जीवनशैलीफिचरविचारसमाचार

साधारण जीवन, सुन्दर जीवनको पक्षमा


दिपक राज जाेशी

जीवन कसरी जिउने भन्ने कुनै म्यानुअल न हिजो थियो, न आज छ । न त भोलि नै हुनेछ । विकासको गति बढ्दो छ । विकासका साथसाथै राग द्वेष, मोह, लोभ, क्रोध, ईर्ष्या पनि बढिरहेको छ।

मेरो गाउँमा बनेको पुलले अर्को गाउँ त जोडियो तर गाउँमै बस्ने मान्छेको मन भने जोडिएन । सहरीकरणले गाउँदेखि सहरको दूरी घटायो तर एक गाउँदेखि अर्को गाउँको दूरी झनै बढायो ।

सोसियल मिडियामा लाइक, फलो, शेयर त धरै नै भयो तर वास्तविक जीवनमा मन पराउने मान्छे कम हुँदै गए । शेयर गर्नु भनेको केयर गर्नु भन्ने कुरा फेसबुकभन्दा बाहिर आएन । कुनै बेला लाखौं फ्यान र फलोअर्स भएकाहरूको मलामी जाने मान्छे नभेटिएको उदहारण पनि प्रशस्त छन् । सायद त्यसैले भनिन्छ, तपाईँका सबै फलोअर सधैँ तपाईँका फ्यान हुँदैनन ।

नाडीमा ४ लाखको घडी लगाएर त्यही हाथले ४० रुपैयाँको चाउचाउ बोकेर समाज सेवा गर्छु भनेर फोटो पोस्ट गर्नेहरूको पनि भीड धेरै नै छ । ३६४ दिन झगडैमा बिते पनि भ्यालेन्टाइन डेमा ‘म तिमीबिना बाँच्न सक्दिनँ’ भनेर फोटो पोस्ट गर्ने पनि कम छैनन् ।

नाडीमा ४ लाखको घडी लगाएर त्यही हाथले ४० रुपैयाँको चाउचाउ बोकेर समाज सेवा गर्छु भनेर फोटो पोस्ट गर्नेहरूको पनि भीड धरै नै छ । ३६४ दिन झगडैमा बिते पनि भ्यालेन्टाइन डेमा ‘म तिमीबिना बाँच्न सक्दिनँ’ भनेर फोटो पोस्ट गर्ने पनि कम छैनन् । जीवनभरि नै बुबाआमालाई हेला गरेर मातातीर्थ औंसीमा ‘ह्याप्पी मदर्स डे’ र कुसे औंसीमा ‘ह्याप्पी फादर्स डे’ भनेर फोटो अपलोड गर्नेहरू पनि धरै नै छन् ।

सोसियल मिडियाबाट फाइदा पनि छ । तर हाम्रो समाजले फाइदाभन्दा दुरुपयोग नै बढी गर्दै गयो । विचार गर्नुपर्ने बेला आएको छ- कतै सोसल मिडियाले हामीलाई ‘एन्टी सोसल’ त बनाएको छैन ? नभएको पैसाले नचाहिएको सामान किनेर नचिनेको मान्छेलाई आकर्षण गर्ने हाम्रो संस्कार जबसम्म अन्त्य हुँदैन, तबसम्म समाज अगाडि बढ्नेछैन ।

कुनै बेला आफैले उत्पादन गर्ने सामान र तरकारी आज किनेर खाँदा कसको मन कुँडिएको छैन होला । बदाम खेती बन्द भयो तर ‘पिनट बटर’ खाने बानी बस्यो । वर्षातको पानीलाई स्याखु, छत्रीले रोक्न सकेन जब चाइनाबाट छाता आयो । हजुरआमाले भुटेको आफ्नै बारीमा फलेको मकैभन्दा ‘पपकोर्न’ मिठो हुन थाल्यो । माटाको भुड्काको पानीलाई फ्रिजको पानीले विस्थापित गर्‍यो ।

बारीमा फल्ने ताजा फलफूलभन्दा भाटभटेनी बाट आएको एप्पल जुस, अरेन्ज जुस नै मिठो हुन थाल्यो। साउने सङ्क्रान्ति, माघे सङ्क्रान्ति, शिवरात्री र अरू थुप्रै चाडपर्वभन्दा क्रिसमस, भ्यालेन्टाइन, हालोइन प्यारो लाग्न थाल्यो ।

अरूलाई जित्ने होडबाजीमा बिस्तारै हामी आफैंसँग हारिरहेका छौँ। मेरो आफ्नो जीवनका देखाइ र भोगाइ बाट यहाँसम्म आइपुग्दा ममा परिवर्तन भएका कुराहरू तपाईँको सामु राख्दै छु । जीवनलाई जिउने यी सरल तरिकाहरू अपनाउनुभयो भने खुसीको पछाडि तपाईँ दौडन पर्दैन, खुसी तपाईँको पछि दौडेर आउनेछ ।

प्रकृति : हाम्राे साथी

प्रकृतिसँग घनिष्ट सम्बन्ध राख्ने कोसिस गर्नुहोस् । यो नभल्नू कि पृथ्वी हाम्रो विस्तारित शरीरको एक हिस्सा हो त्यसैले पृथ्वीको हेरचाहा गर्नुहोस् । आफ्नै देशमा उत्पादित सामान प्रयोग गर्नुहोस् । चाहिनेभन्दा बढी सामान नकिन्नुहोस् । सामान त्यस्तो किन्नुहोस् जो टिकाउ हुन्छ र मर्मत गर्न सकिन्छ ।

अत्यधिक प्रसंस्कृत खाद्यपदार्थ, मासु, र गुलियोजन्य खानाहरूबाट टाढा रहनुहोस् । प्राकृतिक, स्वस्थ खाना खानुहोस्। सक्नु हुन्छं भने शाकाहारी वा भिगन खाना खानुहोस ।

योग/व्यायम

हरेक दिन योग/व्यायम गर्नुहोस् । स्कुटर वा मोटरसाइकलले काम चल्छ भने गाडी नचलाउनुहोस्, साइकलले काम चल्छ भने स्कुटर वा मोटरसाइकल नचलाउनुहोस् । पैदल, साइकल वा सार्वजनिक यातायातको सहारा लिनुहोस्। तपाईंको सानो प्रयासले वातावरण सफा हुनेछ ।

सकभर होलिस्टिक तरिकाले बाँच्ने कोसिस गर्नुहोस् । छतमा बार्‍है महिना फल्ने कागती र खुर्सानी लगाउनुहोस्, कमसेकम खुर्सानी र कागतीमा त आत्मनिर्भर बन्न कोसिस गरौँ ।

सौन्दर्य

सकभर गरगहना र मेकअपका सामान थोरै किन्नुहोस्। बाहिरी सौन्दर्यलाई भन्दा भित्री सौन्दर्यलाई निखार्ने कोसिस गर्नुहोस् ।वातावरणमैत्री सामान प्रयोग गर्नुहोस् । सकभर पुन: प्रयोग गर्न मिल्ने सामान (रिसायकल) किन्नुहोस्। सबैभन्दा बढी समय आफूलाई, आफ्नो परिवार अनि समाजलाई दिनुहोस् ।

संस्कार

आफ्नो परिवारलाई आफ्नो धर्म, संस्कृति, संस्कार (१६ संस्कार वा आफ्नो धर्म अनुसारको संस्कार) समाज र आफ्ना पुर्खाका बारेमा जानकारी गराउनुहोस् । आफ्नो मातृभाषा (नेवार, गुरुङ, मगर, तामाङ्ग, मैथली, भोजपुरी, आदि) छोराछोरीलाई सिकाउनुहोस् ।

फुर्सदको समयमा व्यक्तिगत सिपहरू (उदाहरणका लागि, काठको काम, प्लम्बरिङ, बिजुली मर्मत, साधारण उपकरण मर्मत, वागवानी र अरू कुनै पनि सिपहरू) को विकास गर्नुहोस्, जसले तपाइँलाई आत्मनिर्भर बनाउन मद्दत पुर्‍याउँछ ।

जीवनशैली

महत्त्वपूर्ण कुरा, हाँस्न नभुल्नु होला । जति धेरै हाँस्नुहुन्छ त्यति नै धेरै बाँच्नु हुन्छ । जीवनलाई फरक ढङ्गले हेर्नुभयो भने जीवन लाई बुझ्ने वातावरण सृजना हुन सक्छ ।

जुन व्यक्तिको आहार, विहार, विचार, व्यवहार, संस्कार सही छ र मन, वचन र कर्मले कसैलाई पनि हानि पुर्‍याएको छैन त्यस व्यक्तिलाई कहिल्यै दुःख हुँदैन। आफ्नो जीवनशैलीमा थोरै परिवर्तन गर्नुभयो भने भए तपाईं, तपाईंको परिवार, तपाईंको समाज र वातावरणलाई ठुलो सहयोग पुग्नेछ र जीवन सुखी र सफल हुनेछ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button