समाचार

जन्मदिनमा मात्र भानुको जन्मथलोमा चलहपहल

सविन लामिछाने
‘भर् जन्म घाँस तिर मन् दिइ धन् कमायो ।
नाम् क्यै रहोस् पछि भनेर कुवा खनायो ।।
घाँसी दरिद्रि घरको तर, बुद्धि कस्तो ।
मो भानुभक्त धनी भइकन आज यस्तो ।।

भानुभक्त आचार्यको ‘घाँसी’ शीर्षकको कविताको यो अंशले चर्चासँगै धेरै प्रश्न पनि जन्मायो । उनको सम्मानमा उनी जन्मेको नगरपालिकाको नाम नै ‘भानु’ राखिएको छ । नेपाली साहित्यका धरोहर आदिकवि भानुभक्त आचार्यका ‘घाँसी’ कविताका यीनै हरफ बाचन गरेर आज देशभर उनको २०८ औं जन्म जयन्ती मनाइदैछ । नेपालीको मन मुटु छुने आदिकवि भानुभक्त आचार्य बि.सं. १८७१ साल असार २९ गते तनहुँको भानु नगरपालिका स्थित चुँदीरम्घामा पण्डित श्रीकृष्ण आचार्यका नाति एवं पिता धनञ्जय आचार्य र माता धर्मावती देवीको सुपुत्रका रुपमा जन्म भएको थियो । जन्मे पश्चात देवीभक्त नाम राखिएपनि तिनै बालक देवीभक्तबाट रामको भक्त अनि नेपाली भाषाको भक्त हुँदै नेपाली साहित्यफाँटमा आदिकवि भानुभक्त बनेर उदाएका थिए ।

यिनै भानुभक्तको योग्दानलाई कदर गर्दै उनको जन्मस्थल चुदीरम्घालाई साहित्यिक तीर्थस्थल बनाउने भनेर योजना बनाइए पनि अझै देखिने रुपमा केही काम नभएकोप्रति चुँदी रम्घाका बासिन्दा असन्तुष्ट छन् । अहिले चुँदीरम्घालाई हेर्ने हो भने भानुको जन्मस्थल अस्तव्यस्त असार २९ गते बाहेक प्रायः सुनसान अवस्थामा रहने गरेको छ । गत वर्ष जस्तै यस वर्षको भानु जयन्तीमा कोरोनाले प्रभाव पारेको छ । भानुभक्तको यही योगदान र कृतिलाई कदर गर्दै नेपालमा वि.स. २००९ सालदेखि भानुजयन्ती मनाउन थालिएको बुढापाकाहरुको भनाई छ ।

उनलाई नेपालमा आदिकवि, राष्ट्रिय विभूति, जातीय कवि लगायतका नामले चिनिन्छ । हरेक बर्ष असार २९ गते उनको सम्झनामा भानुजयन्ती मनाएर औपचारिकता निभाउने काम त गरिदै आएइएको छ । संरक्षण कुदैँ भानुको गाउँ भानुभक्त जन्मेको गाउँ जहाँ बसेर उनले काव्य रचना गरेका थिए, त्यो स्थान अहिले पनि संरक्षणको पर्खाइमा छ । नेपाल सरकारले भानु जन्मस्थलको विकास गर्न भनि २०५२ सालमा भानु जन्मस्थल विकास समिति गठन गरेको थियो । समिति गठनसंगै मुलुकको केन्द्रीय राजनीतिक नेतृत्व परिवर्तनसँगै समितिमा हुने राजनीतिक नियुक्ति र हेरफेरले त्यहाँको विकास निर्माणमा समस्या उत्पन्न हुने गरेको आर्चायका परिवार रिदम आर्चाय बताउँछन् ।


परिवार मात्र होईन स्थानियहरुको पनि एउटै भनाई छ । ‘ नजिकको तिर्थ हेला’ चुँदी रम्घा बासिले भानुभक्तमाथि राजनीतिक नगरी उनले नेपाली भाषा र साहित्यमा पु¥याएको योग्दानलाई ओझेलमा पार्नुनहुने धेरेको बुझाई छ । अहिले जन्मस्थल विकास समिति समितिविहिन छ । साहित्यिक पर्यटकीय विकासको सम्भावना भानुभक्तको जन्मस्थललाई साहित्यिक पर्यटकीय स्थलको रुपमा विकास गर्ने हो भने विकास समितिलाई राजनीतिक हस्तक्षेपबाट टाँढा राख्नुपर्ने, एउटा पार्टीले गरेको निर्णय र कामलाई अर्को पार्टीले पनि निरन्तरता दिई मेलमिलापको आधारमा अगाडि बढ्नुपर्ने विकास समितिका पूर्व अध्यक्ष श्रीभक्त आचार्य बताउँछन् ।

उनले भने, ‘निर्माण कार्य अगाडी बढाउन खोज्दा कोरोनाको महामारीले रोकिदियो, अब विस्तारै हामी संरक्षणमा लाग्दै छौं ।’ त्यस्तै, राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मघर जलेको झण्डै २० वर्ष पुगिसक्दा पनि अझै पुनःनिमार्ण हुन सकेको छैन । यसले गर्दा भानुको जन्म घर हेर्ने उत्कष्ट चाहाना राखेर तनहुँको चुँदीरम्घामा पुगेका साहित्यप्रेमीहरुको मनै भारी हुने गरेको छ ।

पुनःनिर्माणमै बेवास्ता वि.सं. २०५५ सालमा आदिकवि भानुभक्त नामक नेपाली चलचित्र बनाउने क्रममा भानु जन्मस्थल विकास समितिले पुनःनिमार्ण गरेको थियो । पुनःनिमार्ण गरेको घर २०६० वैशाख १० गतेबाट जङ्गलको पश्चिम पट्टीको भागमा लागेको आगो तीन दिनसम्म जंगलमा पैmलिदा आगोले जलेर पूर्ण रुपले ध्वस्त बनेको थियो । १ लाख २६ हजार ९ सय ९५ रुपैयाँमा बनाईएको घरलाई शिखर कटेरी भन्ने गरिएको छ । हाल भानुको घर नजिक बस्ती नभएकाले जंगलले घेरिएको छ । समितिका अनुसार जंगलले घेरिएकाले जोगाउन मुस्किल पर्ने हुँदा घर पुनःनिर्माण गर्न नसकिएको हो ।

खरको छानो हुँदा आगोको बढी खतरा हुने हुँदा सिमेन्टको घर बनाई भानुभक्तकालिन शैलीमा रङ रोगन गरी घर बनाउने योजना रहेको बताईएको छ । घर जोगाउन कठिन भएपछि घरकै परिसरमा रामायण भवन बनाईएको छ र भानुजन्मस्थल क्षेत्रको विकास तथा भानु सम्बन्धि ऐतिहासिक संरचनाको संरक्षण गर्नका लागि पश्चिमाञ्चल विकास मञ्चले भानुको घर बनाउन सक्रियता जनाएको थियो ।
भानुको जन्मघर, रामायण घर, संग्राहलय निर्माणदेखि सहज यातायात पहुँच पु¥याउने लगायतका कार्य गर्न मञ्चले करिब १० करोड रुपैयाँको गुरुयोजना निर्माण गरी अगाडि बढाउने भनेको थियो । तर अहिले अहिले सम्म शुन्य प्रगति नभएको पूर्व कार्यकारी निर्देशक रानाभाटले बताए । उनले भने, ‘ गुरुयोजनाको लागि शिलायान्स त गरे । तर अहिले सम्म केही पनि काम गरेका छैन ।

विभिन्न समस्याहरु देखाउदै पन्छिएका छन् ।’ त्यस्तै, भानुको जन्मस्थल क्षेत्रको विकास गरेर साहित्यिक पर्यटनको केन्द्रका रूपमा विकास गर्ने उद्देश्यका साथ सरकारले २०५२ सालमा संस्कृति पर्यटन तथा नागरिक उड्डयान मन्त्रालय अन्तर्गत रहने गरी भानु जन्मस्थल समिति गठन गरी समितिका लागि बजेट पनि विनियोजन गर्न थाल्यो । तर, विनियोजित बजेट कार्यकारी निर्देशक र कार्यालय सञ्चालन बाहेक अन्य कर्मचारीलाई तलब खुवाउन नपुग्ने बताइन्छ । गएको वर्ष देखि बजेट नै नछुटिएको पूर्व कार्यकारी निर्देशक रानाभाटले बताए । सुरुमा जे जति महत्वका साथ समिति गठन गरिएको थियो राज्य पक्षको पर्याप्त चासो नपुग्दा र समयमै आवश्यक बजेट विनियोजन नहुँदा अहिले समितिले प्रभावकारी काम गर्न नसकेको उनको आरोप छ ।


उनले भने, ‘मुख्य त बजेट अभावले नै संरक्षण गर्न सकिएन, आएको थोरै बजेट कर्मचारी पाल्दैमा सकिन्छ । ’उनले अघि भने, ‘कर्मचारीले एक वर्षको ४५ लाख तलबभत्ता पाएका छैनन्। ’ संरक्षणको लागि स्थानिय तहले पनि केन्द्रको मुख ताक्नुको कारण यस्तो अवस्था आएको उनको भनाई छ । २००८ सालदेखि कार्यालय परिसरमै भानु पुस्तकालय स्थापना गरिएको थियो । भानुले आफ्नो जीवनकालमा प्रयोग गरेका घरायसी वस्तुहरू लगायतका धेरै महत्पूर्ण वस्तुहरू उक्त पुस्तालयमा संग्रालय निर्माण गरि संरक्षण गरिदै आएको छ । तर त्यसलाई एउटा संग्रहालयको रूप दिएर प्रचारप्रसार गर्ने काम हुन सकेको छैन ।

व्यवस्थित रूपमा ती वस्तु संग्रह गरेर राख्न सकिए नेपाली भाषा साहित्यबारे रुचि राख्ने जो कोहीको आकर्षण र चासोको केन्द्र बन्न सक्ने देखिन्छ । त्रिभुवन विश्वविद्यालयका इतिहासविद डा. रामराज सुवेदीको नेतृत्वमा सम्पन्न गरिएको घरको उत्खनन्का क्रममा घडेरीको जगसम्मको अवशेष, मुलढोकाको संघार, थाम अड्काउने इलम, ढुङ्गाको छपनीले पुरिएको अगेनाको खरानी, चाँदीको बाला, थुर्पी लगायतको सामग्री फेला पारिएको र ति सबै चुँदीरम्घावेशीमा रहेको पुस्ताकालयको संग्रालयहमा राखिएको छ ।


उक्त पुस्तकालयमा भानुद्वारा लेखिएका हस्तलिखित पाण्डुलिपी तथा रचना गरी करिब ५ हजार वटा पुस्तक संग्रह गरी राखिएको छ । तर, बढ्दो आधुनिकिकरणसंगै युवा पीढि पुस्तकालयमा आउन छाडेको पुस्तकालय व्यवस्थापक बताउँछन् । यस भानु जन्मस्थल चुँदीरम्घालाई साहित्यिक पर्यटकीय स्थलको रुपमा विकास गर्न स्थानीय बासिन्दाले माग गरिरहेका छन् । यस तर्फ सरकारले विशेष चासो दिने हो भने भानुको जन्मस्थललाई साहित्यिक पर्यटकीय केन्द्र बनाउने कुरा असम्भव भने छैन ।

त्यस्तै, भानुलाई प्रेरणा दिने घाँसीको नाममा पृथ्वी राजमार्गसंगै स्थापित घाँसीकुवा, भानु जन्मस्थलमा सञ्चालन गरिएको संस्कृत विद्यापीठ पनि संरक्षणको पर्खाइमा बसेका छन् । भानु जन्मस्थल चुँदीरम्घालाई सरकारले खास चासो नदिने, समितिले केही गर्न नसक्ने अनि अन्य क्षेत्रबाट काम हुने चर्चा चले पनि काम नहुने लगायतका विविध कारणले राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मस्थल ओझेलमा परेको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button