पत्रपत्रिकाबाटफिचरविचारहेडलाईन
Trending

बेबी सावरको भुँडीमा डा. अरुणाको चिन्ता कि चिन्तन ?

पिपला ढुङ्गाना

१४ असार २०७८ को कान्तिपुर दैनिकमा डा. अरुणा उप्रेती र नम्रता शर्माको ‘दही चिउरा कि बेबी सावर?’ शिर्षकको संयुक्त लेख प्रकाशित भएको थियो, जसलाई धेरै मान्छेले जस्तै मैले पनि पढेँ । लेख पढ्दै गर्दा कताकता मनमा चित्त नबुझे जस्तो लागिरह्यो । डा. अरुणा उप्रेतीप्रति मेरो सदैव सम्मान छ र रहिरहनेछ । तर, पनि कतिपय कुराहरु यस्ता हुन्छन् कि जसको लागि मानव मस्तिष्कमा सकारात्मक बहस हुनुपर्छ भन्ने कुराले हिर्काउने गर्छ । म उहाँको लेखसँग सहमत हुन नसकेको त्यहि पाठक हुँ, जसले मलाई यो प्रतिक्रियात्मक लेख लेख्न उत्प्रेरित गरेको छ ।

समय परिवर्तनशील छ । चाहे हामीले मानौँ या नमानौँ । समयको रफ्तारमा नचल्ने हो भने हाम्रो अस्तित्व पनि डाइनोसरको जस्तै हुन्छ । तर, पनि कुन कुरालाई कसरी लिने ? कसरी अपनाउने भन्ने कुराको भने ज्ञान हुनु भने जरुरी छ । यदि त्यसो भएन भने हामी डाइनोसर नबन्ने नाममा त्यो भन्दा पनि बिकराल किसिमले लोप भएर जानेछौँ । परिवर्तित समयमा चाहेर या नचाहेर धेरै कुराहरु परिवर्तन हुन्छन् । कति कुराहरु हामीले रहरले लिन्छौँ भने कति कुराहरु समयक्रमसँगै अभ्यास हुँदै जाँदा आफैँ आउँछन् । त्यसै मध्येको एउटा चलन ‘बेबी सावर’ पनि हो ।

जुन कुरा हामीले अचेल दही चिउराको परम्परासँग जोडेर- रिप्लेस गरेर अवलम्बन गर्दै आएका छौँ । सुरुसुरुमा आफ्नी गर्भवती छोरीलाई भेट्ने बहानामा शुभसाइत गरेर माइती पक्षले दही चिउरा खुवाउने र शिशुको जन्म भन्दा केही समय अगाडी नवजात शिशुको स्वागत स्वरुप गर्भावस्थाको उक्त समयलाई उत्सव जसरी मनाउने प्रचलन थियो र अहिले पनि छ । तर शहरी क्षेत्रमा बिगत केही बर्ष यता दही चिउराको प्रचलनले बेबी सावरको रूप धारण गरेको छ, मिसिएको छ । पुरानो समयमा आम रूपमा छोरीहरु नौ डाँडा पारी हुन्थे । उकाली ओराली गर्दै घर माइती गर्नुपर्ने हुन्थ्यो ।

गर्भावस्थामा उकाली ओराली र टाढाको यात्रा गर्न सम्भव हुने कुरै भएन, जसले गर्दा लामो समयसम्म भेटघाट गर्न नपाएका आफ्ना छोरी चेलीलाई भेट्न जाने बहानामा दही चिउराको परम्परा बस्न गएको हो ।

परिवर्तन

बिस्तारै समय परिवर्तन हुँदै गयो । दुर्गम ठाउँहरु सुगम बन्दै गए । तर, पनि चेली माइतिको एउटा सम्बन्धलाई स्थापित गर्न दही चिउराको परम्परा आज पनि कायम नै छ । जसले गर्दा गर्भाधान गर्नु पनि एउटा उत्सव हो भनेर मनाउने बहना भएको छ, जुन कुरा पक्कै पनि नराम्रो होइन ।

बेबी सावर एउटा निकै पुरानो प्रचलन हो, जो मिश्र र ग्रिक सभ्यताबाट आएको मानिन्छ । जसको उद्देश्य भनेको यो धर्तीमा आउँदै गरेको नवजात शिशुलाई स्वागत गर्नु हो । समयक्रम सँगसँगै बिस्तारै यसलाई मनाउने तौर तरिकाहरु फरक हुँदै गए । जुन स्वभाविक पनि हो । आज हामीलाई उदार लाग्ने पश्चिमेली समाज पनि समयको कुनै कालखण्डमा हामी जस्तै खुम्चिएको समाज थियो । त्यसबेला बेबी सावरको नाममा हुने कार्यक्रमहरू आमाको खुसी भन्दा पनि जन्मँदै गरेको शिशुको आगमनको उत्सवको रूपमा मनाइन्थ्यो ।

सुत्केरी हुनुपहिले पहिला कुनै पनि महिलालाई अतिरिक्त आराम गर्न दिनुपर्छ भन्ने चेत थिएन । बेबी सावरमा पनि बन्दै गरेकी आमाको लागि उपहार दिनुपर्छ भन्ने चलन पनि थिएन । सुत्केरी भएपश्चात पनि हामीले सुत्केरीबारे जस्तै उनीहरुले पनि सुत्केरी बार्नु पर्थ्यो । बिस्तारै मान्छेमा चेतनाको स्तर बढ्दै गयो । जसले गर्दा समयसापेक्ष परिवर्तनहरु पनि हुँदै गए । बिस्तारै गर्भवती महिलालाई दिइने अतिरिक्त आराम, साबिक भन्दा धेरै पोष्टिक आहार,आमाको खुशीले नै गर्भमा रहेको बच्चाको स्वास्थ्य निर्धारण गर्छ भन्ने कुरा मान्छेले सिक्दै गए । जसले गर्दा बेबी सावरमा उपहारहरु दिने चलन चल्यो । हामीकहाँ हुने दहीचिउरा कार्यक्रममा जस्तै पश्चिमेली समाजमा पनि माइतीबाट हजुरआमा आमा लगायतका आफन्तले आफ्ना चेलीबेटीहरुलाई मिठा परिकार खुवाउने, बच्चा जन्मेपश्चात् चाहिने सामग्रीहरू उपहार स्वरुप दिने गर्न थालियो । जुन कुरा उक्त समयमा हुने आर्थिक भार पनि कम गर्न सहयोगी साबित भयो । त्यही सकारात्मक पक्षलाई मध्यनजर गर्दै पश्चिमेली समाजमा बेबी सावरले प्रथा र परम्परागत रुपमा आफूलाई कायम राख्यो ।

विरोधाभास

जुन समयमा डा. उप्रेती र शर्माले भनेझैँ बच्चाको लिंग पहिचान गरेर मात्र बेबी सावर भन्ने कुरा पनि थिएन । लिङ्ग पहिचानको आधारमा बेबी सावर हुने कुरा बिस्तारै पछि मात्रै आएको हो । र, अहिले पनि लिंग पहिचान बिना नै बेबी सावर गर्ने पश्चिमेलीहरु थुप्रै छन् । बरु मैले हामी कहाँ भएका बेबी सावरहरुमा लिंग पहिचान भएको देखेकि छु । भलै हामीकहाँ कानुनीरुपमा लिंग पहिचान गर्नु अपराध मानिन्छ । हामी संविधान र कानुनको कतिको पालना गर्छौं भन्ने कुरा प्रत्येक वर्ष हुने लिङ्ग पहिचान पश्चातको भ्रुणणहत्या लाई लिएर हेर्न सकिन्छ । त्यसैले होला नेपालीमा यस्तै–यस्तै आसयको एउटा उखान छ ‘अर्काको आङको जुम्रा देख्ने आफ्नो आङ्को भैसी नदेख्ने ।’ लेखमा बेबी सावरको केकलाई पनि निकै ठुलो पहाड बनाइएको देखियो। जब कि उक्त समयमा सबैको भागमा पर्ने केक भनेको एक गाँस बराबर मात्रै हो ।

मलाई जहाँसम्म लाग्छ, अहिलेको पुस्ता गर्भावस्थालाई लिएर सचेत छ । र, उनिहरुलाई यो पनि थाहा छ कि आफु र आफ्नो बच्चाको लागि कुन कुरा सहि हो र कुन कुरा सहि होइन । यदि थाहा भएन भने पनि उनीहरु डाक्टरसँग परामर्श लिन्छन् । त्यति नभए इन्टरनेटमा खोज्नेछन् । त्यसैले यहाँ केक महात्म्य लेख्नु जरुरी छैन । जसरी हामी पूजा सकिएपछि पञ्चामृत र अपुङ्गो खान्छौँ, त्यसरी किन नलिने केक खाने प्रचलनलाई पनि‌ ?

यो खरिढुंगा र कमेरोले आफ्नो तलतल मेटाएर आफ्नो इच्छा सदैब पैतलामा कुल्चिएर समाजमा छोराको आमा बन्ने होडबाजीमा बसेका हजुरआमाको जमाना होइन । पोषण तथा आहार विशेषज्ञ आनन्दीता भट्टाचार्यका अनुसार ‘सन्तुलित आहारसँग सानो एक टुक्रा केक खानुले गर्भवती महिला र गर्भको बच्चालाई असर पुर्याउँदैन ।’

मनगढन्ते धारणा

जसरी नेपाली नायिकाहरुले बेबी सावर गरेर ति तस्बिरहरु सामाजिक सञ्जालमा पोष्ट्याउँदा त्यसको असर शहरका महिलामा समेत पर्ने र जुन कुरा राम्रो नभएको जस्तो मनगणन्ते कुरा लेखमा गरिएको छ, त्यो बिल्कुलै तर्कसंगत कुरा होइन । किनकी नायिकाहरुलाई कतिपयले आफ्नो आइकनसमेत मान्छन् । साथसाथै सामान्य नागरिकको जस्तै उनीहरुको पनि आफ्नो जिन्दगी हुन्छ । जसलाई उनीहरुले सामाजिक सद्भाव कायम राखेर बाँच्न पाउँछन् । हामी उनीहरुको कामको अनुसरण गर्छौँ भन्नेमा २ मत छैन । तर, उनीहरुले खुलेर बेबी सावरको तस्बिर पोस्ट्याउँदा मान्छेहरुमा गर्भावस्था र गर्भलाई पचाउने बानीको बिकास पनि छिटो हुन्छ, जुन कुरा हाम्रो जस्तो खुम्चिन पनि नचाहने र खुल्न पनि नसक्ने समाजका लागि अत्यन्तै जरुरी छ ।

केहि समय अगाडी नायिका प्रियंका कार्कीले सामाजिक सञ्जालमा ‘हामीहरु गर्भवती छौँ’ अर्थात् (वी आर् प्रेगनेन्ट) भन्दै गर्भावस्थाका केही तस्वीरहरु पोष्ट गरेकी थिइन् । उनले पोष्ट गरेको तस्बिरलाई लिएर पनि मान्छेले थुप्रै किसिमका नकारात्मक टिकाटिप्पणी गरे । थोरै बाहेकका टिप्पणीहरु सकारात्मक थिएनन् । त्यसो किन भयो भन्नेतिर नजाऔँ । किनकी, त्यो हुने कुराको हेक्का हामी प्रत्येकको दिमागमा छ र त्यो परिवर्तन हुन निक्कै समय लाग्छ ।

भत्किँदै गलत धारणा

गर्भवती हुँदा एक्लै गर्भवती भएको छु मात्रै लेखिदिएको हेर्न चाहने समाजले भाले जातिको उपस्थिति बिना मान्छेलाई नागरिक हुने अधिकारसम्म पनि किन दिँदैन भन्ने प्रश्नको उत्तर मैले आजसम्म भेटेको छैन । म जात, धर्म, लिङ्ग, वर्णमा होइन मान्छेको ब्यबहारमा विश्वास राख्छु । त्यसो हुँदा हुँदै पनि हाम्रो समाजिक संरचनाले महिलालाई जुन दर्जामा राखेको छ, त्योसँग पटक्कै सहमत हुन सक्दिनँ । त्यहि कुरा कुनै पुरुषमाथि भयो भने पनि मेरो आवाज यहि नै हुन्छ । किनकी, नायिका प्रियंका कार्कीले ‘हामी गर्भवती छौँ’ लेख्दै गर्दा सो कुराको बखेडा झिक्ने समाज आयुष्मान देशराजको पक्षमा थियो भन्ने पनि होइन । किनभने, यदि आयुष्मान देशराजले प्रियंका कार्कीको ठाउँमा ‘वी आर् प्रेगनेन्ट’ अर्थात् हामी गर्भवती छौँ लेखेका थिए भने पनि हाम्रो समाजले उनलाई लाचार र जोइटिङ्ग्रेको बिल्ला भिराउने थियो ।

बेबी सावरको प्रचलन राम्रो हो या होइन भन्दा पनि यससँग गर्भवती महिलाको खुशीको पाटो जोडिएको छ कि छैन भन्ने कुरा महत्वपूर्ण हो । बेबी सावर गर्नैपर्छ या गर्नै हुँदैन भनेर कुनै कानुन पारित भएका त छैनन् नि ! यो त प्रथा र परम्परा बनेर हुर्किएको मानवीय व्यवहार हो । यी मान्छेका नितान्त व्यक्तिगत कुरा हुन् । आफ्नो प्रत्येक क्षणलाई उत्सव जसरी मनाउने अधिकार जो कसैमा हुन्छ, त्यसमा ठीक बेठीकको वकालत गर्ने हामी को हौँ?

अन्य संस्कार पनि फेरिएका छन्

यदि हामीले समयको परिवर्तनलाई स्विकार्दै आएका छैनौँ भने हामीले गर्ने विवाह व्रतबन्धका रङहरु फेरिएका छन् कि छैनन् ? हामी साच्चै परिवर्तन चाहन्छौँ भने किन वर्षौँदेखि ऋणमा चुर्लुम्म डुबेरै भए पनि एउटा पुरुषले विवाहमा बेहुलीका लागि गरगहनाको जोहो गर्नैपर्छ ? किन दाइजोका नाउँमा कैयौँ चेलीहरुलाई जिउँदै जलाइन्छ ? यी र यस्ता परम्पराहरू हाम्रो संस्कृति भित्र थिए र ? त्यहाँ नेर भएको व्यापारिकरणलाई चाँहि हामीले वेवास्ता गर्न मिल्छ र ?

हामीकहाँ सबैभन्दा धेरै चलेको विवाहको पूर्वसन्ध्यामा मेहेन्दी लगाउने परम्परा के त्यो हाम्रो आफ्नो संस्कृति हो ? बुकि घस्ने अर्थात् हल्दी लगाउने परम्परा मानब स्वास्थ्यसँग जोडिएको कुरा हो । तर, कालान्तरमा यसले केवल सुन्दरताको मात्र वकालत गर्दै आएको छ । र, पनि हामी प्रश्न बिना नै अपनाइरहेका छौँ यी परम्परा भने बेबी सावरले हामीलाई बिझाउनु पर्ने कुरा के छ ? दहि चिउराको नाउँ बेबी सावर बनेको मात्रै हो, होला केहि परिवर्तन जरुर भएका छन् । त्यसमा अन्यथा मान्नुपर्ने कुरा के छ ? यहाँ परिवर्तन कहाँ र के मा भएको छैन ?

पन्चेबाजा ब्याण्डबाजा भएको छ, विवाहमा आँगन पोलेरै मात्र छोरी अन्माउने परम्परा पार्टी प्यालेसमा सरेको छ, मदिरालाई शुद्ध नमान्ने हाम्रो संस्कृति बिस्तारै फेरिएका छन् । अष्टचिरञ्जीवीको पूजाबाट सुरु भएर आरतीसँगै सकिने हाम्रा जन्मोत्सवहरु मैनबत्ती निभाएर केक काटेर मनाउने प्रचलनमा परिणत हुँदा त कसैलाई समस्या छैन त । यस्ता थुप्रै कुराहरू छन्, जो हिजोका चाल र ढर्राबाट बाहिर निस्किएका छन्भ ने दहि चिउरा बेबी सावर किन बन्नु नहुने ?

मैले शर्मा र उप्रेतीको लेख पढिरहँदा लेखको शुरुवातमा नै उहाँले यो आशय व्यक्त गर्नुभएको छ कि आजकलका आधुनिक बुहारीहरुको रहरले गर्दा बृद्द बुवाआमाले असहज परिस्थितिसँग सामना गर्नुपरेको छ । जबसम्म हामीले गर्भावस्थालाई लाजको विषयका रुपमा लिन्छौँ, ढाकेर वा छोपेर राख्नुपर्छ भनेर लिन्छौँ, तबसम्म हामीलाई बेबी सावर पचाउन गार्हो हुन्छ । नभए यो विषयलाई लिएर रोइलो गरिराख्नुको आवश्यकता छ जस्तो लाग्दैन । लेख पढ्दै गर्दा डा. अरुणा उप्रेतीहरूजस्ता पात्र पनि खुम्चिनु पर्ने कस्तो बेबी सावर भएछ र त्यहाँ भनेर मलाई घोत्लिन बाध्य बनायो ।

तथाकथित मर्यादा

कसैको मर्यादामा आँच नआउने गरी मन्छेले आफ्नो रहरका जुनसुकै क्षणलाई मनाउँदा फरक पर्दैन । फेरि टिप्पणी यसरी पनि आउँछ, त्यसरी बुहारीले भुँडी बोकेको ठुलो पेट ससुराको अगाडि देखाउँदा मान मर्यादामा आँच आउँदैन त ? किनकी, हामी प्रत्येक कुरामा नकारात्मक टिकाटिप्पणी गर्न खप्पिस छौँ । ससुरा पनि ससुरा हुनुपूर्व एक बुवा हुन्छन् । उनी कोहि अर्को ग्रहबाट आएका एलिएन कहाँ हुन् र ! जसले समयको परिवर्तनलाई आत्मसात् गर्न नसकुन् । सासु पनि पहिले आमा हुन् अनि मात्र सासु बनेकी हुन् । मलाई त लाग्छ, धेरै सासुहरुलाई आफु अघिल्लो पुस्तामा जन्मिएकोमा दुख लाग्छ होला । किनकी, धेरै सासुहरुको कथामा उनीहरुको मान्छेवाला स्थान भेट्टाउँदिन म । फेरि मैले देखेका कुनै पनि बेबी सावरहरु त्यस्तो उच्छृंखल पनि छैनन् कि जसलाई हाम्रो अघिल्लो पुस्ताले हेर्नै नसक्ने गरि संकोच मान्नु परोस् ।

प्राविधिक ज्ञान र सामग्रीको प्रयोग गर्ने आजको पुस्ताले थपेको फोटोसेसनले दहि चिउरा बेबी सावर बन्छ भने त्यसमा राम्रो हो र नराम्रो हो भन्ने कुराको बहस गर्ने हामी को हौँ ? तपाइँलाई फोटो खिच्न मन पर्दैन र मलाई प्रत्येक कुराहरुलाई कैद गर्ने रहर हुन्छ भने मेरो आफ्नो रहरको पाटोमा औँला ठड्याउने अधिकार तपाइँलाई रहदैन र तपाइँको चुपचाप बस्ने बानीलाई किन भनेर प्रश्न गर्ने अधिकार मसँग पनि रहँदैन । यथास्थितिवादी बन्न पनि नसक्ने र परिवर्तन स्वीकार गर्न पनि नसक्ने कस्तो अक्करे भीर जस्तो युगको प्रतिनिधित्व गर्दैछौँ हामी ?

लेखले हुनेखाने वर्गले बेबी सावर गर्दै गर्दा हुँदा खाने वर्गलाई गाह्रो हुन्छ भन्ने कुरालाई पनि इङ्गित गरेको पाइन्छ । मलाई अचम्म लागेको एउटा कुरा, यहाँ महिला स्वतन्त्रता र महिलाको खुसीको पाटो आउने बित्तिकै मान्छेलाई वर्गको याद किन आउँछ ? यस्तो लाग्छ कि समाज बेबी सावर भन्दा पहिले एउटै बर्गको कृयाकलापहरुमा सिमित थियो । महिनौँ अगाडिबाट तीजको दर खाने कार्यक्रम गर्ने, दरका नाममा जाँड रक्सी खाएर होहल्ला गर्ने परम्परालाई भत्काउँदै लैजादा त हाम्रो दिमागमा वर्गिय पर्खाल भत्किन्छ कि कसो हो ? मलाई भनिदिनुस्, यहाँ वर्ग कहाँ छैन ?

मितव्ययी बनाऊँ

म मान्दछु, समाजको वर्गीय पर्खाल हटाउनुपर्छ । हाम्रा संस्कारहरूलाई मानवीय बनाउनुपर्छ र फजुल खर्च गर्नू राम्रो पनि होइन । तर, महिलाको भूँडीको फोटो खिचेर गर्भमा गर्व गरिने विषय त यो समाजका लागि त एक खालको विद्रोही चलन हो आजका दिनमा । यसो हुँदा दहीचिउरे कार्यक्रमलाई मितव्यवी बनाउँ भन्न सकियो । प्लास्टिकका झाम्टाझाम्टी नझुन्ड्याई, बेलुनहरू प्रयोग नगरी सामान्य तरिकाले बेबी सावर मनाउँ भन्न सकियो । तर बेबी सावर गलत भन्ने आधारचाहिँ कहिँबाट पनि पुष्टी हुन्न ।

आजका दिनमा विश्वव्यापीकरणमा विश्वास राख्ने जो कोहिले पनि आफ्ना सस्कार र संस्कृतिलाई नबिर्सिकन विश्वका जुनसुकै देश, धर्म र संस्कृतिका राम्रा र हितकारी कुराहरुलाई अनुसरण गर्न सक्छ । त्यसमा हाम्रो चलन देखेर विदेशीहरु हाँस्दा हुन् भन्ने मजाक गर्नुको कुनै तुक छैन । केहि बर्ष पहिलासम्म हामी नेपाली सिनेमाभन्दा हिन्दी सिनेमा बढी हेर्थ्यौँ । किनकी, उती राम्रा र सन्देशमूलक चलचित्र हाम्रामा बनिरहेका थिएनन् ।

हाम्रो जस्तो सानो मुलुकमा भारतीय चलचित्र क्षेत्रको जतिको चलचित्र निर्माण हुन समय लाग्यो । आज हिन्दी सिनेमा सँगै नेपाली सिनेमा हेर्नेको भिड छ कि छैन ? हामीले विश्वका राम्रो कुरालाई अनुसरण गर्नुको फाइदा यो हो कि हामी त्यसबाट केहि नयाँ कुरा सिक्न सक्छौँ । चलचित्र त केवल मनोरञ्जनसँग सम्बन्धित बिषय भयो । र, त हामी फरक स्वादका निम्ति संसारका चलचित्र हेर्न पछि पर्दैनौँ भने हामीले आमाको खुशीसँगै बच्चाको स्वास्थ्य जोडिएको पक्ष बेबी सावरलाई अनुसरण गर्नु कसरी गलत हुन सक्छ ? योसँग त आमाको मनोबैज्ञानिक र भावनात्मक सम्बन्ध जोडिएको हुन्छ ।

आमा हुनुको गर्व

हामीले पूर्विय संस्कृति नै पल्टाउने हो भने पनि जन्मदेखि मृत्युसम्मका बिभिन्न संस्कारहरुको बारेमा जानकारी प्राप्त गर्न सक्छौँ । तिनै कुराहरु बिस्तारै परिमार्जित भएर आएका मात्र हुन् । फेरि उहि संस्कार र संस्कृतिमा रहिरहने हो भने त हामीले डाएनिङ टेबल छाडेर सुकुलको प्रयोग शुरु गर्नुपर्यो । अहिले त समयले यति फड्को मारेको छ कि हाम्रा बच्चाहरुलाई अक्षर सिकाउन पनि हामीले कागज र कलमको प्रयोग गर्नु पर्दैन । त्यो छाडेर फेरि खरी र कालोपाटी दिनुपर्यो ।

होइन भने आमाको खुशीसँग बच्चाको स्वास्थ्य जोडिएको कुरालाई मतलब नगरेर बेबी सावर प्रचलनको उपहास गर्नु जरुरी छैन । तपाइँ यो त पक्कै बुझ्नुहुन्छ होला कि आमा बन्ने विषय एउटा ठूलो संयोग र गर्वको विषय हो । नेपालीमा एउटा उखान छ, ‘बाँचे सुत्केरी मरे काल ।’ हो त्यहि मनोबैज्ञानिक तवरले विक्षिप्त बनेकी एउटी महिलालाई अलिकति भए पनि हौसला जगाइराख्न सकियोस् र पीर र ब्यथाहरुलाई केहि हदसम्म भुलाउन सहयोग पुगोस् भन्नका खातिर गरिने प्रक्रिया हो बेबी सावर । सम्पुर्ण कुराहरु विरोधकै लागि बिरोध गरिनु भन्दा पनि समयसँगै बदलिँदै जाने ब्यबहारका सहि र राम्रा पाटोलाई सकारात्मक तवरले आत्मसात गर्दै जानुपर्छ ।

लेखिका पीपला ढुङ्गाना समाजसेवी , टुर गाइड हुनु हुन्छ। समसामयिक लेख बाहेक वहाँले कविता पनि लेख्नु हुन्छ। वहाँलाई info@pipala.com.np मा सम्पर्क गर्न सकिन्छ।

Show More

Related Articles

8 Comments

  1. सुन्दर विश्लेषण। मजा लाग्यो तपाईंको लेख पढ्दा।

  2. Sundar lekh. Afno sanskrti namasi aruko Pani sanskriti follow garda khehi pharka pardain. Ahileko jamana ma afu lai sankuchit banaune hoin.

  3. सुन्दर लेख। सबै कुरा मिलाएर लेख्नु भएको मा धन्यबाद।

  4. माननीय सोच र लेख। अरु संस्कार लाइ गाली गर्नु भन्दा सबै संस्कार लाइ अपनाउन पर्छ। राम्रो संस्कार जसको भएपनि हामीलाई संस्कारी बनाउँछ।

  5. निकै राम्रो लेख। आमा काे। स्वास्थ र बच्चाको स्वास्थको लागि जुनसुकै कुरा गरें पनि हुन्छ। धर्म र संस्कार काे नाम मा आफुलाइ खुम्च्याउन हुंदैन।

    1. https://healthpati.com/detail/37520210708081542.html
      केही हप्ता अघि मैले लेखेको ‘बेबी सावर’ चलनले गर्भवती महिलालाई फाइदा गर्दैन’ बारेमा मलाई धेरै पृष्ठपोषण भयो । फेसबुक र पत्रिकामा धेरैले आफ्नो विचारहरू शेयर गरे, यस्तो रमाइलो पनि लाग्यो । तर लेख लेख्दा केही शब्दहरूको चयनको म बाट गल्ती पनि महसुस भयो । ‘भुँडी देखाएर’ बेबी सावर गरेको भन्ने शब्दमा हाम्रा केही नजिकका साथी, छिमेकी र बन्धुहरूको पनि ‘कडा’ प्रतिक्रिया आयो, कस्तो भुँडी शब्दको प्रयोग गरेको भनेर । मैले पनि पछि अनुभव गरेँ कि शायद गाउँ घरमा सहजै प्रयोग गरिने शब्द चाहिँ यसरी धेरै विद्धान र बिदुषीहरूले पढ्ने लेखमा राख्नु उचित थिएन कि ? शायद त्यसको ठाउँमा हामीले ‘पेट’ भन्ने शब्द प्योग गरेको भए ठिक हुने थियो होला । त्यसको लागि म क्षमा याचना नै गर्छु ।
      यसरी फेसबुकमा आएका प्रतिक्रियाहरू हेर्दा अंग्रेजी भाषामा लेखिएका पृष्ठपोषणमा प्राय मलाई ‘बेबी सावर’ बिरोधी, ‘नयाँ तरिकाले मातृत्वको आनन्द मनाउने विरोधी’ ‘पाखे महिला’ पनि भनिएको छ । यस्ता प्रतिक्रिया प्रति केही भन्नु छैन । लेखमा केही त्रुटीहरू पनि भएको कुरा पनि लेखिएका छन् । ‘बेबी सावर’ भनेको ‘लिंग पहिचान गरेपछि रमाइलो गर्ने र उत्सव मनाउने’ होइन कि गर्भवती महिलाले ८–९ महिना भएपछि उनलाई उपहार दिने, रमाइलो गर्ने चलन रहेछ ।

      यसमा पनि लेखकको चुक भएकै हो, किनभने हाम्रा विदेशी साथीहरूले बिदेशमा जाँदा ‘हामीले हाम्रो भ्रुणमा छोरी रहिछन् भन्ने थाहा पायौं’ र बेबी सावर गर्ने विचारमा छौं, ‘तिमी पनि आउ है’ भनेर भनेका थिए । दुइ तिनवटा ठाउँबाट त्यसरी निमन्त्रणा भएको हुनाले मलाई अनुभव भयो कि शायद ‘लिंग पहिचान’ गरेपछि ‘बेबी’ सावर गरिदो रहेछ । त्यो मेरो तर्फबाट चुक भएकै हो ।

      मैले पहिले ‘बेबी सावर’ भनेको के हो, यसको बारेमा केही अध्ययन गर्नु पर्थ्याे । शायद केही विदेशी साथीहरूलाई सोध्नुपर्थ्याे । “लिंग पहिचान भएपछि गरिने रमाइलो र बेबी सावर एकै हो कि होइन” भनेर ! त्यो चुकको लागि पनि म ‘क्षमा’ चाहन्छु । कुनै संस्कृतीको बारेमा लेख्दा मैले केही बढी अध्ययन गर्नु पर्थ्याे । यसपाली मैले ठूलो पाठ सिकें । तर यती भन्दा भन्दै पनि नेपाली चलन ‘दहि चिउरालाई’ बढावा दिनुपर्छ भन्ने कुरामा म अडिग छु ।

      यो लेख लेख्दा मैले नेपालमा नै बसेका नेपालीहरूले “कुरै नबुझेर विदेशी चलन लिइरहेको” तर विदेशीहको राम्रो चलन र बानीहरूलाई आत्मसात गर्न नचाहेको भन्ने कुरालाई पनि उठान गर्न खोजेको थिएँ । अपशोच त्यो पक्ष कसैले हेर्न नै चाहेनन् ।

      नेपालका नराम्रा प्रचलनहरू जसले नेपाली महिलालाई पुरुषभन्दा तल्लो अबस्थामा राख्छ, महिनावारी हुँदा छाउ घरमा बस्ने चलनहरूको मैले बिरोध गर्थेँ, गर्छु । तर त्यस्ता समस्याको बारेमा लेख्दा मलाई कहिले पनि यति धेरै भनाइ र फेसबुकमा पृष्ठपोषण आएन । ‘बेबी सावर’ को विरोध गरेर नेपाली ‘दहि चिउरा’–जुन हाम्रो संस्कृतीको एक प्रतिक हो) लाई बढावा दिनुपर्छ भनेर लेख्दा धेरैले आफ्नो कुरा राख्दा मलाई के अनुभव गरायाे भने “फेसबुकमा जोडिएका देश र विदेशको युवाहरू धेरै जागरुक भएकारहेछन् ।”

      यसरी लेखिएका धेरै पृष्ठपोषणहरू पढेपछि, तिमध्ये केही हाम्रा पाठकहरूसँग पनि बाँड्नु पर्ने लाग्यो । यो लेख लेख्दा मेरो ध्येय के थियो भने शहरका मध्यम वर्गिय महिला, विभिन्न नायिका, रोलमोडेलहरूले नेपाली संस्कृतीमा भएका समारात्मक पक्षहरू नलिएर गर्भावस्थामा विदेशी ‘बेबी शावर’ को नक्कल गर्दा, गाउँमा महिलाहरू, पनि त्यसैगरी ‘बेबी शावर’ गर्न खोज्दा यसले समस्या ल्याउन सक्छ । नेपालीहरू जो अमेरिका, युरोपपमा बस्छन् वा बाहिरका नागरिक भइसकेका छन्, उनीहरूले ‘बेबी सावर’ गर्ने चलनलाई हामी केही भन्न सक्दैनौं तर नेपाली महिला र नेपालमै बस्ने र त्यो पनि गाउँ घरमा बस्ने महिलाहरू ‘बेबी शावर’ गर्दा आफ्नो संस्कृती बिर्सेर ‘बेबी सावर’ को लागि मालसामान किन्ने त्यसको लागि नयाँ नयाँ गहना, जुत्ता लुगा किन्दा यसले परिवारमा कति आर्थिक भार पर्छ ? कसरी यसले हाम्रा घरका बालबालिकाले आफ्ना जात र धर्म अनुसारको परम्परागत चलन नै बिर्सने हो कि भन्ने पनि लागेको हो । यसबाट जागरुक गराउँन यो लेख लेखियो

  6. धेरै खुसी लाग्यो यो लेख पढेर! धन्यवाद तपाईंका फराकिला विचार र विश्लेषणका लागि!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button