हेडलाईनसमाचारAll

डेंगु नियन्त्रण गर्न व्यास नगरपालिकाद्धारा टोल टोलमा सचेतना कार्यक्रम सञ्चालन

दमौली खबर संवाददाता

दमौली, असोज ८

डेंगुको रोकथाम तथा नियन्त्रण गर्न तनहँुको व्यास नगरपालिकाले टोलटोलमा सचेतना कार्यक्रम सञ्चालन गरेको छ । पहिलो चरणमा महानगरमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई डेंगु रोग नियन्त्रण र रोकथामका विषयमा अभिमुखीकरण सञ्चालन गरिएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो । नगर प्रमुख न्यौपानेका अनुसार दोस्रो चरणमा जनप्रतिनिधि, नागरिक समाजका अगुवासहित सबै क्षेत्रका व्यक्तिसँग डेंगुको नियन्त्रण र रोकथामका विषयमा सचेतना कार्यक्रम तथा छलफल गरिएको छ । बोर्ड बैठकबाटै डेंगु परिक्षणको लागि आवश्यक किट खरिद गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो । सचेतना कार्यक्रम गर्नु अघि लामखुट्टेको बास स्थान नास गर्ने काम समेत नगरपालिकाले सञ्चालन गरेको थियो । नियन्त्रण तथा रोकथामका लागि औषधि छर्कनेदेखि स्वास्थ्य सम्बन्धी विभिन्न सचेतना मूलक कार्यक्रम सञ्चालन गरिरहेको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिनुभयो ।

डेंगुको प्रकोप दिन प्रतिदिन बढ्न थालेपछि नगरपालिको सचेतना कार्यक्रम सञ्चालन गरेको हो । सचेतनाको क्रममा वडा वडामा स्वास्थ्यकर्मीहरूका लागि डेंगु रोग सम्बन्धी निगरानी, सम्भावित महामारीको तयारी, रोकथाम तथा नियन्त्रण, खोज र नष्ट गर्ने तरिकाका विषयमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गदै आएको जनस्वास्थ्य निरिक्षक लक्ष्मी गुरुङले बताउनुभयो । नगरपालिका मेडिकल अधिकृत डा.नविना न्यौपाने लगायतले डेंगुको लक्षण, बच्ने उपाय, उपचार विधि, नियन्त्रणको तरिकालगायतका विषयमा स्वास्थ्यकर्मी, जनप्रतिनिधि,टोल विकास समितिका प्रतिनिधिलाई जानकारी दिनु भएको थियो । े टायर, जार, नाली लगायतमा डेंगुको संक्रमण सार्ने लामखुट्टे बढी मात्रामा बस्ने भएकाले सफाइमा ध्यान दिनुपर्नेमा डा. न्यौपानेले बताउनुभयो । घर वरिपरि फोहोर पानी जम्न नदिने, सुत्दा झुल टाँगेर मात्रै सुत्ने, शरीर ढाक्ने लुगा लगाउने लगायतका विधि अपनाएमा डेंगुको सङ्क्रमणबाट बच्न सकिने उहाँको भनाइ थियो । डेंगुको संक्रमण हरेक दिन बढ्दै गएपछि नगरपालिकाले नियन्त्रण र रोकथामका लागि पूर्व तयारी गर्दै पानी जमेका ठाउँहरूमा डेंगुका लार्भाहरू नष्ट गर्ने तथा प्रत्येक वडाहरूमा लामखुट्टे मार्ने औषधि छर्कँदै आएको छ । त्यसैगरी नगरपालिकाले पर्चा पम्पलेट माइकिङ गर्दै सरसफाईमा ध्यान दिन र राती सुत्दा झुलको प्रयोग गर्न जनचेतना मूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

 

Show More

Related Articles

Back to top button