Uncategorizedपत्रपत्रिकाबाट

मौरी पालनबाट बार्षिक ७ लाख आम्दानी गर्दै मिश्र 

सानेबहादुर नेपाली
तनहुँ,१४ जेठ
तनहुँको व्यासनगरपालिका–१गल्बुबेसी निवासी ५४ बर्षीय रामनाथ मिश्रले व्यवसायिक रुपमा मौरी पालन गरेर बिदेशमा जाने युवा पुस्तहरुका लागि प्रेरणाको स्रोत बन्नुभएको छ । सीप र जाँगर भए स्वदेशै बसेर पनि बिदेश सरह पैसा कमाउन सकिन्छ भन्ने गतिलो सन्देश कृषक मिश्रले दिनुभएको छ ।  गाउँघरमै बसेर पशुपालन,तरकारी खेती,माछा पालन,मौरी पालन लगायतका कार्य गरेर घर परिवारको साथमा बसेर राम्रै पैसा कमाउन सकिने उहाँ बताउनुहुन्छ ।

शुरुमा बनबाट खोजेर ल्याएको दुई÷तीन वटा मुढे घारबाट शुरु गर्नुभएका मिश्रले अहिले व्यवसायिक रुपमै लाग्नु भएको छ ।
बिसं ०७४÷०७५ मा श्रीकृष्ण मौरी फार्म दर्ता गरी आधुनिक मौरी घार राखेर व्यवसायिक रुपमा मौरी पालन कार्य थाल्नुभएको हो ।
कृषक मिश्रले सेराना जातका करिब ६० वटा मौरीका घार राखेर बार्षिक न्युनतम छ / ७ लाख रुपैयाँ सजिलै कमाउन सकिने उहाँले बताउनुभयो ।  मैले बिसं ०७१ साल देखि व्यवसायिक रुपमा मौरी पालन कार्य थालेको हुँ । उहाँले भन्नुभयो ‘यो पाँच बर्षको अवधिमा तीन बर्ष लगानी र व्यवस्थापन गर्दैमा मुनाफा लिन नसके पनि दुई बर्षको अवधिमा राम्रै आम्दानी गर्न सफल भएको छु ।’ मौरी पालनबाट धेरै शिक्षा पाएँ । उहाँले भन्नुभयो ‘ शुरुमा सत्र वटा सम्म मौरी घार राख्दा पनि मौरी बसेनन्, तर पनि कत्ति बिचल्ली भइन,निरन्तर लागिरहे ।’  मौरी पालन गर्ने मेरो सानै उमेर देखिको रहर हो । उहाँले भन्नुभयो ‘धेरै असफलबाट शिक्षा लिदै आज सफल बन्न सकेकोमा गर्व लागेको छ ।’
एक रोपनी क्षेत्रफल जग्गामा तारबार गरी करिब छ लाख रुपैयाँ खर्च गरेर व्यवस्थित रुपमा मौरी पालन गरिएको छ ।

मौरी पाल्नु भन्दा अघि ट्याक्टर,बस र ईटा उद्योग समेत संञ्चालन गर्दै आएपनि अहिले ती सबै पेशा व्यवसाय छाडेर मौरी पालनमा रमाउन थालेको कृषक मिश्रले बताउनुभयो ।  मौरी पालन संम्बन्धि थोरै समयको तालिम लिएको भएपनि व्यक्तिगत प्राक्टिकलले आफुलाई अझ बढि जिम्मेवार सक्षम बनाएको उहाँको दाबी छ ।  बिशेष गरी भदौ देखि मंसिर महिना सम्म मौरीले मह उत्पादन गर्ने र फागुन देखि जेठ महिना सम्म मौरीले बच्चा उत्पादन गर्ने समय भएकोले मौरी पालन आसपास क्षेत्रमा मौरीले मन पराउने किसिमका फलफूलहरु लगाउन आवश्यक पर्ने उहाँले बताउनुभयो ।  कमिला, माकुरा, मैनपुतली, खबाटे, गाइने, अंरिगल, बिच्छी, साङ्लो लगायतका कीराहरु मौरीका मुख्य शत्रु भएकोले यी किराबाट सजग रहनुपर्ने उहाँले बताउनुभयो ।

मैन पुतलीले मौरी घारमा लार्भा बनाएर बस्यो भने मौरी भाग्ने सम्भावना बढि हुने हुँदा यस्ता किराबाट बचाउन सचेत हुनुपर्छ । उहाँले भन्नुभयो ।
धेरै बर्षात भएमा मौरीका लागि समय कष्टकर बन्न सक्छ । उहाँले भन्नुभयो ‘फलफूलको रस पानीले बगाइ दिने हुँदा मौरीका लागि पर्याप्त मात्रामा आहार पुग्न सक्दैन्,त्यसका लागि समय समयमा चिनीको चास्नी बनाएर दिनुपर्छ ।’
घारको मौरी छुट्टयाउन जाँदा रु.एक हजार लिने गरेको छु । उहाँले भन्नुभयो ‘एक मौरीको घारबाट तीन÷चार घारसम्म छुट्याउन सकिन्छ,कसैले पारिश्रमिक बापत पैसा नदिएर मौरी नै दिने गर्छन् ।’ मह प्रतिकिलो रु.एक हजार दुई सयमा बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । मह बिक्रीको लागि बोकेर अन्यत्र लैजानु पर्दैन् उहाँले भन्नुभयो ‘घरमै मह लिन मानिसहरु आउने गर्छन् माग अनुरुप पु¥याउन समेत सकिएको छैन् ।’
घार सहितको मौरी प्रति घार रु.आठ हजारमा बिक्री गर्ने गरेको र कसैले घार ल्याए मौरीको मात्रै रु.पाँच हजारमा बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । कृषक मिश्रका तीन छोरी र एक छोरा रहेका छन् । एक छोरी शिक्षक र अन्य ओभरसियर र इन्जिनियरमा स्थायी कर्मचारी बन्न सफल भएका छन् ।  स्थानीय सरकार तथा प्रदेश सरकारले तालिम तथा औजर प्रदान गरे मौरीबाट बिष तथा कुट उत्पादन गर्ने अन्तिम लक्ष्य रहेको उहाँले बताउनुभयो । मौरीबाट बिष उत्पादन गर्न सके प्रतिकिलो रु.तीस लाख सम्म बिक्री गर्न सकिने उहाँले जानकारी दिनुभयो ।

नोट ः फोटो मौरीको रेखदेख गर्दै मौरी पालन कृषक रामनाथ मिश्र ।

Show More

Related Articles

Back to top button