समाचार

पुरुष भन्दा कम छैनन् महिला श्रमिक

पाँच वर्ष अघिनै व्यास नगरपालिका वडा नं ३ बिसघरेकी राममाया गुरुङ घर बनाउने काममा पाको भैसकेकी थिइन् । न उनले औपचारिक तालिम लिएकी हुन् न त कतै पढेकी । लेबर काम गर्दा गर्दै उनी घर बनाउने मिस्त्री बनि सकिन् । पाँच वर्षदेखि उनले दर्जनौँ घर बनाउन आफ्नो श्रम र सीप खर्चिसकेकी छिन् । सुरुमा काम गर्दा पुरुष मिस्त्रि मात्र थिए । महिलाले घर बनाउन सक्दैनन कि जस्तो लागेको थियो । तर, उनले हात हालिन त आत्म विश्वास बढेर आयो । ‘हेर्दा मात्रै गाह्रो हो ।

हात बस्यो भने त सजिलो छ’, उनले भनिन्, ‘महिलाले गर्न हुँदैन भनेर कहाँ लेखेको छ र? पुरुषले गर्ने हर काम महिलाले पनि गर्न सक्छन् ।’ सरिता अहिले मिस्त्रिको रुपमा कार्यरत छिन् । हातमा सीप भएपछि कामको कुनै कमि नहुने उनले बताइन् । ‘हातमा सीप भयो भने दुई–चार रुपैयाँको अभाव हुँदैन’, उनले भनिन्, ‘काम गर्ने जाँगर हुनुपर्यो, हात मुख जोड्न दुःख छैन ।’ दैनिक उनले पाँच सय रुपैयाँ ज्याला पाउछिन् । लेबरको चार सय रुपैयाँ छ । हातमा सीप भएका कारण उनको ज्यालामा एक सय रुपैयाँ बढी छ । व्यास ५ पाटनकी तिलमाया गुरुङ लेबल काम गर्छिन् ।

उनले पनि बिना तालिम श्रमिकको काम गर्न थालेको ४ वर्ष भयो । पहिला काम पाउन मुस्किल रहेको बताउदै अहिले सजिलै श्रमिकको काम पाउने गरेको बताईन् । उनले भनिन्,‘अरु काम नपाए पछि लेबलको काम गर्न सुरु गरे । पुरुष सरह काम गर्दा पनि कम ज्याला पाईन्छ । ’

रेशम कुमाल पनि मिस्त्री काम गर्छन् । उनलाई सम्झना छ काम सुरु गर्दा मुस्किलले महिला मिस्त्री भेटिन्थे । तर, अहिले हरेक घर बनाउने काममा महिला मिस्त्री छन । ‘हामी मिलेर काम गर्छौँ’, उनले भने, ‘महिला–पुरुष भनेर काममा विभेद छैन ।’ तनहँुको दमौली लगायत आसपास क्षेत्रमा निर्माणको काममा महिला श्रमिकको संख्या बढ्न थालेको छ । घर बनाउने काममा लेबरको रुपमा मात्रै महिला जिम्मेवारी दिइन्थ्यो । तर, अहिले मिस्त्रीको रुपमा महिलालाई कामको जिम्मेवारी दिन थालिएको हो ।

क्युपेक नेपाल जिल्ला कार्य समिति तनहँुले दिएको तथ्याङक अनुसार चालु वर्षमा ९७ जनाले श्रमिकले सदस्यता लिएका छन् । जसमा ८७ जना पुरुष र १० जना महिला रहेको क्युपेक तनहँुका अध्यक्ष भिम गुरुङले जानकारी दिए । उनले भने,‘ महिला श्रमिकको संख्या बढ्दै गएको छ । हामी सँग केही महिला श्रमिकले मात्र सदस्यता लिनुभएको छ । ’ उनका अनुसार गत वर्ष यस संस्थाबाट ५२ जना महिला र तीन सय ३५ जना पुरुषले सदस्यता लिएका थिए ।

Show More

Related Articles

Back to top button