साहित्यAll

काली तिमी नक्कली

काली तिमी नक्कली

हिरा भट्ट

———————–

तिम्रै लोचन जादुमा भुलिदिएँ हे मर्त्यकी अप्सरा

हेर्छ्यौ लज्जित शावकी नजरले के छन् लुकेका कुरा

कैयौं कीटपतङ्ग होमिन पुगे सामीप्य तिम्रो जली

गोरी छ्यौ तर प्यारले भनिदिएँ काली तिमी नक्कली

।१।

बेग्लै वस्त्र धुजाधुजा पहिरियौ चोली लुकायौ कता

केही प्रश्न सुटुक्क सोँध्छु दिलका आऊ न काली यता

गै रोटेपिङ खेल्न खोज्छ दिलले ती केश साथै झुली

गोरी छ्यौ तर प्यारले भनिदिएँ काली तिमी नक्कली

।२।

पूर्णेमा पनि चन्द्र लज्जित हुने सौन्दर्य तिम्रो ढुकी

झल्को दिन्छ मुहारले कुसुमको हौ मालती वा बुकी

जिब्रो टोक्दछ मन्त्रमुग्ध भमरा त्यो फूल भित्रै भुली

गोरी छ्यौ तर प्यारले भनिदिएँ काली तिमी नक्कली

।३।

यात्रा पश्चिमको गर्‍यौ भनिसुनेँ साँचो कुरा हो कि त?

वा त्यो पश्चिमको व्यथा उडिउडी सामीप्य आयो कि त

भाषा भेष विदेशकै किन लियौ?यो प्रश्न हो सक्कली

गोरी छ्यौ तर प्यारले भनिदिएँ काली तिमी नक्कली

।४।

“दाजै के छ?” भनेँ भरे त बहिनी सातो उडेको थियो

“काकी के छ?” भनेँ रहेछ भतिजो धन्नै कुटेको थियो

साटासाट गर्‍यौ कि सापट दियौ तिम्रो बुलाकी फुली

गोरी छ्यौ तर प्यारले भनिदिएँ काली तिमी नक्कली

।५।

निम्तो दिन्छु म आज यो हृदयले चोली सँगै ल्याउनू

मैदानीतिर साँझको झिसमिसे दोभानमा आउनू

बाटो त्यो पलको खनेर म बसेँ यी नेत्रमा झल्झली

गोरी छ्यौ तर प्यारले भनिदिएँ काली तिमी नक्कली

।६।

 

Show More

Related Articles

Back to top button