Allविचारसाहित्य

काठका खुट्टा र ढुङ्गाको मुटु लिएर

विचार
काठका खुट्टा र ढुङ्गाको मुटु लिएर
नवराज न्यौपाने ‘मौन’

‘कुनै पनि प्राविधिकले सर्भे ,लेआउट ,निर्माण र सुपरिवेक्षणको क्रममा आफूलाई काठका खुट्टा र ढुङ्गाको मुटु भएको मान्छे सम्झनुपर्छ ।’ हामीले यस्तो भनाई क्यापस पढाउने गुरुहरु र तालीम दिने प्रशिक्षकहरुबाट बारम्बार सुन्दै आएका थियौं । काठका खुट्टा भएका बस्तुहरु कहिल्यै नबसेजस्तै प्राविधिकहरु पनि आफ्नो कार्यक्षेत्रमा खटिएको बेला कहिल्यै थाक्दैनन् र आराम पनि गर्दैनन् भन्ने अर्थमा यसो भनिएको थियो । त्यस्तै , ढुङ्गाको मुटु भएका भनिनुको अर्थ भीरपहरा, खोलानाला ,जोखिमपूर्ण काम र यात्रा गर्दा कहिल्यै डराउनु हुँदैन र मीठो खाने ,राम्रो लगाउने र मोजमस्ती गर्ने सारा कुरा भुलेर आफ्नो काममा दत्तचित्त भएर लाग्नुपर्छ भन्ने हो । अर्थात् प्राविधिकहरु जोखिमपूर्ण कामदेखि डराउनु हुँदैन भन्ने अर्थमा यसो भनिएको थियो । पहिले समय अर्कै थियो । कम्प्युटर र डिजिटल प्रविधि भित्रिसकेको थिएन ।मानिसले सबै काम कुरा आफ्नै दिमागले गर्नुपर्थ्यो ।
क्याम्पसमा दश बजेदेखिन १ बजेसम्म सैद्धान्तिक कक्षा र १ बजेदेखि छ बजेसम्म प्रयोगात्मक (कार्यशाला,प्रयोगअशाला,फिल्ड ) को कार्य हुन्थ्यो । एसेस्मेन्ट तथा नक्शा बनाउने कार्य रातको समयमा गरिन्थ्यो । शनिबार र बिदाको दिन पनि प्रयोगआत्मक कक्षाहरु चल्ने गर्थ्यो । नक्शा बनाउदा ग्राफ पेपरमा पेन्सिलले कोरेर ट्रेसिङ पेपरमा उतार्नु पर्दथ्यो । डिजाइन ,इष्टिमेटका कामहरु पनि साइन्टिफिक क्यालकुलेटरको भरमा गर्नुपर्दथ्यो । अहिले कम्पुटरको जमाना आएकोले डिजाइन ,इष्टिमेट गर्न र नक्शा बनाउन धेरै सजिलो भएको छ । त्यस्तै , थेडोलाइट ,लेभल मेशिन र क्यामरा आदि सबै डिजिटल हुने भएकोले सर्भे गर्न पनि सहज भएको छ । पहिले पहिले सरकारी कार्यालयका प्राविधिकहरु दिनभरी सर्भेक्षण ,लेआउट ,सुपरिवेक्षण र नापजाँच कार्यमा व्यस्त हुनुपर्थ्यो भने रातको समयमा नक्शा बनाउने तथा डिजाइन ,इष्टिमेट तयार पार्ने काम हुन्थ्यो । सम्भव भएसम्म एउटै प्राविधिकलाई योजनाको शुरुदेखि अन्तसम्म काम गर्ने गरी साइट्-इन्चार्ज तोकिएको हुन्थ्यो । यस अर्थमा योजनाको प्राविधिक ,प्रशासनिक र व्यवस्थापनको जिम्मा लिएर प्राविधिक साइटमा नै बस्नु पर्दथ्यो ।
बिकाससँग सम्वन्धित अन्य कार्यालयले कार्यक्रम अराखेका विकट ठाउँमा दुर्गम क्षेत्र बिकास समितिका कार्यक्रम राखिएको हुन्थ्यो । किनभने गाउँ परिषद र जिल्ला परिषदले नै दूर दराजका भीरपहरमा बाटो र विकट गाउँमा पुल तथा लघुजलविद्युत योजनाको लागि सिफारिस गरी केन्द्रमा पठाउने गर्दथे । अति कठीन र पीडादायी यात्रा र जोखिमपूर्ण काममा खटिनुपर्ने भएकोले दुक्षेविसका प्राविधिकहरु छिटो छिटो नै जागिर छोडेर अन्यत्रै जागिर खाने वा विदेश जाने गर्दथे । यसले गर्दा पटक पटक पदपूर्तिको विज्ञापन निकाल्नुपर्ने बाध्यता आइपरेको थियो । जागिरको बेला अन्तर्वातामा नै अत्यन्त कठीन भिरपहरा , निर्जन र विकट स्थलमा बस्नुपर्ने ,गासबासको असुविधा हुने , हिउँको बाटो हिंड्नुपर्ने र खोलानाला हिंडेर पार गर्नुपर्ने भएकोले त्यस्ता कार्य गर्न सक्ने वा नसक्ने भनी सोधिएको हुन्थ्यो । साथै सर्वेक्षण र डिजाइन कार्य कन्सल्टेन्सीबाट नभै आँफैले गर्नुपर्ने र जुनसुकै योजना पनि ठेक्कापट्टाबाट नगरी उपभोक्ता समितिबाट गराउनुपर्ने नियामाबली भएको जानकारी पनि पहिल्यै गराइएको थियो ।
मनाङ जिल्लामा पहिलो नियुक्ति लिएर जाँदा हामीले पर्यटकको लागि खुल्ला नगरिएका २ गाविस (नार र फू २ गाउँ ) मा जाने बाटो विस्फोटन गरी बनाउने क्रममा अत्यन्त कठीन यात्रा गर्नुपरेको थियो । भिरमा डोरीमा झुन्डिएर हिंड्नुपर्ने ,पहरामा रुखको हाँगोलाई भर्‍याङ भनाएर उक्लिनुपर्ने तथा खोलामा ढलेर तेर्सिएको रुखबाट वारपार गर्नुपर्ने जस्ता कठीन कार्य पनि गर्नुपर्‍यो । विस्फोटक पदार्थ प्रयोग गरी पहरामा बाटो बनाइएको थियो । पहराको डिलमा ढुङ्गा मिलाउने क्रममा झुक्किएर एकजना कामबहादुर गुरुङ नाम गरेका डकर्मी ६०० फीट तल खसे र उनको तत्काल निधन भयो । लमजुङ घर भएका ती श्रमिकका छोरा र् गाउलेहरुले साइट -इन्चार्ज रहेका मेरा साथी गुणबहादुर लामालाई घेरेर क्षतिपूर्ति नदिएसम्म नछोड्ने अड्डी लिएर बसे । त्यो बेला कामदारहरुको बीमा गर्ने चलन थिएन । पछि जिविसबाट कृयाखर्च उपलव्ध गराएपछि बल्ल छोडेका थिए । पछि उक्त योजना सम्पन्न भएपछि उनी जागिर छोडेर विदेश हान्निए ।
विक्रम सम्वत २०२३ सालमा स्थानीय बिकास मन्त्रालयमा दुर्गम क्षेत्र बिकास शाखाको रुपमा काम शुरु गरिएको र २०३७ सालमा दुर्गम क्षेत्र बिकास समिति गठन भै काम गर्दै आएको यस् समितिलाई विदेशी मुलुक र विदेशी संस्थाहरुले आर्थिक एवम् प्राविधिक सहयोग गर्दै आएका थिए । तर नेपालमा जनयुद्ध शुरु भएपछि २०५५ सालपछि सबै विदेशी संस्थाहरुले नेपाल छोडेर गए र फेरि फर्केर आएनन् । समितिमा मैले २०५० सालमा सेवा प्रवेश गरी २०७५ सालमा संस्था विघटन भएपछि स्वेच्छिक अवकास लिएको थिएँ । समितिमा काम गरेर आफ्नी जीवन बिताउने प्राविधिकहरु हातका औंलामा गन्न मिल्ने जति मात्र रहेका छन् । यस्ता जोखिमपूर्ण कामहरुमा २५ वर्ष विताएर स्वेच्छिक अवकाश लिएको मलाई हिमाली भेगका बासिन्दाहरुले अहिलेसम्म विर्सेका छैनन् । म कार्यरत हुँदा साना बालबालिकाहरु भएकाले पनि बिर्सन सकेका रहेनछन् । मैले पनि आफूले काम गरेका योजना र घुमेका ठाउँहरु भुल्न सकेको छैन । यसै क्रममा मैले दुई दर्जन्भन्दा बढी सीधासाधा मानिसहरु भेटेको थिएँ । तिनीहरुले मलाई आफ्नो दु:खद जीवनकहानी सुनाएका थिए र समाचारको रुपमा नलेखी कथा वा उपन्यास बनाएर लेखिदन अनुरोध गरेका थिए । तर मैले न उनीहरुको कथा लेख्न सकें ,न आफ्नै आत्मकथा ( अटोबायोग्राफी ) नै लेख्न सकें । जब घोत्लिएर केही लेख्न थाल्छु, हिमाली भेगका बुढापाकाहरुले भनेको कुरा झल्झली याद आउँछ – ‘सार ! तिम्रा खुट्टा त काठका रहेछन् , कहिल्यै नथाक्ने ! तिम्रो मुटु त ढुङ्गाको रहेछ ,कत्ति नडराउने र केहीले पनि नदुखाउने !’

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button