समाचारशिक्षा

तनहुँ सिफारिस भएका शिक्षकलाई नियुत्तीपत्र प्रदान

दमौली खबर संवाददाता

तनहुँ, चैत २६

खुला प्रतिस्पर्धाबाट छनोट भई तनहुँका लागि सिफारिस भएका प्राथमिक तृतीय श्रेणी शिक्षकलाई नियुक्तिपत्र प्रदान गरिएको छ । जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइले शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरबाट सिफारिस गरिएका १३६ जना शिक्षकलाई नियुक्तिपत्र प्रदान गरेको हो । सिफारिस भएका सबै शिक्षकलाई आईतबार जिल्लाका विभिन्न पालिकामा पदस्थापन हुने गरी शिक्षा विकास तथा समन्वय एकाईका प्रमुख उद्धवराज कट्टेलले स्थायी नियुक्तिपत्र प्रदान गर्नुभयो ।

नियुक्त पत्र प्रदान गर्ने शिक्षकलाई एकाईले सपथ खुवाएको थियो । नियुक्त प्रदान गर्दै एकाई प्रमुख कट्टेलले आफूलाई सुम्पिएको कार्य जिम्मेवारी प्रचलित कानुन बमोजिम अनुशासित, मर्यादित, ईमान्दार र कर्तव्यनिष्ठ भई सम्पादन गर्न अनुरोध गर्नुभयो । साथै उहाँले तनहुँको गुणस्तरलाई माथि उकास्नको लागि मेहनतको आवश्यक परेकोले थप मेहनत गर्न उहाँले आग्रह गर्नुभयो । विद्यालयमा हाजिर भएको मिति देखि प्रचलित नियम अनुसार तलब, भत्ता र अन्य सुविधा पाउने गरी इकाईको चैत्र २५ गतेको निर्णय अनुसार स्थायी नियुक्त गरिएको जनाईएको छ ।

जिल्लाका स्थानीय तहमा रहेको शिक्षक आवश्यकताको आधारमा कोटा विभाजन गरी शिक्षकहरुलाई ठाउँ (स्थानीय तह) रोज्नका लागि समय उपलब्ध गराइएको थियो । शिक्षकहरुले रोजेको स्थानीय तहका लागि नियुक्तिपत्र दिएर उहाँहरुलाई एकाइ कार्यालयको तर्फबाट बिदाइ गरिएको छ । नियुक्तपत्र प्रदान कार्यक्रममा नेपाल शिक्षक महासङ्घ तनहुँका अध्यक्ष आरसी पोख्रेलले धेरै प्रक्रिया पुरा गरेर धेरै जनाबाट छानिएर आएका खारिएका हुनु भएकाले शिक्षा सुधार हुने अपेक्षा गरिएको बताउनुभयो ।

जुनसुकै कुनामा गएर पढाएको भएपनि कक्षा कोठामा गएर लापरबाही गर्न नहुने र त्यस विद्यालयका सधैं यही शिक्षकले पढाईदिए विद्यार्थीको भविश्य सुध्रिन्थ्यो भन्ने सन्देश दिन आवश्यक रहेको बताउनुभयो । प्रोख्रेलले भन्नुभयो, ‘यो शिक्षक उत्कृष्ट हुनुहुन्छ उहाँ हाम्रो विद्यालयमा आउनुपर्छ भन्ने माग आउने खालको बन्नु आवश्यक छ ।’ नेपाल शिक्षक सङ्घ तनहुँका सचिव नरेन्द्रनाथ न्यौपानेले एउटा इन्जिनियर गलत बन्यो भने एउटा भवन बिग्रिने तर शिक्षक गलत परेमा समाज र देश नै विग्रिने हुँदा गंभिर हुन जरुरी रहेको बताउनुभयो । सबैभन्दा सम्मानजन र राम्रो पेशामा प्रवेश गरेकोमा बधाई दिँदै पेशागत हक अधिकार र सुरक्षाको लागि सधैं साथ दिने बताउनुभयो ।

पालिकामा विद्यालय छान्न पाईने र त्यसको लागि अपाङ्गता भएको क र ख वर्गका शिक्षक, महिला र त्यसपछि मर्यादा क्रमको आधारमा छनोट गरिने एकाईका प्रमुख कट्टेलले जानकारी दिनुभयो । यसैबीच शुक्लागण्डकी नगरपालिकामा सिफारिस हुनु भएका पदस्थापन गरि सम्बन्धित विद्यालयमा खटाईएको छ । सोमबार खटाईएको नगरपालिकाले जनाएको छ ।

Show More

Related Articles

Back to top button