मनोरन्जन

मोदी, ट्रम्प र जिनपिङ : मनोज गजुरेलका तीन अवतारको चिरफार

चिनियाँ राष्ट्रपति सी जिनपिङ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वका शक्तिशाली राष्ट्रका कार्यकारी प्रमुख हुन् ।

यता मनोज गजुरेल नेपालका शक्तिशाली कमेडियन । दुई शक्तिबीचको टकराब हुँदा कि युद्ध हुन्छ कि कमेडी । गजुरेल युद्ध रुचाउँदैनन् । किन कि युद्धले मानिसको आयु घटाउँछ भने हास्यव्यङ्ग्यले बढाउँछ ।

फेरि कमेडिमार्फत युद्ध गर्दा जित्ने कमेडियन नै हुन्छ । त्यसैले त नाकाबन्दीको बेला गजुरेलले भारतीय प्रधानमन्त्री मोदीसँग कमेडि युद्ध गरे । त्यसपछि अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सीलाई समेत बाँकी राखेनन् । यी तीन शक्ति राष्ट्रका कार्यकारी प्रमुखलाई कमेडियन बनाउने बल कहाँबाट आयो, सजिलो–गाह्रो के भयो, चुनौति कस्ता आए ? जानौँ :

मोदीको ओठ ठूलो

नेपालका थुप्रै नेताको नक्कल गरेपछि हास्यव्यङ्ग्य र नेपाली कला क्षेत्रलाई अलि विस्तृत बनाउनुपर्छ भन्ने मनसाय मनोज गजुरेलले बनाए । त्यसका लागि पात्रको खोजी भयो । चयन भए, नरेन्द्र मोदी ।

पात्रको गहिरो अध्ययन गर्नु थियो, विषयवस्तुलाई नेपालभन्दा बाहिर लानु थियो र पात्रमार्फत व्यङ्ग्य पनि गर्नु थियो । व्यङ्ग्यमार्फत गालीको भाषा प्रयोग गर्नबाट जोगिन पनि त थियो । यी तीन पक्षलाई संयोजन गर्न गम्भीर हुन आवश्यक थियो । किन कि गजुरेललाई मोदी बनेर हँसाउनुमात्र थिएन । नेपाल–भारत सम्बन्धका विविध आयामहरु पनि केलाउनु थियो ।

‘पात्रमार्फत दिइने सन्देशलाई केन्द्रमा राखेर त्यसले दुई देशीय सम्बन्धलाई गालीको तहमा उतार्न पनि सक्छ कि भन्ने डर पनि सँगै थियो’ गजुरेल भन्छन्, ‘त्यसैले कला सजिलो थियो भने त्यसबाट दिइने सन्देश अफट्यारो थियो ।’

गुजरातको मुख्यमन्त्री हुँदादेखि गजुरेललाई मोदी अरु नेताभन्दा अलि फरक छन् है भन्ने लागेको थियो । यी मान्छे भविष्यमा उदयीमान नेता हुन् भन्ने बुझिसकेका थिए । र, पछ्याउन पनि थालेका थिए ।

त्यसैले गजुरेललाई मोदीको हाउभाउ निकाल्न धेरै गाह्रो परेन । कुन विषय छुने र के कुरामा व्यङ्ग्य गर्ने भन्ने मुख्य चुनौति थियो । त्यसका लागि गजुरेलले झन्डै तीन महिना तयारी गरे । साथीहरुसँग छलफल गरे । मोदीबारे अध्ययन गरे ।

२०७१ सालको गाइजात्रामा गजुरेल मोदी बनेरै छाडे । अर्थात, मोदी भारतीय प्रधानमन्त्री बनेको तीन महिनापछि । त्यतिबेला उनको मोदी अवतारले खुब हँसायो । नेपालमा राम्रै चर्चा भए पनि विदेशी मिडियामा चर्चा पाउन सकेन ।

‘नेपाल–भारत सम्बन्ध सधै तरल अवस्थामा रहेको छ,’ गजुरेल भन्छन्, ‘आज ताली खाएका मोदीले भोलि गाली खाने सम्भावना पनि थियो । त्यही विश्लेषण मैले कलाको वृत्तमा गरेको थिएँ ।’

अर्थात, मोदीको कमेडिलाई गजुरेलले लामो यात्राको घोडाको रुपमा लिएका थिए । नभन्दै भइदियो त्यस्तै । गाइजात्राको एक वर्षपछि भारतले नेपालमाथि नाकाबन्दी लगायो । गजुरेलले फेरि मोदी बनेर पशुपतिमा क्षमा पुजा गरेँ । चारैतिर चर्चा र वाहवाही कमाएँ । भारतका सबैजसो सञ्चार माध्यममा छाए ।

नेपाली कला क्षेत्रको भारतमा चर्चा, गजुरेलले चाहेको पनि त यही थियो ।

नक्कल गर्दा रुप, हाउभाउ, आवाज र विषयवस्तुको फ्युजन हुनुपर्छ । यीमध्ये तीन वटा कुरा मिल्यो भने नक्कल मिलेको मानिन्छ । गजुरेल त्यतिबेला आफूले मोदीको नक्कल गर्दा ६० प्रतिशत सफल भएको र पछि देश–विदेशमा प्रस्तुति दिँदै जाँदा ७० प्रतिशतमा पुगेको बताउँछन् ।

मोदी बन्न त्यति सहज थिएन । गजुरेलले धेरै नै मेकअप गर्नु परेको थियो । मोदीको ओठ ठूलो, सेतो कपाल पछाडि फर्काउनु पर्ने, कमन आवाज र भाषा, यी मनोजका कठिनाई थिए । जसमा उनले खुबै मेहनत गरे । अरु कुरा त लगभग मिले तर ओठ मिलेन ।

मेहनतको फल मीठो हुन्छ भन्छन्, गजुरेलको सवालमा पनि त्यही भयो । उनी खुसी व्यक्त गर्छन्, ‘दोस्रो इनिङमा मोदी बन्दा नाकाबन्दीको बेला अन्तर्राष्ट्रिय समुदायलाई एउटा सन्देश दिन सफल भइयो ।’

पशुपतिमा मोदी बनेर क्षमा पूजा गरेलगत्तै गजुरेल अमेरिका पुगेका थिए । त्यति नै बेला ह्वाइटसाउस अगाडि नेपालीले नाकाबन्दीको विरोधमा प्रदर्शन गरे । त्यहाँ पनि गजुरेलले मोदीको अभिनय गरे । त्यसलाई अमेरिकी मिडियाले स्थान दिए । नेपालको नाकाबन्दीबारे अन्तर्राष्ट्रियरुपमा चर्चा भयो ।

अर्को वर्ष बेलायत जाँदा गजुरेललाई बिबिसीको हेर्डक्वाटरमा बोलाइयो । उनको अन्तर्वार्ता लिइयो । यो गजुरेलको मोदी अवतारको शक्ति थियो ।

ट्रम्पका चिम्सा आँखा

नेपालको राजनीति, कला–संस्कृति जसरी अन्तर्राष्ट्रियरुपमा जोडिएका छन्, हाँस्यव्यङ्ग्यलाई पनि अन्तर्राष्ट्रियकरण गर्न आवश्यक थियो । नरेन्द्र मोदीपछि गजुरेल यस्तै कुनै अन्तर्राष्ट्रिय पात्रको खोजीमा थिए ।

मोदीको नक्कल गरेपछि अमेरिका गएका बेला उनका शुभचिन्तकले आगामी निर्वाचनबाट डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति हुने सम्भावना भएकाले उनको नक्कल गर्न सुझाव दिए । तर, गजुरेलले त्यसतर्फ खासै ध्यान दिएनन् ।

नभन्दै दुई वर्षपछि (२०७३ सालमा) ट्रम्प अमेरिकी राष्ट्रपतिमा निर्वाचित भए । अर्थात, गजुरेलको आँखामा परे । त्यतिबेलै उनले आगामी गाईजात्रामा ट्रम्पको नक्कल गर्ने सोच बनाएँ ।

‘मलाई अंग्रेजी राम्रो नआए पनि अंग्रेजको क्यारिकेचर चाहिँ सहज नै हुन्छ । त्यसैले मैले बेस्ट दिनसक्छु भन्ने विश्वास थियो,’ गजुरेल भन्छन् ।

पात्रको नक्कल गर्न त्यति गाह्रो देखिएन । तर विषयवस्तुमा गजुरेललाई बढी घोत्लिनुपर्यो । नक्कलको प्रभावको बारेमा पनि ध्यान दिनुपर्ने भयो ।

यसका लागि गजुरेललाई अमेरिका बस्ने गोरा साथी फाउलरले सहयोग गरे । कन्टेन्टमात्र उपलब्ध गराएनन् ट्रम्प बन्न आवश्यक केही मेकअपका सामग्रीसमेत पठाइदिए । त्यसपछि गजुरेलले ट्रम्पका भिडियोहरु हेर्न थाले । तर, उनीसामू चुनौति भने अझै थियो ।

संसारको सबैभन्दा अल्पविकसित देशको कुनाबाट अमेरिकालाई पात्र बनाएर हास्यव्यङ्ग्य गर्दा देशले कुनै भुक्तान गर्नुपर्ने त होइन भन्ने डर साथीहरुले देखाउन थाले । गजुरेलले यसबारे अमेरिकामा बस्ने थुप्रै शुभचिन्तकहरुसँग सल्लाह मागे ।

उनीहरुबाट सुझाव पाए– अमेरिका प्रजातान्त्रिक राष्ट्र भएकाले कुनै समस्या आउँदैन । तपाईले बन्दुक उठाउन लागेको होइन, गाली गर्न लागेको होइन, हास्यव्यङ्ग्य गर्न लाग्नुभएको हो । मज्जाले गर्नुस् ।

त्यसपछि गजुरेलले आँट कसे । कतै हिँड्दा होस् या घरमै हुँदा ट्रम्पको नक्कल गर्न थाले । गाईजात्रा आयो । गजुरेल ट्रम्प अवतारमा देखिए । धेरै कुरा मिल्यो पनि । तर, चिम्सा आँखा मिलेनन् । ट्रम्पको जस्तो दुब्लो र अग्लो शरीर बनाउन सक्न कुरै भएन ।

जे होस् मनोजको ट्रम्प अवतारको हाईहाई भयो । नेपालमा मात्र होइन अमेरिकी मिडियाले समेत खुबै चर्चा गरे । सुरुमा एएफपी, एपी, बीबीसीजस्ता सञ्चार माध्यमले स्थान दिए । त्यसपछि अष्ट्रेलिया, बेलायतलगायतमा पनि उनको चर्चा भयो ।

अमेरिकी चर्चित मिडिया सीबीएस न्यूजले ट्रम्पको नक्कल गर्ने विश्वका १८ कलाकारको सूचीमा गजुरेललाई छान्यो । नेपाल हिंसा, गरिबीको चपेटामा परेको, युद्ध भएको देश हो भनेर चिन्ने विश्वलाई नेपालमा कला पनि उर्वर छ भनेर चिनाउन पाउँदा गजुरेल आफूलाई भाग्यमानी ठान्छन् ।

पछि गजुरेलले अमेरिकाको पाँच वटा शहरमा ट्रम्पको नक्कल गरे । त्यहाँ पनि उनको चर्चा उत्तिकै भयो । भन्छन्, ‘त्यतिबेला ट्रम्पको श्रीमती बन्न, सहयोगी बन्न अमेरिकीहरु नै तछाड–मछाड गरेका थिए । यस्ता कुराले अन्तरआत्माबाटै खुसी मिल्दोरहेछ ।’

सी जिनपिङको मंगोल अनुहार

गजुरेल २०७६ सालको देउसी–भैलोमा कसको नक्कल गर्ने भनेर पात्र खोजिरहेका थिए । त्यतिबेलै चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आए । ‘उनी त मेरै लागि आएको जस्तो भयो नि’ गजुरलले ठट्टा गर्छन् । अब उनले जिनपिङको नक्कल गर्ने भए ।

साथीहरुले गजुरेललाई कम्युनिष्टको नक्कल गर्नु प्रजातान्त्रिक मुलुकको जस्तो हुँदैन भनेर डर देखाउन थाले । तर, उनले यसपटक भने धेरैको सल्लाह नलिई आफै आँट गरे ।

तर, मोदी र ट्रम्पको जस्तो सहज भने थिएन जिनपिङ बन्न मनोजलाई । सबैभन्दा गाह्रो थियो, आर्यन अनुहारलाई मंगोल बनाउन । यसका लागि मेकअप आर्टिस्ट अमृत र देवेन्द्रले निकै सहयोग गरे गजुरेललाई । तर, उनको अनुहार जिनपिङको जस्तो हुँदै भएन । त्यसपछि मास्क बनाइयो । गजुरेलले मास्क लगाउन मानेनन् ।

भन्छन्, ‘मास्क लगाएपछि त जो पनि उस्तै देखिइहाल्छ नि । मनोज गजुरेलको विशेषता खोई त ? त्यसैले मैले मास्क लगाउन मानिन ।’

मोदी र ट्रम्प बन्दा जति धेरै समय थिएन गजुरेलसँग । १५ दिनमा सबै तयारी पुरा गर्नुथियो । तर, अनुहारको समस्या हल हुने कुनै उपाय लागिरहेको थिएन । अन्त्यमा आँखा र नाकको मास्क बनाएर नक्कल गर्ने कुरामा राजी भए ।

नक्कलमा गजुरेल ‘वान मेनज आर्मी’ हुन् । अर्थात, जहाँ गए पनि, जस्तोसुकै मेकअप भए पनि उनी आफै प्लान गर्छन् प्राय । तर, चिनपिङ बन्न उनले अरुको पनि भरपुर सहयोग माग्नुपर्यो ।

मास्क गजुरेल स्टेजमा उक्लिनुभन्दा पाँच मिनेट पहिलामात्र तयार भएको थियो । त्यसैले गजुरेलका लागि त्यो नयाँ प्रयोग थियो । फ्याट्टै खस्यो भने के गर्ने ? चिन्ताको विषय पनि । तर, त्यस्तो भएन ।

उनले यसअघि पनि चिनियाँको नक्कल गरेका थिए । त्यसैले आवाजमा धेरै समस्या देखिएन । समस्या थियो विषयवस्तुमा ।

‘चिनियाँको क्यारिकेचर गर्नु त्यति सहज थिएन । भाषा, हाउभाउ र कन्टेन्ट सबै गाह्रो पक्ष थिए । मलाई अलि गाह्रो भएकै हो’ गजुरेल भन्छन् । तर चिनियाँ भाषा आफैमा नेपालीलाई हँसाउने भाषा भएकाले गजुरेलाई हँसाउन भने गाह्रो परेन ।

‘जेभन्दा पनि हाँस्ने अवस्था आयो त्यहाँ तर जेभन्दा पनि हाँस्ने त होइन नि । कन्टेन्टमा हँसाउन सक्नुपर्ने हो । त्यसअर्थमा म खासै सन्तुष्ट हुन सकिन,’ गजुरेल जिनपिङ बन्दाको असन्तुष्टी पोख्छन् ।

मेकअपमा धेरै समय लागेकाले कन्टेन्टमा काम गर्न उनलाई समय पुगेन । उनले यसमा मानिसको कमेन्ट पनि मिक्स खालका पाए । मोदी र ट्रम्पजस्तो उत्कृष्ट नभए पनि नयाँपनको हिसाबले धेरैले मन पराए । अनि गजुरेललाई चिनियाँ भाषा सिक्नुपर्ने रहेछ भन्ने भानसमेत भयो । र, अहिले उनी सिक्दै पनि छन् ।

सी जिनपिङको नक्कलले अन्तर्राष्ट्रिय मिडियामा पनि त्यति चर्चा पाएन । नक्कलमा मनोजले जिनपिङलाई त्यतिधेरै उडाएका पनि थिएनन् । बरु उनको लवजमा नेपाली भाषामै केही व्यङ्ग्य गरेका थिए ।

‘चीनसँग भारत र अमेरिकाजस्तो हाम्रो सांस्कृतिक सम्बन्ध पनि छैन । त्यतिधेरै लफडा पनि छैन । त्यसैले पनि होला उसलाई उडाउन अलि गाह्रो भएको’ गजुरेल प्रष्ट पार्छन्, ‘जिनपिङलाई उडाइएको भए त्यो विषय अन्तर्राष्ट्रिय हुन्थ्यो होला ।’

मोदीबाट विदेशी नेताको नक्कल सुरु गरेका गजुरेललाई लाग्छ हास्यव्यङ्ग्य गर्दा मजाक बनाइएका विषयमा सम्बन्धित व्यक्तिले भोलि प्रश्न गर्दा उसँग टेबलमा बस्न सक्ने हुनुपर्छ । तर्कसहितको उत्तर प्रस्तुत गर्न सक्नुपर्छ । त्यसैले उनी विषयवस्तुको गहिरो अध्ययन गरेर, त्यसलाई बुझेरमात्र प्रस्तुति दिन्छन् ।

अर्थात, उनी व्यङ्ग्यमा पनि सत्यता लुकाउँछन् । यही त हो गजुरेलको विशेषता । त्यसैले आफ्ना प्रस्तुतिको नाम गजुरियल राखेका छन् । गजु भनेको हाँस्य र रियल भनेको व्यङ्ग्य जुन सत्यको नजिक हुन्छ ।

त्यसोभए गजुरेलको कमेडी अर्धसत्य हो त ?

उनी भन्छन्, ‘संसारमा सत्य तीन किसिमका हुन्छन् । एउटा मलाई जे लाग्छ त्यो, अर्को तपाईलाई जे लाग्छ त्यही तर खास सत्य त अर्कै छ नि ।’ अर्थात, सत्य पनि कुटनीति जस्तै हुन्छ, भित्र जे हो बाहिर त्यो भनिदैन, बाहिर जे भनिन्छ भित्र त्यस्तो भएको हुँदैन ।

Source : Ratopati

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button