समाचारमनोरन्जन

४२ दिनमा प्रदीपको ‘प्रकाश’ प्याकअप

फिल्मीखबरबाट
कोरोनाको जोखिम बढेको भन्दै सरकारले बैशाख १६ गतेबाट निषेधाज्ञा घोषणा गरेपछि फिल्मका सुटिङ प्रभावित भएका छन् । राजधानीभन्दा बाहिर छायांकन भइरहेका फिल्मको अधुरैमा सुटिङ रोकेर निर्माण टिम काठमाडौं फर्किन थालेका छन् । अभिनेता प्रदीप खड्काको मुख्य भूमिका रहेको फिल्म ‘प्रकाश’ को टिम भने सम्पूर्ण छायांकन सकेर जुम्लाबाट काठमाडौंतर्फ हिँडेको छ ।
छायांकन सुरु भएको ४२ दिनमा फिल्म प्याकअप भएको निर्देशक दिनेश राउतले जानकारी दिए । फिल्मको सम्पूर्ण छायांकन जुम्लामा गरिएको हो । फिल्ममा प्रदीपको अपोजिटमा रेनु योगी छिन् । रेनुले यही फिल्मबाट अभिनेत्रीको रुपमा डेब्यू गर्न लागेकी हुन् । स्नातक गरिरहेकी उनी थिएटर आर्टिस्ट हुन् । उनले सन् २०१३ मा दयाहाङ राईसँग ‘मितज्यू’ नामक नाटक खेलेकी थिइन् ।

फिल्ममा दीया मास्के, प्रकाश घिमिरे, राजन खतिवडा, रामबाबु रेग्मी, निरज पन्थी (आँपे), हुम विसी, प्रशान्त श्रेष्ठ, गोविन्द सुनवार, दीपेन्द्र शाही लगायतका कलाकारको पनि अभिनय रहेको छ । निम्न वर्गीय परिवारमा हुर्किएको एक युवकले सरकारी स्कूलको शिक्षक बन्न गर्ने संघर्षको कथा फिल्मले वाचन गरेको छ । फिल्ममा प्रदीपले पहिलो पटक गाउँले युवकको निर्वाह गरेका छन् । विनिश इन्टरटेनमेन्टको ब्यानरमा बनेको फिल्मका निर्माता महेन्द्र अधिकारी हुन् । राजेश श्रेष्ठले खिचेको फिल्मको कथा विकास सुवेदीले लेखेका हुन् । अनुप बराल कास्टिङ डाइरेक्टर रहेको फिल्मका गीतमा तारा प्रकाश लिम्बु, एलिसा कार्की, दीपक शर्माको संगीत छ । प्रदीपले ‘प्रकाश’ मा आफूले नयाँ चुनौतीहरु स्वीकार गर्दै आफ्नो कम्फर्ट जोनबाट बाहिर निस्किएको बताएका छन् ।

Show More

Related Articles

Back to top button