समाचारAll

अचार बेचेर लाखौंको कमाई गर्दै धनु राना

दमौली खबर संवाददाता

तनहुँ, पुस २४ गते

तनहुँकी एक महिला अचार बेचेर नाम र दाम दुवै कमाउन सफल हुनु भएको छ । यस्तो नाम र दाम दुवै कमाउनेमा भिमाद नगरपालिका–६ शितलचौतारीकी धनु राना हुनुहुन्छ । पाँच जनालाई प्रत्यक्ष रोजगारी समेत प्रदान गर्नु भएकी रानाले अचार बेचेर लाखौंको कमाई गर्नु भएको छ । रानाले वार्षिक करीव ५० लाखको अचार बिक्री गरी १० लाख नाफा कमाउनुहुन्छ । मासिक ४ लाखको हाराहारीमा आचार बिक्री हुने र ८० हजार देखि ९० हजार मासिक नाफा हुने रानाले बताउनुभयो ।

२०७२ सालमा रानाले ‘धनु आचार उद्योग’ सञ्चालन गरी सीप र जागर भयो भने थोरै लगानीले स्वदेशमै मनग्गे कमाई गर्न सकिन्छ भन्ने उदाहरण बन्नु भएको छ । रानाले आफ्नै घरमा सञ्चालन गरेको उद्योगबाट विभिन्न २५ भन्दा धेरै परिकारका उत्पादन बजारमा बिक्री हुन्छ । रानाले सुरुमा दुई लाख रुपियाँ लगानी गरेर सञ्चालन गरिएको उद्योगमा नाफा कमाएर २० लाख रुपियाँ लगानी गरिसक्नु भएको छ । उद्योगमा आलु, आँप, अकबरे खुर्सानी, अमला, कागती,मेथी, गाँजर, कर्कलो, काइरालो, लप्सी, टमाटर, तामा, सिप्लीज्ञान, पिँडालु, बंगुर, चिकेन, भुरा माछा, खसी, काक्रो, करेला, टिमुर–लसुन, मग्राते, मिक्स, मुला, सुकटी, रुखकटहर, निउरो, स्कुस, फर्सि, गुन्द्रक, भट्टमास लगायतका विभिन्न –श्वादहरु (फ्लेवर) का अचार बन्ने गरेको रानाले जानकारी दिनुभयो । उद्योगमा उत्पादित अचारको माग स्थानीय बजारमा मात्र नभएर, पोखरा, स्याङ्जा, लमजुङ, गोरखा बजारमासमेत माग बढ्दै गएको रानाले बताउनुभयो ।

अचार बनाउन धेरै लगानी नचाहिने र बजारमा सजिलै बिक्री हुने गरेको राना बताउनुहुन्छ । अचार बनाउनका लागि स्थानीय क्षेत्रमा उत्पादन हुने कच्चा पदार्थलाई नै प्रयोग गरिँदै आएको हुँदा यसबाट कृषि क्षेत्रकै समग्र विकासमा सघाउ पुगिरहेको रानाको धारणा छ । हातले बनाउन अचार उत्पादन थोरै हुने हुँदा नाफा पनि कम हुने हुँदा अब नयाँ प्रविधि आइसकेको हुँदा मेसिनले अचार बनाउन थालेको उहाँले जानकारी दिनुभयो । सरकारले मेशिन खरीदमा अनुदान दिने र सिप प्रदान गर्ने हो भने भारतीय बजारबाट आउने आचार विस्थापित गर्न सकिने सुझाव राना दिनुहुन्छ । साविक घरेलु तथा साना उद्योगबाट ८० प्रतिशत अनुदान रकममा एक लाखको मेसिन प्राप्त गरेको उहाँले जानकारी दिनुभयो ।

राना जिल्लाकै नमुना घरेलु उद्यमी भएकोले उहाँको पेशाको सबैले प्रशंसा गर्ने गरेको घरेलु तथा साना उद्योगी महासङ्घ महिला उद्यमी समिति तनहुँकी अध्यक्ष कल्पना गौलीले जानकारी दिनुभयो । नमुना उद्यमी भएकोल उहाँले गण्डकी प्रदेश सरकारले प्रदान गरेको निशुल्क व्याजमा ५ लाख रुपियाँ ऋण प्राप्त गरेको गौलीले जानकारी दिनुभयो । महिलाहरु उद्यमी बन्न चाहे पनि रकम अभावले गर्दा पाईला चाल्न कठिन हुने गरेको अध्यक्ष गौली बन्नुहुन्छ । ‘धितो नभईकन पनि सहुलिय व्याजमा ऋण पाउने व्यवस्था गर्ने हो भने गुजारामूखी साना उद्योगलाई व्यवसायिकमूखी बनाउन सकिन्छ’ अध्यक्ष गौलीले भन्नुभयो । उद्यमी रानाको उद्योग हेर्नको लागि विभिन्न स्थानबाट महिला उद्यमी पनि आउने गरेको गौलीले जानकारी दिनुभयो । रानाले अचार बिक्रीको लागि एक ढुवानी गाडी किन्नु भएको छ । गाडी पनि उद्यमी राना आफै चलाउनुहुन्छ । ‘हिक्मतिलो महिला हुनुुहुन्छ पुरुष सरह काम गर्न सकिन्छ भन्ने जोश भएकोले उहाँलाई सफलता मिलेको छ’ गौलीले भन्नुभयो । रानाले दमौलीमा जारी पाँचौँ आदिवासी जनजाति तनहुँ सास्कृतिक महोत्सवमा स्टल राख्नु भएको छ । यो स्टलकमा उहाँको दर्शकको मन जितेको छ । महोत्सवमा सोचे भन्दा धेरै अचार विक्री भईरहेको राना बताउनुहुन्छ ।

Show More

Related Articles

Back to top button