समाचार

किसान खेतबारीमै व्यस्त

सविन लामिछाने

दमौली,

किसानहरु यतिखेर जेठ–असारमा लगाएको बाली भित्रयाउने चटारोमा छन् । कोही खेतमा धान काटिरहेका देखिन्छन्, कतिले धान भित्राएर गहुँ छरिसकेका छन् । वर्षाले साथ दिएपछि यो वर्ष चाँडै रोपाइँ भएको थियो । अधिकांश किसानले तीनबाली हुने खेतको धान त दशैँ अगावै भित्राइसकेका थिए । ती खेतमा छिटो पाक्ने धान लगाइन्छ । दुई बालीको खेतमा भने अलि ढिलो गरी धान पाक्छ ।

यसपालि चाडबाड पछि सरेकाले कामको मेसो पनि सँगसँगै पर्न गएको किसानहरु बताउँछन् । धानमा टप ड्रेसिङ्ग गर्ने बेलामा यूरिया मल पाइएन । धान फल्दैन की भन्ने चिन्ता किसानलाई थियो । अनुदानको रासायनिक मल पाइएन । तर, किसानले बजारबाट महंगोमा मल किनेर छर्नुप¥यो । धानले राम्रै फसल दियो । अहिले किसानलाई धान भित्र्याउने चटरो छ । धान खेती गर्न किसानलाई महिना दिन लाग्थ्यो । भित्र्याउन उस्तै जुलुम हुन्थ्यो । अहिले भने किसानलाई धान भित्र्याउन प्रविधिले सजिलो बनाइदिएको छ । ‘पहिला गोरुले खेत जोत्नुपर्थ्यो ।

दुई महिना जती हिलोमै बित्थ्यो । तर, अहिले ट्रयाक्टरले जोत्दा एक हप्तामा धान रोपेर सकिन्छ’ भानु ५ का मनिलाल श्रेष्ठले भने, ‘धान भित्र्याउन पनि सजिलो भएको छ । थ्रेसरले खेतमै धान दाईदिन्छ । धान दाउन महिना दिन लाग्थ्यो । थ्रेसरले एक–आधा घण्टामा भ्याईदिन्छ ।’ कृषिमा यान्त्रीकरण भएपछि धान खेती गर्ने शैलीमा समेत परिवर्तन आएको छ । गाउँ घरमा सहज रुपमा थ्रेसर पाउन थालेको छ । घण्टाको दुई हजार रुपैयाँमा थ्रेसरले धान दाउने गर्छ । एक बिगाह खेतको धान दाउन एकदेखि डेढ घण्टासम्म लाग्छ ।‘गाउँमा ट्रयाक्टर हुनेले थ्रेसर मेसिन पनि किनेकाले सजिलो भएको छ । अहिले धान दाउन भ्याई नभ्याई छ’ ट्रयाक्टर चालक सुनील चौधरीले भने, ‘दिनरात धान दाउने काम चलिरहेको छ । यो सिजन पनि हो ।’

तनहँु जिल्लामा धान खेती हुने क्षेत्र बढेको छ । यस वर्ष धान उत्पादन बढ्ने प्रक्षेपण गरिएको छ । गत बर्ष १२ हजार हेक्टर क्षेत्रफलमा धान खेती भएको थियो । गत वर्ष एक लाख ४७ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । यस वर्ष कोभिडको कारणले धान खेती हुने क्षेत्र बढेको छ । यस वर्ष १२ हजार ४ सय हेक्टर जग्गामा धान खेती भएको कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिए ।

यस वर्ष अनुमानित ४८ हजार मेट्रिकटन धान उत्पादन हुने अनुमान गरिएको छ । ‘समयमा पानी प¥यो । रोग किराको कन्ट्रोल पनि भयो । चाँडै रोपाई पनि भयो’ केन्द्र प्रमुख तिवारीले भने, ‘धान उत्पादन बढ्ने अनुमान गरेका छौँ ।’

Show More

Related Articles

Back to top button