Allजीवनशैलीविचारसमाचार

दुःखको कारण र सुखको उपाय बीचको अन्योल र वास्तविकता

दीपकराज जोशी

हामी कलियुगमा छौं । यहाँ दुःखबाहेक अरू केही छैन । जसलाई सुख भन्नुहुन्छ, त्यो क्षणिक मात्र छ ।

आधिः जो मानसिक कष्ट या चिन्ताबाट दुःखबाट हुन्छ । मसँग पैसा छैन, घर छैन, जागिर छैन, प्रमोसन भएन, सम्मान पाइएन, रूप राम्रो छैन, सिक्स प्याक छैन, विवाहका लागि सुन्दर, धनी राम्रो घरानाको वरबधू भेटेको छैन । जिरो फिगर छैन । सम्पूर्ण अभावहरू यसमा पर्छन् । जो तपाईंसँग छैन तर प्राप्त गर्ने चाहनाले दुःखी हुनुहुन्छ । 



व्याधिः जो शारीरिक पीडासँग सम्बन्धित छ, शरीर बिमार छ, कमजोर छ रोग लागेको छ । थाइराइड, ब्लड प्रेसर, सुगर वा कुनै न कुनै रोगले हामी ग्रसित छौं । 

उपाधिः जो बाहिरबाट देखिने सबै छ तर खुसी भने छैन । छोरो छ तर नालायक छ, पैसा छ तर बैंकलाई किस्ता बुझाउनुपर्छ, गाडी छ तर त्यसभन्दा राम्रो किन्ने इच्छा छ । जागिर छ तर भन्सार, एयरपोर्टमा पोस्टिङ भएन या विदेश भ्रमण जान पाइएन । राम्रो स्कूलमा छोराछोरीलाई भर्ना गराउन सकिएन, सारी त छ तर करिना कपुरले लगाएको जस्तो छैन । विवाह त भयो तर बेकार गरिएछ भन्ने जस्तो लागेको छ । छोराछोरीको बाजा बजाएर विवाह गर्ने विचार थियो तर मन परेको केटीकेटीसँग भागिदिई । सबै प्रकृतिजन्य वा समाजद्वारा जन्माएका दुःखहरू यसमा पर्छन् । जो तपाईंसँग छ तर भएर पनि तपाईं खुसी हुनुहुन्न । 

यो सबै दुःखको कारण मन हो । मनुष्यको मन अपार इच्छाले भरिएको हुन्छ । मनको संवेदनशीलताले मानिसलाई दुःखी तुल्याउँछ । जबजब हाम्रा इन्द्रियहरूलाई आनन्द आउँछ, तब मन खुसी हुन्छ र जब इन्द्रियहरू दुःखी हुन्छन्, तब मन दुःखी हुन्छ । त्यसैले सबैभन्दा महत्त्वपूर्ण कुरा हामीले हाम्रा इन्द्रियहरूलाई नियन्त्रणमा राख्नुपर्छ । एउटा कुरा नभुल्नुहोला, हाम्रो मन नै दासत्वको कारण हो भने त्यही मन नै मुक्तिको पनि माध्यम हो ।

हामी सबै यिनै दुःखहरूमा जेलिएका छौं । जब आधि, व्याधि र उपाधिबाट टाढा रहनुहुन्छ, तब मात्र तपाईं समाधिमा पुग्न सक्नुहुन्छ । अब लक्ष्य फेरि यही कलियुगमा जन्म लिएर आधि, व्याधि र उपाधिलाई झेल्ने हो कि समाधि हुँदै महासमाधि प्राप्त गर्ने हो, त्यो तपाईंको आहार, विचार र व्यवहारमा भर पर्छ ।

हामीले हाम्रो जीवनयापनका लागि गर्ने सबै प्राकृतिक कार्यहरूलाई क्रमण भनिन्छ । जबसम्म ती कर्महरूलाई स्वाभाविक र प्राकृतिक रूपमा गरिन्छ, जब तिनै कार्यहरू गर्दैगर्दा यदि हामीले अन्य जीवित प्राणीहरूलाई चोट (मन, वचन र कर्मले) पुर्‍याउँछौं भने त्यसलाई अतिक्रमण भनिन्छ । 

यदि तपाईं मोक्ष प्राप्त गर्न चाहनुहुन्छ भने जानेर नजानेर भएका अतिक्रमणको पाप हटाउन तपाईंले प्रतिक्रमण गर्नुपर्ने हुन्छ । आन्तरिक शुद्धिका लागि नराम्रो कर्म पखाल्नुपर्छ । अतिक्रमण भनेको नै कर्मको फल हो । यदि यस जन्ममा तपाईंले कसैलाई दुःख दिनुभएको छ भने अर्को जन्ममा तपाईंलाई अरू कसैले दुःख दिन्छ । तपाईंले अतिक्रमणबाट आएको आफ्नो भागमा भएको दुःख भोग्नुपर्ने हुन्छ । नकारात्मक आचरण भनेको कर्मिक दाग हो । यसबाट छुटकारा पाउनका लागि तपाईंले प्रतिक्रमण (पश्चाताप, दान, पुण्य र क्षमा माग्नु) गर्नुपर्दछ ।

प्रतिक्रमणले अर्को मान्छेले तपाईंलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नेछ । यसले न केबल तपाईंको आफ्नो उद्देश्यलाई सुधार गर्दछ, यसले अर्को व्यक्तिको मनसाय र मनोवृत्तिमा पनि सकारात्मक प्रभाव पार्दछ । मोक्ष प्राप्त नभइञ्जेलसम्म तपाईं क्रमण–अतिक्रमण–प्रतिक्रमणको चक्रमा घुमी नै रहनुहुन्छ । त्यसले सबैभन्दा ठूलो कुरा कर्म रहेछ । कर्म गर्दा विचार पुर्‍याएर गर्नुहोला । कर्मबाट ब्राह्मण बन्ने कोसिस गरौं, धर्मबाट मात्र होइन । 

धर्मशास्त्रअनुसार मानव ४ थरिका हुन्छन्ः महामानव, मानव, दानव र दृष्ट – निकृष्ट मानव । अनि ती मानव जातिमा ३ गुण हुन्छन् । सत्वगुण, रजगुण र तमगुण । इच्छाशक्ति, क्रियाशक्ति र ज्ञानशक्तिलाई नियन्त्रण गर्न सक्यो भने मात्र हामीमा भएका कर्मेन्द्रिय र ज्ञानेन्द्रियलाई नियन्त्रण गर्न सकिन्छ, नत्र भने हामी ज्ञानेन्द्रिय र कर्मेन्द्रियको दास भएर बाँच्नुपर्छ ।

हामीमा भएको काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य, राग, द्वेष, हर्ष, शोक, अहंकार, दृष्टिदोष विकारहरू हुन् । यी सबै कुराहरू मानिसको मनमा हुन्छन् । आहार, निन्द्रा, भय, मैथुन यी ४ कुरा पशपुन्छी र मानिसमा समान हुन्छन् तर धर्म (विवेक) मान्छेमा मात्र हुन्छ । मानव जाति प्राणी जगतको सबैभन्दा चेतनशील, विवेकशील र विकसित प्राणी हो तर जब विवेक हराउँछ, उ दानव वा दृष्ट – निकृष्ट मानव बन्न पुग्छ । त्यसैले धर्म (विवेक) को ख्याल गरौं, नत्र हामी पशु–समान हुनेछौं ।

भनिन्छ, एकपटक झूट बोल्नुभयो भने त्यसपछि तपाईंका सबै सत्यहरू शंकास्पद हुनेछन् । हामीले भित्रबाट रिस, राग, काम, क्रोध, घृणा, छटकपट, भ्रम र लोभ हटाउनुपर्छ । मनमा आउने सबै नकारात्मक झुकावहरूका कारणले गर्दा हामीहरूले सत्यलाई बिस्तारै छोड्दैछौं । एउटा कुरा सदैव मनमा राख्नुहोस् । सत्यबाट प्राप्त हुने खुसी स्थायी हुन्छ र असत्यबाट प्राप्त हुने आनन्द क्षणिक हुन्छ ।

मृत्यु जीवनको एक हिस्सा हो । मरेर लानु केही पनि छैन । धन सम्पत्ति, साथी गुमाउँदैमा चिन्ता लिनुपर्दैन । एकदिन सबैभन्दा महत्त्वपूर्ण चिज हाम्रो जीवन हामी सबैले गुमाउनुपर्नेछ । बाँचुञ्जेल तन, मन, वचनलाई शुद्ध बनाउनुहोस् । मन, वचन, कर्मले कसैलाई पनि दुःख नदिनुहोस् । 

क्लेस (कष्ट र पीडा) का ५ कारणहरू छन् । अज्ञानता वा बुद्धिको अभाव (अविद्या), घमण्ड वा अहंकार (अस्मिता), लगाव (राग), घृणा (द्वेष) र मृत्युको डर र जीवनलाई मर्नबाट डरेर माया गर्ने (अभिनिवेश) । पहिलो २ बौद्धिक दोष हुन् भने अर्का २ वटा भावनात्मक दोष हुन् र अन्तिम सहजै आउने दोष हो । 

कष्ट र पीडाको मुख्य कारण अविद्या हो । हेर्ने र देखिएको चिज बीचको संयोजन बुझ्न नसक्नुको परिणाम नै विफलता हो । यी सबै कष्ट र पीडाका कारणहरू हामीभित्र लुकेका, सुप्त वा अत्यधिक सक्रिय अवस्थामा हुन्छन् । अहिलेको समाजमा हामी धेरैजसो यिनै कष्ट र पीडामा जकडिएका छौं ।

सबै कष्ट र पीडाबाट छुटकारा पाउन हामी पहिला आफूलाई चिन्नुपर्छ । प्रातिभासिक जीव, जाग्रत जीव, पूर्ण सत्य जीवमध्ये हामी को हौं ? त्यो प्रस्ट हुनुपर्छ । हामी सधैं मलाई अरूले कसरी हेर्छन्, म अरूबाट कसरी हेरिन चाहन्छु र मैले आफैंलाई कसरी हेर्छु भन्ने द्विविधामा हुन्छौं ।

प्रकृतिका ३ वटा कडा नियम छन्, जो सत्य छन् । प्रकृतिको पहिलो नियम – यदि खेतमा बिउ छर्नुभएन भने प्रकृतिले खेतमा घाँस उमारिदिन्छ, आफ्नो मन मस्तिस्कमा सकारात्मक विचार राख्नुभएन भने नकारात्मक विचारले आफ्नो स्थान आफैं बनाउँछ ।

प्रकृतिको दोस्रो नियम – जोसँग जे छ, त्यही बाँड्छन् । सुखीले सुख बाँड्छन् ! दुःखीले दुःख बाँड्छन् ! ज्ञानीले ज्ञान बाँड्छन् ! भ्रमितले भ्रम बाँड्छन् ! भयभीतले भय बाँड्छन् !

प्रकृतिको तेस्रो नियम – जीवनमा जे मिल्छ, त्यसलाई पचाउन (स्वीकार गर्न) सिक्नुहोस् । यदि स्वीकार गर्न सक्नुभएन भने खाना नपचे, रोग बढ्छ ! पैसा नपचे, देखावट बढ्छ ! कुरा नपचे, कुरा काट्ने बढ्छ ! प्रशंसा नपचे, अहंकार बढ्छ ! निन्दा नपचे, दुश्मनी बढ्छ ! रहस्य नपचे, खतरा बढ्छ ! दुःख नपचे, निराशा बढ्छ ! सुख नपचे, पाप बढ्छ !

जीवन धारणा र वास्तविकता बीचको अन्तहीन यात्रा हो । एक निराशावादी र आशावादी एउटै दुनियाँमा बस्छन् । निराशावादीले समस्या र कठिनाइहरू देख्दछन् र एक आशावादीले अवसर देख्दछन् । अपूर्ण संसार एउटा गुरु पनि उही दुनियाँमा बस्नुहुन्छ, उहाँले पूर्णता देख्नुहुन्छ । राम्रो र नराम्रो, खुसी र पीडा, सबै यहाँ छ । तपाईंले यसलाई कसरी लिनुहुन्छ, त्यो तपाईंमा निर्भर गर्छ ।

हामी केही पनि होइनौं, हामी त केवल कोषहरू, अणुहरूको थुप्रो मात्र हौं । संसार केवल हाम्रो विचार र हाम्रो विचारलाई जीवन दिने कस्मिक इनर्जीसँग अवस्थित छ । पुरानो जानुपर्छ नयाँ आउनका लागि, मृत्यु र जन्म एउटा चक्र हो, जो अनन्तसम्म चलिरहने छ ।

भौतिकवाद केबल भ्रम हो । समाजमा झाँगिदै गएको स्वार्थ, भोगविलास, लालसा, तृष्णा, लोभ जस्ता पक्षले जीवनको बहावलाई नै चुनौती दिइरहेका बेला जीवात्मा, आत्मा, अन्तरात्मा, जितात्मा हुँदै परमात्मामा पुग्ने बाटो नै सही बाटो हो ।

एउटा कुरामा तपाईं निर्धक्क हुनुहोस् कि विगत कहिल्यै फर्केर आउँदैन र भविष्य केवल वर्तमानका रूपमा आउँदछ । वर्तमानमा हामीसँग उपलब्ध भएका साधन र स्रोतहरूको सही उपयोग गरेर हामी एक उज्ज्वल भविष्यको सिर्जना गर्न सक्छौं ।

वर्तमानले विगतको गर्भबाट जन्म लिएको हो भने आउने भविष्य वर्तमानको गर्भमा छ । सधैं भविष्यबारे चिन्तित भएर होइन, बरु वर्तमानमा हामीसँग भएका सम्भावना जगाएर जीवनको लक्ष्य प्राप्त गर्न सकिन्छ । हामी सबै भविष्यका लागि चिन्तित छौं र भविष्य बनाउन सक्षम पनि छौं तर विगत र भविष्यबारे चिन्ता गरेर हामी केही प्राप्त गर्न सक्दैनौं । यस्तो चिन्तनले हामीमा भएको हाम्रो आन्तरिक शक्ति जसलाई वर्तमानमा प्रयोग गर्न सकिन्छ, त्यसको क्षय मात्र हुन्छ ।
 
हामी हाम्रो चरित्र नबदली समाजको चरित्र बदल्न सक्दैनौं । समाजको चरित्र लाखौं व्यक्तिहरूद्वारा दिन–प्रतिदिन गरेका असंख्य स–साना कार्यहरूको परिणामले देखाउँछ । थोरै परिवर्तनहरू जुन समाजमा नदेखिन सक्छन् तर सम्पूर्ण समाजका सदस्यहरू आफूलाई  परिवर्तन गर्नेतर्फ जाने हो भने सामाजिक रूपान्तरणात्मक महत्त्व बढी हुन्छ ।

दीपकराज जोशी
दीपकराज जोशी

लेखकबाट थप…

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button