बन्दीपुरसमाचार

बाख्रा पकेट क्षेत्रका रुपमा विकास गरिँदै

राष्ट्रिय समाचार समिति
तनहुँको बन्दीपुर गाउँपालिका १ ले बाख्रा पकेट क्षेत्रको रुपमा विकास गर्न लागिएको छ । गाउँपालिकालाई मासुमा आत्मनिर्भर बनाउने उद्देश्यसहित उक्त वडालाई बाख्रा पकेट क्षेत्रको रुपमा अगाडि बढाइएको हो । यसका लागि वडाले बाख्रापालक कृषकलाई सहयोग गर्दै आइरहेको छ । वडाभित्रका १८० बाख्रापालक कृषकलाई वडा कार्यालयले किम्बुको बिरुवा वितरण गरेको छ । चितवनबाट खरीद गरी ल्याइएका १० हजार घाँसका बिरुवा कृषकलाई वितरण गरिएको वडाध्यक्ष भानुभक्त पोख्रेलले जानकारी दिए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, गाउँपालिका, वडा कार्यालय र कृषकको समेत लागत सहभागितामा बिरुवा वितरण गरिएको उनले बताए ।

गाउँपालिकाले सो वडालाई बाख्रा पकेट विकास कार्यक्रममा छनोट गरेको छ । सोही बमोजिम वडाका ४५ कृषकलाई रु २० हजारका दरले खोर सुधार कार्यक्रमका लागि रकम प्रदान गरिएको छ । ‘बाख्रा पकेट क्षेत्रको रुपमा विकास गर्न बाख्रापालक कृषकलाई प्राविधिक तालीम, घाँसको बिरुवा र खोर सुधारका लागि वडाले सहयोग गर्दै आएको छ,’ पोख्रेलले भने, ‘व्यावसायिक रुपमा बाख्रापालनतर्फ कृषक आकर्षित भइरहेका छन् ।’ उनका अनुसार किम्बुको घाँस बाख्राका लागि पोसिलो हुने र बाख्रा पनि चाँडै बढ्छ । गाउँपालिकाका पशु शाखाका प्राविधिक मधुविलास न्यौपानेले किम्बुको घाँस हुर्काउन सजिलो र बाख्राका लागि उपयुक्त रहेको जानकारी दिनुभयो । गाउँपालिकालाई मासुमा आत्मनिर्भर बनाउने तथा किसानलाई आर्यआर्जनमा जोड्ने उद्देश्यले बाख्रा पकेट कार्यक्रम सञ्चालन गरिएको छ । बाख्रापालक कृषक मदन अधिकारीले वडा कार्यालयले दिएको किम्बु घाँसको बिरुवाले बाख्रापालनका लागि सहयोग पुग्ने बताए । उनले एक सयभन्दा बढी बाख्रापालन गरेका थिए ।

अर्का बाख्रापालक कृषक सविना बानियाँले वडाले उपलब्ध गराएको बिरुवा हुर्काएर धेरैभन्दा धेरै घाँस उत्पादन गर्ने बताए । बाख्राको नश्ल सुधार गरी कम्तीमा पाँच वर्षमा वडालाई बोयर तथा स्थानीय खरी जातका बाख्राको स्रोतकेन्द्रको रुपमा विकास गर्ने लक्ष्य लिइएको छ । यस वडामा एक हजारको संख्यामा बाख्रापालन गरिएको छ । बाख्रा पकेट कार्यक्रमका लागि गाउँपालिकाले यस वडाका लागि रु १५ लाख बजेट विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले जानकारी दिए । उनका अनुसार यसकार्यक्रममार्फत् घाँसको बीउ, नश्ल सुधार तथा खोर सुधारका कार्यक्रम सञ्चालन हुनेछन् ।

सोही वडामा कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, नेपाल लाइभस्टक सेन्टर र इनोभेसन आयोजनाको लगानीमा भेटेरीनरी अस्पताल निर्माण सम्पन्न भएको छ । बन्दीपुर गाउँपालिका १ नाहालामा रु ९८ लाख ६१ हजार ४४९ को लागतमा छ कोठाको भवन निर्माण सम्पन्न भएको छ । बन्दीपुर गाउँपालिकाभित्र पशुपालन गर्ने कृषकको संख्या बढ्दै गएकाले पशुको उपचारका लागि भेटेरीनरी अस्पताल अति आवश्यकता थियो । उक्त अस्पतालमा पशु चिकित्सकको दरवन्दीमा कर्मचारी खटिनेछन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button