हेडलाईनसमाचारAll

दुलेगौंडा-लामागाउँ सडक कालोपत्रे काम सुरु

दमौली खबर संवाददाता

तनहुँ, वैशाख १० गते

शुक्लागण्डकी नगरपालिकाको हाल सम्म ठुलो योजना दुलेगौँडा लामागाउँ मोटरमार्ग दुलेगौंडा-लिलाचोक खण्ड कालोपत्रको कार्य अघि बढाईएको छ । विश्व बैंकको आर्थिक सहयोगमा काम अघि बढाईएको हो ।

नगरपालिकाको गौरवको आयोजना अन्तर्गत समावेश उक्त खण्ड कालोपत्रका लागि निर्माण कम्पनीसँग नगरपालिकाले सम्झौता भई सोमबार नगर प्रमुख कृष्णराज पण्डितले शिलान्यास गर्नुभयो । विश्व बैंकको सहयोग र नेपाल सरकारको अनुदानमा सञ्चालित सहरी शासन र पूर्वाधार परियोजना (एनयुजीआईपी) अन्तर्गत उक्त मोटरमार्गको ७ दशमलव १ किलोमिटर दुरी कालोपत्रका लागि बानियाँ निर्माण सेवा हेटौँडासँग सम्झौता गरिएको नगर प्रमुख पण्डितले जानकारी दिनुभयो । उक्त ठेक्काको रकम २७ करोड ३४ लाख ७९ हजार आठ सय ३४ रूपियाँ रहेको छ । १५ महिनाभित्र काम सम्पन्न गर्ने गरी सम्झौता भएको उहाँले जानकारी दिनुभयो । शुक्लागण्डकीको–४ दुलेगौँडाबाट सुरु हुने कालोपत्रले वडा नम्बरहरु–८, ९ र १२ वडालाई जोड्छ । उक्त खण्डमा अस्फाल्ट प्रविधिबाट कालोपत्र हुने र उकालो र गाह्रो केही ठाउँमा आरसिसी ढलान गरिने र अन्य ठाउँमा नालासहितको कालोपत्र गरिने नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको अनुसार दुलेगौँडास्थित बिपीचोक, हेल्थपोष्ट चोक, पुल्चोक, घारी, तालवेशी, मालेबगर हुँदै लिलाचोकसम्म कालोपत्र हुनेछ । सडकको चौडाइ दश मिटरको रहनेछ । यहाँ ५.५ मिटर कालोप, कालोपत्रको दुवै छेउमा एक÷एक मिटरको नाला निर्माण हुनेछ । शुक्लागण्डकी–४ दुलेगौँडाबाट वडा नं. १२ लामागाउँ मोटरमार्ग १४ किलोमिटर छ । कच्ची सडकले गर्दा हिउँदमा धुलाम्य र वर्षामा हिलाम्य तथा खाल्टाखुल्टी हुँदा सर्वसाधारणलाई आवतजावतमा समस्या हुँदै आएको छ । कालोपत्रले आन्तरिक पर्यटकलाई लामागाउँसम्म जान समेत सजिलो हुनेछ । कालोपत्रे भएपछि यात्राको समय छोटिने छ  भने कच्ची र धूले सडकको यात्राबाट आजित स्थानीयलाई आउजाउ गर्न र कृषिउपज ढुवानी गर्न सहज हुनेछ । यात्रा सहज बनाउन निर्धारित समयमा नै काम सम्पन्न गर्न ध्यान दिईने उपप्रमुख खुमबहादुर विक राजुले बताउनुभयो ।

Show More

Related Articles

Back to top button