समाचारशिक्षा

विद्यार्थीलाई उपभोक्ता सचेतना शिक्षा जगाउँदै पर्यटन कार्यालय

दमौली खबर संवाददाता

तनहुँ, वैशाख १० गते

तनहुँको एक कार्यालयले उपभोक्तालाई ठगिनबाट जोगाउन र पत्रु खानाको असरबारे जानकारी दिनविद्यार्थीलाई उपभोक्ता सचेतना शिक्षा दिन थालेको छ । पर्यटन तथा उद्योग कार्यालय तनहुँले विद्यालयमा नै पुगेर सचेतना कक्षा सञ्चालन गरेको हो ।

यस क्रममा कार्यालयले व्यास नगरपालिका–२ दमौलीस्थित सत्यवती माध्यामिक विद्यालयमा उपभोक्ता सचेतना कार्यक्रम गरेको छ । वस्तुको तौल, गुणस्तर, मिसावट, अखाद्य वस्तुको प्रयोगबाट पर्ने असर लगायत विषमा जानकारी दिईएको छ । उपभोक्ता अधिकारबारे विद्यार्थीको ज्ञान र चेतना जगाउन विद्यालयमै पुगेर सचेतना कार्यक्रम सोमबारबाट सुरु गरिएको पर्यटन तथा उद्योग कार्यालय तनहुँका प्रमुख दुर्गाराज सुवेदीले बताउनुभयो । यस आर्थिक वर्षमा पाँच वटा पालिकाका पाँच विद्यालयमा कार्यक्रम गरिने उहाँले जानकारी दिनुभयो । बजेटको अभावले सबै विद्यालयमा कार्यक्रम पु¥याउन नसकिएको सुवेदीले बताउनुभयो ।

कार्यक्रमको लागि एक लाख रपियाँ मात्रै बजेट भएकोले पाँच वटा विद्यालयमा कार्यक्रम गरिने उहाँले जानकारी दिनुभयो । सुवेदीले भन्नुभयो, ‘स्थानीय पालिका र विद्यालयसँगको सहकार्यमा उपभोक्ता शिक्षाको प्रसार र सबलीकरण गर्छौं ।’ विद्यार्थीलाई उपभोक्ता अधिकारका कुरा बुझायौँ, सिकायौँ भने उनीहरु आफू पनि सचेत हुने घरपरिवार र समुदायमा पनि पुग्ने भएकोले कार्यक्रम शुरुवात भएको सुवेदीले बताउनुभयो ।

प्रशिक्षणमा सम्बन्धित क्षेत्रका विज्ञ र अनुभवीले विद्यार्थीलाई सहजीकरण गर्छन् । हरेक नागरिक उपभोक्ता भएकाले आफ्ना अधिकारका बारेमा पहिले व्यक्ति स्वयं सचेत हुनुपर्ने उहाँ बताउनुहुन्छ । कार्यक्रमका प्रमुख अतिथि व्यास नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष काशीराम श्रेष्ठले विद्यार्थीलाई उपभोक्ता शिक्षा फलदायी हुने बताउनुभयो । विद्यार्थीलाई ठगिनबाट कसरी जोगिने के खान हुन्छ, के हुँदैन भन्ने ज्ञान हुने र उनिहरुले घरपरिवार समाज समक्ष पु¥याउने भएकोले फलदायक हुने उहाँको भनाई थियो । वडाध्यक्ष श्रेष्ठले भन्नुभयो ‘उपभोक्ता अधिकारबारे जनस्तरमा व्यापक सचेतना फैलाउन विद्यार्थी असल माध्यम भएकोले प्रभावकारी हुन्छ ।

कार्यक्रम कार्यालय प्रमुख सुवेदी, व्यास नगरपालिका शिक्षा शाखाका प्रमुख केदार आचार्य र सत्यवती माध्यामिक विद्यालयका शिक्षक खेमबहादुर थापाले वस्तु तथा सेवाको उपभोग गर्दा उपभोक्ताले ध्यान दिनु पर्ने कुराहरु, कानुनी प्रावधान, अत्यावश्यक वस्तु जस्ता विषयमा प्रशिक्षण दिनु भएको थियो । ‘जङ्कफुड’को अधिक सेवनले मस्तिष्कको विकासमा अवरोध आउने, हाडजोर्नी कमजोर हुने, बौद्धिक शिथिलताजस्ता समस्या देखापर्ने हुँदा उपभोग नगर्न विद्यार्थीलाई कार्यक्रममा सूचित गरिएको थियो ।

वस्तु तथा सेवाको उपभोग गर्दा उपभोग्य मिति, मूल्य, कारोवार स्थलमा सूचनापाटी मूल्य सूची भए÷नभएको हेर्ने,उत्पादकको नाम ठेगाना, वस्तुको तौल, उत्पादन मिति हेरेर मात्र बस्तु खरीद गर्ने, बस्तु खरीद गर्दा बिल अनिवार्य माग्ने, अखाद्य वा कमसल उपभोग्य वस्तु तथा सेवाको बिक्री वितरण भएको पाइएमा प्रहरी, जिल्ला प्रशासन कार्यालय वा स्थानीय तहमा उजूरी दिनेलगायत विषयमा प्रशिक्षण गराइएको थियो । कमसल वा अखाद्य वस्तुको प्रयोगबाट कुनै किसिमको हानी भएमा उपभोक्ताले क्षतिपूर्तिको दाबीसहित उजूरी गर्न सक्ने प्रावधान पनि छ । यस कार्यक्रमबाट उपभोक्तामा जागरण आउने विश्वास गरिएको छ । आफूहरुले पाएको शिक्षालाई अब व्यवहारमै कार्यान्वयने र परिवार समाजलाई सचेत गर्न सत्यवती माध्यामिक विद्यालयका प्रधानाध्यापक पुष्पकला भट्टराईले बताउनुभयो । कार्यालयले अन्य विद्यालयहरुमा पनि चाँडै नै कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

Show More

Related Articles

Back to top button