हेडलाईनसमाचार

तनहुँले पायो श्रममन्त्री तर वैदेशिक रोजगारीमा तनहुँमै दुई करोड बढीको ठगी उजुरी

धन कमाउने सपना देखेर वैदेशिक रोजगारमा जाने तनहुँका केही युवाहरु कमाउनु त परको कुरा रोजगारीमा जान ऋण काटेको व्याज समेत तिर्न नसकेर तनावमा छन् । विभिन्न म्यानपावर र एजेन्टबाट प्रक्रिया थालनी गरेको एक वर्ष सम्म पनि जान नपाएकाले ती युवाहरु तनावमा परेका हुन् ।

तनहँुमा ठगिने क्रम बढ्दै गईरहेको पाईएको तथ्याङ्बाट देखिएको छ । यद्यमी सरकारले भने वैदेशिक रोजगारीलाई सुरक्षित तथा व्यवस्थित बनाउन विभिन्न परियोजना मार्फत कार्यक्रम गरिरहेको छ । तथापी बैदेशिक रोजगार पीडितहरुको समस्या भने झन् झन् बढ्दो छ । तनहुँ जिल्लामा मात्रै दुई करोड २० लाख भन्दा बढी ठगिएको उजुरी पीडितले दिएका छन् । जापान पठाईदिन्छु भनेर सात लाख रुपियाँ ठगिएको बन्दीपुर गाउँपालिका–१ की मनु गुरुङ बताउनुभयो । “पैसा नपठाई भिसाा आउँदैन भनेर चितवनका एजेन्टलाई पैसा दिएँ रकम दिएपछि सम्पर्क नै गरेनन् बल्ल ठगिएको थाहा पाएँ”, गुरुङले भन्नुभयो ।

गुरुङ जस्तै ठगिनु भएका भानु नगरपालिका–१३ का गोविन्द बानियाँ तनावमा हुनुहुन्छ । पोखराका एजेन्टले छोरा सुरेश बानियाँलाई फ्रान्सको लाहुरे बनाईदिन्छु भनेर झुक्काएर एक वर्ष अघि दिएको रु ८ लाख फिर्ता नगरेको उहाँले बताउनुभयो । ‘‘रकम लिन जाँदा उल्टै थर्काउने, धम्काउने गरे, हाल मोबाईल पनि अफ छ पोखरामा कार्यालय पनि छैन, भेट नै हुँदैन’’, बानियाँले भन्नुभयो । रकम फिर्ता लिनको लागि जिल्ला प्रशासनमा निवेदन दिएको उहाँले बताउनुभयो । ‘‘एजेन्टलाई दिँदा लिएको ऋण तिर्न नसक्दा दमौलीमा बनाएको घर बेचेर गाउँमा फर्किएको छुु, एजेन्टको विश्वासमा पर्दा यो दुःख पाईयो’’, बानियाँले भन्नुभयो ।

सुरक्षित आप्रावासन सूचना तथा परामर्श केन्द्र दमौलीमा गाउँघरकै दलाल, सदरमुकाम र सहरका वैदेशिक रोजगार व्यवसायी कम्पनीबाट ठगिएको भन्दै उजुरी दिनेको सङ्ख्या बढेको हो । ३९ जनाले २ करोड २० लाख भन्दा धेरै ठगिएको भन्दै निवेदन दिएको केन्द्रकी परामर्शदाता गोमा तिवारीले जानकारी दिनुभयो । गत मङ्सीर देखि केन्द्र सञ्चालन गरिएपछि केन्द्रले बैदेशिक रोजगारीको क्रममा ठगीमा पर्ने, झुठो आश्वासन दिने, कबुल गरे भन्दा फरक काम तथा फरक सेवा र सुविधा उपलब्ध हुने जस्ताको सम्बन्धमा केन्द्रले परामर्श दिँदै आएको छ । वैदेशिक रोजगारीमा ठगिएको भनेर उजुरी दिएका मध्ये थोरैको मात्रै असुल गर्न सकिएको उहाँले जानकारी दिनुभयो ।

उजुरी आएका मध्ये १० लाख ५० हजार रुपियाँ उठाउन सकिएको र थप रकम उठाउन ठगी गर्नेको पहिचान गरी ताकेता भईरहेको तिवारी बताउनुहुन्छ । रकम दिएपछि सम्पर्क बिहीन भएका, अर्कैको नाउँमा रकम पठाउने जस्ता कारणले रकम उठाउन मुस्किल हुने गरेको उहाँ बताउनुहुन्छ । धेरै विश्वास गर्ने गरिवी, अशिक्षा, छिटो गए धेरै पैसा कमाइन्छ भन्ने आश गर्ने जस्ता कारणले ठगिनेहरु बढ्न पुगेको केन्द्रले जनाएको छ । ‘‘धेरै जसो नचिनेको व्यक्ति नाम, थर र ठेगाना नखुलेकोलाई नगद दिएको भनेर आउँछन् रुन्छन्, त्यस्तो अवस्थामा प्रमाण नहुँदा असुल गर्न कठिन भएको छ’’, तिवारीले भन्नुभयो । सरकारले जिल्लामा रहेका एजेन्टलाई हटाएको भएपनि तीबाट ठगिने क्रममा भने रोक्न सकिएको छैन ।

तिवारीका अनुसार २० हजार देखि १८ लाख रुपियाँसम्म ठगिएको भन्दै आएको छ । १८ लाख ठगिएको भनि ४ चार जनाले उजुरी दिनु भएको छ । धेरै रकम ठगिनेमा अमेरिका, अष्ट्रेलिया, फ्रान्स, जापान लगायतका विकसित देशमा राम्रो जागिर पाइन्छ भनेर विश्वास गर्नेहरु रहेको केन्द्रले जनाएको छ । ‘‘ धेरै जसो ठुला रकम ठगिएको गुनासो आएको छ”, सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो । ‘‘४०, ४५ लाख रुपियाँ ठगियौं समाउनु प¥यो भन्नुहुन्छ, तर रकम दिएको प्रमाण ल्याउनु हुन्न यसले गर्दा समस्या भएको छ’’, सहायक प्रजिअ बरालले भन्नुभयो ।

ठगिको उजुरी बढेकाले पासर्पोट बनाउने क्रममा नै सुरक्षित आप्रावासन सूचना तथा परामर्श केन्दबाट सचेत पार्ने गरिएको बरालले जानकारी दिनुभयो । ठगीएको भनेर परेको निवेदन अनुसार मान्छे उपस्थित गराउने रकम फिर्ता गराउने गरिएको र कतिपयलाई कानुनी कारवाहीको लागि वैदेशिक रोजगार विभागमा विवरण पठाउने गरिएको बरालले बताउनुुभयो । आईएमीबाट, चेकबाट, बिल काटेर दिईएकाको भने रकम उठिरहेको सहायक प्रजिअ बरालले जानकारी दिनुभयो । वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित, मर्यादित, उपलब्धी मुलक एवं शोषण रहित बनाउन सुरक्षित आप्रवासन परियोजना (सामी) परामर्श दिने गरेको हो । जिल्ला प्रशासन कार्यालय परिशरमै परामर्श केन्द्र सञ्चालन गरिएको छ । जिल्ला प्रशासन कार्यालय परिशरमै परामर्श केन्द्र सञ्चालन गरिएको छ ।

स्वेदशमै युवा भुलाउन सकेनन् स्थानीय सरकार

युवाहरुलाई स्वदेशमै रोजगारी दिने योजना स्थानीय सरकारले बनाउन सकेका छैनन् । सहायक प्रजिअ बरालले बाटोघाटो बनाउने डोजरे विकासमा मात्रै ध्यान गएकाले युवाहरु बैदेशिक रोजगारीमा जान बाध्य भएको बताउनुहुन्छ । ‘दैनिक ४० देखि ५० जना पासपोर्ट बनाउन आउँछन् उनिहरुको मूख्य चाहाना भनेको विदेश गएर धन कमाउने हुन्छ’’ बरालले भन्नुभयो ।

Show More

Related Articles

Back to top button