Allविचारसाहित्य

छार्का ट्रेल’र शान्त ‘साङ्ता गाउँ’

संस्मरण

‘छार्का ट्रेल’र शान्त ‘साङ्ता गाउँ’

नवराज न्यौपाने’मौन’

‘ ए सार उठ । आब जाने हो, ढिलो गायो भने पुग्ना साकिन्न ‘ युङ्ढुङ दाइले झिसमिसेमा नै मलाई उठाएपछि म झल्यास्स ब्युझिएँ । यतिखेरसम्म सबै सामलतुमल तयार भैसकेको रहेछ । हामी उवा(गहुँ)को सातु खाएर १० कोश टाढा रहेको साङ्ता गाउँ (साविक कागवेनी १  ) गाउँ जाने हिमाली  बाटो उकालो लाग्यौं ।

बिस्तारै घामको किरण देखिन थाल्यो । २०५३ साल वैशाख १ गतेको दिन थियो यो । अघिल्लो दिन कागवेनीमा जनशान्ति निमाविका शिक्षाकहरुले नयाँ वर्ष मनाउन खसी ढालेको सम्झें । ‘बाटोमा धेरै हिउँ छ ,तिमी जान सक्दैनौं ,फर्केर गए हुन्छ ‘ भनेर धेरैले भनेको सम्झें । ‘सभापतिज्यू पठाउनु भएको हो, म जसरी भए पनि जानुपर्छ ‘ भनेपछि ईलाका सदस्य छिरिङ्ग धोर्जे गुरुङ्ले मलाई फल्याक गाउँका मान्छेसित गाविस उपाध्यक्षको घरमा पुर्‍याइदिनु भनेर पठाएका थिए । र, उपाध्यक्षले युङ्ढुङ दाइलाई सँगै जाने कुरा मिलाएर उनको घरमा आएको थिएँ म । युङ्ढुङ दाइको पहिलेको घर साङ्ता रहेछ ।

विहानीको हावा निकै चिसो थियो । चिसो सिरेटो चलिरहेको थियो । हावा चल्दा जहाजहरु कागवेनी र फल्याक गाउँमाथि फ्यानका मारेर जोमसोम तिर फर्कन्थे र अवतरण गर्थे । जहाज घुमेको देख्दा मलाई घरको सम्झना आयो । तर दुर्गम क्षेत्र बिकास समितिको जागिरले मलाई एउटा सैनिक जावान र प्रहरी जवानले भोग्नुपर्ने दु:खकष्ट झेल्न सिकाएको थियो । ललितपुर र मनाङ जिल्लामा विकट गाउँबस्ती घुम्दा निकै दु:ख झेल्नु परेकोले मलाई दु:ख सहने बानी पेरिसअकेको थियो ।

भेडीगोठ हुँदै हामी उकालो लाग्यौं । माथि पहरामा नाउरको बथान देखियो ।’हेर सार मेक ‘भनेर युङ्ढुङ दाइले भनेपछि म किन्चित खुशी भएझै हेर्न थालें । एउटा खोल्सभरि हिउँ जमेको रहेछ । युङ्ढुङ दाइले खुकुरी झिकेर खुड्किला बनाए पछि मलाई हिंड्न केही सजिलो भयो । हामी हिंड्ने बाटोमा बाघ (हिमचितुवा ) को पाइला देखियो । ‘केही दिन पहिले यहाँ बाघले खच्चड मारेको थियो सार ‘ उनले भने । मुलबाटो त माथि लेकको बाटो रहेछ ।त्याहा जेठको अन्तिमदेखि भदौको सुरुवातसम्म मात्र हिउँ पग्लिने रहेछ । हामी वैकल्पिक भिर पहराको बाटो जाने भयौं ।

उकालो सकिएपछि डाँडामा एउटा घुम्ती आयो । त्यहाँ फेरि हिउँमा हिंड्नु पर्ने भयो । भोजपत्रको बन रहेछ । युङ्ढुङ दाई अघिअघि खुकुरीले खुड्किला बनाउदै बढ्न थाले । म पछिपछि विस्तारै हिंड्न थालें । भिरमा हिउँ भसिन्थ्यो । कक्रक्क परेको हिउँले पिडुलामा धेरै घाऊ बनायो । म चिप्लिन पुगें । तर भोजपत्रको बोट समातेर फेरि हिंड्न थालें । १५ मिनेट हिंडेपछि हिउँ कटियो तर निकै चिसो अनुभव भयो । ‘अब हिउँ छैन सार ,भिर मात्रा छ । ‘ युङ्ढुङ दाइले भने । ‘अब खाजा खाने सार ।’ यति भनेर युङ्ढुङ दाइले धूपीका पोथ्रा बटुलेर आगो सल्काए । अनि झोलाबाट भाँडा झिकेर चिया पकाए । हामीले सातु र चिया खायौं र हिउँ र पानीले भिजेका कपडा आगोमा सुकायौं । युङ्ढुङ दाइले खुकुरी अब चाहिदैन भनेर बुट्यानमा लुकाए । त्यसपछि हामी खर्कको तेर्सो बाटो हिडिरह्यौं । युङ्ढुङ दाइले भने – ‘मेरो बा भेडा चराआउन जाँदा त्यो पारीको भिरबाट खसेर मर्‍यो । अब गाउँ पुग्ने बेला हामी पनि भिरको बाटो हिंड्नुपर्छा सार ।’ ‘म पनि भिरको बाटो हिंड्न सक्छु ,मेरो त मरे पनि रुने मान्छे छैन ।’ मैले जबाफ दिएँ ।

त्यसपछि एउटा खोलामा झर्नुपर्ने रहेछ । धुपीका बुट्ट्यान समात्दै हामी ठाडो भिरालो झर्यौं र खोलाखोलाई आधा घण्टा हिड्यौं । त्यसपछि कठीन भिर पहराको बाटो हिंड्नुपर्ने रहेछ । पहरामा भेडिगोठ रहेछ । त्यहाँका मान्छेसँग युङ्ढुङ दाइले एकछिन भलाकुसारी गरे । अनि कठीन यात्रा शुरु भयो । चारहात खुट्टा टेकेर भिरपहराको एकफूटे बाटो हिंड्न थाल्यौं । करीब ४५ मिनेट बाँदर झै हिंडेपछि बल्ल उठेर हिंड्न मिल्ने बाटो आयो । ‘अब बाटो राम्रो छ । गाउँ पनि आउन लाग्यो सार ।’ युङ्ढुङ दाई मुस्कुराउदै बोलेपछि म पनि खुशी भएँ । साँझ पर्न लाग्दा हामी साङ्ता गाउँ पुग्यौं ।

अनि हामी वडाअध्यक्ष ढिन्डु आङ्याल गुरुङको घरमा पुग्यौं । ‘ तिमी त बहादुर रहेछ सर । यो बाटो हामी गाउले बाहेक अरु कोही हिंड्न सक्दैन ।’ ढिन्डु आङ्यालले भने । मैले घोकखोला काठेपुलको सर्भे गर्न आएको बताएपछि उनले त्यहाँ एकैदनमा पुगेर फर्किन सकिने बताए । गाउँमा धेरै मान्छे थिएनन् । खेती लगाउने समय भएकोले सबै हिउँद याम र बैशाखसम्म त्यतै बस्दा रहेछन् । अधिकांश मानिसहरु नेपाली नबुझ्ने र बुझ्नेहरु पनि बोल्न भने नजान्ने रहेछन् । सबै भेला भएर बैठक गरे र आआफ्ना समस्या सुनाए ।

२०३६ सालमा मात्र सरकारी पहिचानमा आएको उक्त गाउँमा एउटा प्राथमिक विद्यालय (हिमाली प्रावि ) रहेछ । तर शिक्षक भने जेठ्देखि भदौसम्म मात्र बस्दा रहेछन् । अरु बेला काजमा जोमसोममा पढाउदा रहेछन् । विसं २०३० सालमा मुस्ताङमा तिव्वती शरणार्थी (खम्बा) विद्रोह हुँदा त्यसका नाइके अगुवा ओङ्दी नेपाली सेनाले खोजी गरेपछि घोडाखच्चड र आफ्ना सहयोगीका साथ यही बाटो डोल्पा निस्केर हुम्ला हुँदै दार्चुलाको तिङ्कर भञ्ज्याङ पुगेका रहेछन् । तिङ्करमा पुगेपछि ओङ्दिले ‘नाऊ वी आर सेफ ‘ भनेर आफ्ना सहयोगइलाई भनेका रहेछन् । तर गौंडा कुरेर बसेको नेपाली सेनाले उनको पहिचान भएपछि तिङ्करमा मारिदियो । अनि तिव्वत फिर्ता ल्याउने भनी चलेको विद्रोह मत्थर भयो । अनि मुस्ताङमा रहेका तिब्बती शरणार्थीलाई मुस्ताङको छैरो भन्ने स्थान र पोखरामा क्याम्प बानाएर राखियो ।

डोल्पाका छार्काभोटका मान्छेहरु किनमेल गर्न यही बाटो भएर जोमसोम आउने रहेछन् । अनि साङ्ता ,फल्याक ,पाङ्लिङ र धाकरजोङ गाउँमा आएर खेतालाको रुपमा पनि काम गार्दा रहेछन् ।

भोलिपल्ट सबैरै तीनवटा घोडाको व्यवस्था गरेर हामी घोकखोला जाने भयौं । बाटो कठीन थियो । भिरपहरा र हिउँको बाटो हुँदै हामी १२ बजे घोकखोला पुग्यौं र काठेपुलको सर्भे गरियो । एकातिर पहरा र अर्कोतिर क्यान्टिलेभर बीम राखेर पुल बनाउने सर्भे गरियो । अनि त्यही खाना पकाएर खाइयो । फर्कदा बाटमा हिउँ पलन थालेकोले बाटो चिप्लो भएको थियो ।बिहान साना भएका खोला बढेर ठूला भएका थिए । ठाडो खोलाले ढुङ्गा पनि ल्याउने भएकोले र धेरै चिसो भएकोले घोडामा नै तरियो ।काठी बिनाको चक्लाको भरमा घोडा चढ्दा अली अप्ठ्यारो भएको थियो । मेरो घोडा अन्तिममा थियो । घोडा दौडदै गर्दा चक्ला पनि खस्यो । घोडालाई सानो बुट्यानमा बाधेर म चक्ला लिना गएँ । तर घोडाले त्यो बुट्यान चुंडाएर अघी बढ्यो । घोडालाई के भनेर रोक्ने मलाई थाहा भएन । जतिजति म घोडाको नजिक पुग्थें उतिउति जोडले घोडा दौडन थाल्थ्यो र साँझमा म साङ्ता गाउँ आइपुगें ।

भोलिपल्ट फर्कने तयारी गर्दा युङ्ढुङ दाई गोडा दुखेर हिंड्न नसक्ने भएको थियो । अनि वडा अध्यक्ष ढिन्डु आङ्यालसँग म उही बाटो फर्किएँ । झमक्क साँझ पर्दा हामी फल्याक आइपुग्यौं । त्यसपछि विभिन्न योजनाको काममा सङ्ता त गइयो ,तर त्यो तल्लो बाटो भने हिडिएन । जेठ ,असार र साउन महिनामा माथिल्लो बाटो एक्लै एक्लै हिंडेर जादा थोराङ पास समान उचाइमा देखिन्थ्यो । माथिल्लो मुस्ताङका छ् गाविसहरुका सबै गाउँ घुमे पनि साङ्ताको त्यो पहिलो यात्रा भने जिन्दगीभर नभुल्ने गरी छाप बनेर स्‍मृतिपटलमा रहिरहने छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button