हेडलाईनसमाचारAll

तनहुँमा डेङ्गुबाट दुई हजार सङ्क्रमित, चार जनाको मृत्यु नियन्त्रण तथा रोकथामको लागि प्रशासनद्धारा पहल कदमी

दमौली खबर संवाददाता

तनहुँ, असोज १०

तनहुँ डेङ्गुको प्रकोप उच्च जोखिममा परेको छ । मङ्गलबार सम्ममा डेङ्गुबाट चार जनाको मृत्यु भईसकेको छ भने झण्डै दुई हजार जना सङ्क्रमित भएका छन् । जिल्ला उच्च जोखिममा परेपछि जिल्ला प्रशासन कार्यालय तनहुँले नियन्त्रण तथा रोकथामको लागि पहल कदमी गरेको छ । प्रशासनले पहकदमी स्वरुप मंगलबार सर्वपक्षिय वैठक गरेको हो । कार्यक्रममा स्वास्थ्य क्लिनिकमा रहेका अहेव, अनमीले गलत औषधी दिँदा रोग फैलिएको बताईएको थियो ।

वैठकमा विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधी, जनप्रतिनिधी, सञ्चारकर्मी, उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीले आफ्नो ठाउँबाट नियन्त्रण तथा रोकथामको लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रम जिल्ला समवन्य समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले तनहुँमा डेंगुको रोकथामको लागि संघ तथा प्रदेश तथा स्थानीय सरकारको ध्यानाकार्षण भएको जानकारी दिनुभयो । दमौली अस्पतालमा जनशक्ति थप गरेर सेवा प्रभावकारी बनाउने काम भईरहेको बताउनुभयो । कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले नगरपालिकाको तर्फबाट चिकित्सक सहितको पाँच जना स्वास्थ्यकर्मी दमौली अस्पतालमा पठाईएको बताउँदै नगरपालिको तर्फबाट सबै प्रकारको सहयोग हुने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जनचेतनाको कार्यक्रमलाई बढाउने, लामखुट्टेको बास स्थानलाई खोज र नष्ट गर्ने अभियानलाई तिब्रता दिने, उपचारलाई थप सुदृढीकरण गर्ने जस्ता निर्णय गरिएको जानकारी दिनुभयो । कार्यक्रममा शुक्लागण्डकी नगरपालिका मेयर कृष्णराज पण्डित, विभिन्न पार्टीका जिल्ला नेताहरु, उद्योगी व्यवसायी, वडाध्यक्ष लगायतले सुझाव र सल्लाह दिँदै आफ्नो तर्फबाट मद्धत गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

सङ्क्रमित बढेपछि सरकारी तथा निजी अस्पताल तथा स्वास्थ्य सस्थाहरुमा बिरामीको भीड लागेको छ । सदमुकाम दमौली सहितका अस्पतालमा डेङ्गुका बिरामीको चाप बढेको छ । जिल्लामा हालसम्म एक हजार ८९४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनभयो । डेङ्गु भएमा एक्कासी ज्वरो आउने, टाउको, मांसपेशी तथा जोर्नी दुख्ने, थकान महसुस हुने, वाकवाकी लाग्ने वा बान्ता हुने, आफ्नो दैनिकी, खानपान वा अन्य काम कुरामा रुची नलाग्ने लगायतका लक्ष्यण देखिन सक्छ । यस्ता लक्षण देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न स्वाथ्यकर्मीहरूले सुझाएका छन् ।

डेङ्गुको सङ्क्रमणबाट व्यास नगरपालिकामा मात्रै यसवर्ष चार जनाको मृत्यु भएको छ । व्यास नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख प्रमोद सोतीले गत असार १६ गते व्यास –१० का ३५ वर्षीय युवा, यही असोज २ गते व्यास–११ का १५ वर्षीय युवा र यही असोज ८ गते व्यास –२ का ४ वर्षिय बालक र १३ वर्षीया बालिकाको डेङ्गुको सङ्क्रमणबाट मृत्यु भएको जानकारी दिनुभयो । हाल सदमुकाम दमौलीमा डेङ्गुको सङ्क्रमण बढ्दो अवस्थामा रहेको बताउनुभयो । व्यास नगरपालिकामा मात्रै मङ्गलबार सम्ममा एक हजार ६८९ जनामा सङ्क्रमण भएको सोतीले जानकारी दिनुभयो ।

दमौली अस्पतालमा दैनिक बिरामीको सङ्या बढेपछि दमौली अस्पतालमा जनशक्ति कम भएपछि नगरपालिकाले एक मेडिकल अफिसर, एक जना स्वास्थ्य सहायक दुई जना ल्याब टेक्नोलोजिष्ट, एक जना सिनियर अहेब परिचालन गरिएको उहाँले जानकारी दिनभयो । एक्कासी तीनदेखि पाँच दिनसम्म ज्वरो आउनु यो रोगको मुख्य लक्षण हो । यसरी आएको ज्वरो पाँचदेखि सात दिनसम्म रहिरहन सक्दछ । यसका साथै बेस्सरी टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबर आउनु, अरुचि हुनु, जोर्नी तथा मांशपेशी बेस्सरी दुख्नु, पेट तथा आन्द्रामा गडबडी हुनु पनि डेङ्गुको लक्षण हुन् ।

क्षमता भन्दा चार गुणा बढी बिरामी उपचारको लागि भर्ना हुन आएकोले स्थान अभावले गर्दा फिर्ता पठाउनु पर्ने अवस्था आएको दमौली अस्तालले जनाएको छ । १५ बेड क्षमताको अस्पताललाई ५० बेड क्षमतामा सञ्चालन गरिरहँदा पनि भर्ना हुने धेरै आएकोले बाध्य भएर फिर्ता गर्नु पर्ने अवस्था आएको दमौली अस्पताल विकास समितिका अध्यक्ष देवेन्द्र थापाले बताउनुभयो । अध्यक्ष थापाले भन्नुभयो, स्वास्थ्य चौकी बराबराबरको दरबन्दी र बेड भएकोले बिरामी थेग्न सकिएको छैन, स्तरोउन्तीको लागि पटक पटक माग राखिएको भएपनि सुनुवाई नहुँदा समस्या परेको छ’’ ।

शुक्लागण्डकी नगरपालिकाको बेलचौतारा स्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा विरामी चार गुणा बढी आउने गरेको केन्द्रका निर्देशक डा. रामकुमार श्रेष्ठले बताउनुभयो । हाल दैनिक आठ सय विरामी उपचारको लागि आउने गरेको उहाँले बताउनुभयो ।

Show More

Related Articles

Back to top button