दमौली खबर संवाददाता
तनहुँ, फागुन २६ गते
नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्व सभामूख रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि उहाँको गृह जिल्ला तनहुँमा दिप प्रज्ज्वलन गरिएको छ । देशको तेस्रो राष्ट्रपति बनेकोमा सदरमुकाम दमौलीका अतिरिक्त जिल्लाका अन्य स्थानहरुमा दीप प्रज्ज्वलन गर्ने लड्डु खाएर र खुवाएर खुसी साटासाट गरिएको हो ।
सदरमुकाम दमौलीको अनसन चौतारी चोकमा नेपाली कांग्रेस व्यास नगर समिति आयोजनामा नेपालको नक्सा बनाई दीप प्रज्वलन गरिएको हो । दीप प्रज्ज्वलन कार्यक्रममा सम्बोधन गर्दै नेपाली कांग्रेसका निर्वतमान सभापति वैकुष्ठ न्यौपानेले तनहुँको रिस्तीमा जन्मिएको किसानको छोरो जुन किसिमको उचाई प्राप्त गर्नु भएको छ सबै तनहुँबासी खुसी भएको बताउनुभयो । ‘व्यास नगरपालिकामा जन्मिएको व्यक्ति आज राष्ट्रपति हुनु भएको छ, निरन्तर जनताको बीचमा क्रियाशिल भएकोले सफलता मिलेको हो’ न्यौपानले भन्नुभयो । समग्र विद्यार्थी कालदेखि नै निरन्तर लोकतन्त्र र संविधानबादका आधारभूत मूल्यमान्यताका लागि पञ्चायतको कठोर क्षणमा अगाडी बढ्दै १४ वर्ष जेलमा बस्नु भएको कुरा न्यौपानेले स्मरण गर्नुभयो ।
राष्ट्राध्यक्ष भएकोले नेपालको नक्सा बनाई दीप प्रज्ज्वलन गरिएको नेपाली कांग्रेस व्यास नगर सभापति सूर्यचन्द्र हड्खेले बताउनुभयो । भानु नगरपालिका–२ को नारेश्वरटारमा नेपाल तरुणदल भानु नगरको आयोजना दीप प्रज्ज्वलन गरी खुसीयाली मनाईएको नेपाल तरुणदल भानु नगरका प्रवक्ता राजेश कार्कीले जानकारी दिनुभयो । यसैगरी व्यास नगरपालिका–१ भादगाउँमा स्थानीयले दीप प्रज्ज्वल गरेर खुसीयाली बाडेको सत्यवती माध्यामिक विद्यालयका शिक्षक अभिभावक सङ्घका अध्यक्ष सोमराज सिग्देलले जानकारी दिनुभयो ।
नेता पौडेल दोब्बर बढी मतले बिहीबार राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो । राष्ट्रपति निर्वाचन अधिकृतको कार्यालय अनुसार उहाँ ३३ हजार ८०२ मत भारसहित निर्वाचित हुनुभएको हो ।
राष्ट्रपति पदका अर्का उम्मेदवार पूर्व सभामुख एवम् नेकपा (एमाले) उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले भने १५ हजार ५१८ मत भार पाउनु भएको थियो । नवनिर्वाचित राष्ट्रपति पौडेललाई नेपाली कांग्रेससहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी गरी नौ दलको समर्थन रहेको थियो । नेता पौडेलको जन्म तनहुँको व्यास नगरपालिका–८ रिस्तीमा भएको थियो ।