी पर्न सक्ने हुँदा स्वास्थ्यकर्मीको व्यवस्था मिलाईएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको उपाध्यक्ष दुर्गा अर्यालको नेतृत्वमा भ्रमण गराईएको छ । भ्रमणमा ६४ जना जेष्ठ नागरिक रहेका र आगामी वर्ष पनि यस्ता कार्यक्रम समावेश गरिने उपाध्यक्ष अर्यालले बताउनुभयो । टोली भ्रमण पुरा गरि शुक्रबार साँझ घर फर्किसकेको उहाँले जानकारी दिनुभयो ।

Show More

Related Articles

Back to top button